कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सहभागी हुनुको विकल्प नरहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेको निर्वाचन अग्रिम र आकस्मिक भएकाले निर्वाचनमा जानुको विकल्प नरहेको उल्लेख गरे।
संविधान जीवित राख्नका लागि पनि निर्वाचनमा सहभागी हुनुपर्ने जरुरी रहेको उनको भनाइ छ। निर्वाचनमय वातावरण बनाउने प्रयोजनका लागि शान्ति सुरक्षाको पहिलो प्रत्याभूति गरिदिनुपर्ने बताए। निर्वाचनको प्रक्रियामा सहजता र निर्वाचन कुनै हालतमा बिथोलिँदैन, असुरक्षाको भावना बोकेर मतदानस्थलमा पुग्नु पर्दैन भन्नेकुरा सरकारले विश्वास दिलाउन सक्नुपर्ने जिकिर गरे।
अहिलेको ऐनमा विदेशमा रहेका नेपाली नागरिकको मताधिकारको व्यवस्था नरहेको भन्दै सरकारले कानुन बनाएर दिए कार्यान्वयन गर्न आयोग तयार रहेको बताए।
त्यस्तै, माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा निर्वाचनको तयारी पनि अघि बढेको उनको भनाइ छ। बैठकमा समिति सदस्यहरूले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आयोगले गरेको तयारीका बारेमा चासो व्यक्त गरेका थिए।
Shares

प्रतिक्रिया