कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको मृत्यु भएको छ।
गएराति २ः५८ बजे काठमाडौँ मेडिकल कलेजमा उनको मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले नेपालखबरलाई जानकारी दिए।
उनी भेन्टिलेटरमा उपचाररत थिए।
दाहसंस्कारका लागि आलमको शव रौतहटको राजपुरतर्फ लगिसकिएको सुरक्ष स्रोतले जानकारी दिएको छ।
मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो।
गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।
त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराइएको थियो।
२०६४ सालमा निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएको आरोप आलमलाई लागेको थियो।
उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
तर उक्त फैसला उच्च अदालतले उल्ट्याउँदै आलमसहित सबै प्रतिवादीलाई सफाइ दिएको थियो।
आलमले जिउँदै मान्छे जलाएको र घटना भएको भन्ने प्रमाणले पुष्टि नभएको उच्च अदालतको दाबी छ।
उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन भइसकेको छ।
सर्वोच्चको फैसला आउन बाँकी छँदै आलमको मृत्यु भएको हो।
Shares

प्रतिक्रिया