राजनीति


जेलबाट भागेको विषयमा रविसँग आयोगले लियो ६ घण्टा बयान

जेलबाट भागेको विषयमा रविसँग आयोगले लियो ६ घण्टा बयान

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार २०:२४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जेनजी आन्दोलनमा कारागारबाट भागेको विषयमा जाँचबुझ आयोगले बयान लिएको छ।

भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले बुधबार सिंहदरबारमा उनीसँग ६ घण्टा बयान लिएको हो।

बयानका लागि लामिछानेलाई नक्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालय झिकाइएको थियो।

जेनजी आन्दोलनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले नक्खु कारागारबाट लामिछानेलाई निकालेपछि अन्य कारागारबाट समेत कैदीबन्दी फरार भएका थिए। 

अन्य ठाउँबाट भागेका कैदीबन्दीले लामिछानेलाई भगाउने आफूहरुचाहिँ किन जेलमै बस्नु पर्ने भन्दै सुरक्षाकर्मीसँग लफडा गरेका थिए। 

लामिछाने भने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले तयार गरेको पत्रमा कारागारका जेलरलाई हस्ताक्षर गराएर बाहिरिएका थिए। जेलर सत्यराज जोशीले यसअघि नै बयान दिइसकेका छन्। उनले आफूलाईं लामिछाने बाहिरिसकेपछि एउटा कागजात तयार गरेर हस्ताक्षर गर्न बाध्य पारिएको बयान दिएका थिए। 

लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताकार्यकर्ताले भने आन्दोलनकारीले जेलमा आगजनी गर्न लागेपछि प्रशासनले नै आफूलाई सुरक्षाका लागि आफन्तको जिम्मा लगाएको जिकिर गर्दै आएका छन्। 

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि बुधबार उनलाई जेलबाट निस्किँदा तयार भएको पत्र र जेलबाट किन र कसरी फरार भए भन्ने विषयमा सोधपुछ गरेको हो। 

लामिछाने जेलबाट निस्किएर घरमा बसेपछि चौतर्फी विरोध भएको थियो। यस्तै कारागार प्रशासनले पनि भागेका कैदीबन्दीलाई कारागार फर्किन सूचना जारी गरेपछि लामिछाने आफैँ कारागार फर्किएका थिए। 

उनी विभिन्न सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। अन्य सहकारीको अभियोगमा उनी धरौटीमा रिहा भएपनि बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा भने उनलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश भएको थियो।

रुपन्देही कारागारमा रहेका लामिछानेलाई उनकै माग अनुसार नक्खु कारागारमा सारिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad