नैतिक चरित्रमाथि प्रश्न उठेपछि पार्टीको कारबाहीमा परेका माओवादी केन्द्रका नेता भरत साह फेरि मधेस प्रदेश सभामा माओवादी संसदीय दलको नेता बन्ने दौडधुपमा लागेका छन्।
साहमाथि नैतिक चरित्र (यौन विचलन) सम्बन्धी आरोप लागेपछि गएको जेठ तेस्रो साता उनले संसदीय दल र माओवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए।
साहले राजीनामा दिएपछि हाल मधेस प्रदेश सभामा माओवादी संसदीय दलको नेता युवराज भट्टराई (समिर) छन्।
समिरलाई दलको नेताबाट हटाएर अहिले साहले आफैँ दलको नेता र मन्त्री बन्न पार्टी नेतृत्वसँग लविङ गरिरहेका माओवादीका एक नेताले जानकारी दिए।
मधेसमा एक साताभित्रै मन्त्रिपरिषद् विस्तार हुँदैछ। मन्त्रीपरिषद् विस्तार हुँदा आफैँ मन्त्री बन्नको लागि साहले अहिले आफूमाथिको कारबाही फुकुवाको लागि पार्टी नेतृत्वमाथि दवाव बढाएका ती नेताले बताए।
साहले पनि पार्टीले निर्णय गरे आफू संसदीय दलको नेता बन्न तयार भएको जानकारी दिए।
‘पहिला पनि संसदीय दलको नेता मै हो। अहिले पनि पार्टीले निर्णय गर्छ भने म फेरि त्यो जिम्मेवारी बहन गर्न तयार छु,’ साहले नेपालखबरसँग भने, ‘मैले कारबाही फिर्ता गरेर संसदीय दलको नेता फेर्न भनेको धेरै भइसक्यो। तर, के हुन्छ थाहा छैन। पार्टीले यता चिठ्ठी पठाए मेरो सम्भावना हुन्छ।’
तर, अहिले आफू गाउँ (महोत्तरीको गौशाला) मै रहेको उनले बताए।
मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले यही कात्तिक २२ गते प्रदेश सभामा विश्वासको मत लिँदै छन्। विश्वासको मत लिएपछि मात्र उनले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
Shares

प्रतिक्रिया