नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चुनाव हुँदैकि भनेर लख नकाट्न आग्रह गरेका छन्। पार्टीको केन्द्रीय समितिको बुधबारको बैठकलाई सम्बोधन गर्दै पाण्डेले यहाँ कसैले चर्को र कसैले मलिन स्वरमा बोलेर केही नहुने बताए।
उनले कांग्रेस राष्ट्रिय राजनीतिको एजेन्डाबाट किनारा लागेको महसुस आफूलाई भइरहेको भन्दै उनले भने, 'अहिलेको अवस्थामा देशलाई नेतृत्व दिने गरी कांग्रेसले के गर्न सक्छ भन्ने निर्णय यो बैठकले गर्नुपर्छ।'
बाहिर फागुनमा चुनाव हुन्छ कि हुँदैन भन्ने प्रश्न आइरहेको विषयमा पनि उनले प्रधानमन्त्रीसहित विभिन्न सरकारी निकायसँग छलफल चलिरहेको बताए।
'चुनाव हुन्छ कि हुँदैन भन्ने प्रश्न छ। केही अन्तर्क्रिया भइरहेको छ। प्रधानमन्त्रीदेखि सबैसँग कुरा भइरहेकै छ। चुनावै हुँदैन नभनौँ। तर भोलि के हुन्छ कसलाई के थाहा ?चुनाव हुन्छ नै भन्ने सरकारी रिपोर्टहरू छ। मैले हेर्ने हो भने फागुनमा हुन्छ,' उनले भने, 'चुनाव फागुनमा हुन्छ भने हाम्रो प्राथिमकता के हो? चुनाव मात्रै पनि म भन्दिन। अधिवेशन पनि गर्नुपर्ने छ। अधिवेशन भनेर चुनाव इग्नोर गर्ने र महाधिवेशनलाई पनि इग्नोर गर्न सकिँदैन।'
दुवै विषयलाई सम्बोधन गर्ने गरी निकास खोज्नुपर्ने उनको भनाइ छ। 'दुवैलाई सँगै लैजाने तालिका के हो? दुवै पक्षलाई हेरेर हाम्रो तालिका बनाउनुपर्छ। यता ५४ प्रतिशतले महाधिवेशन माग गरिएको भनिएको छ। यो भनेको १०० प्रतिशत पनि होइन। ४६ प्रतिशत पनि हुनुहुन्छ भन्ने सम्झिनुपर्छ। सबैलाई सम्बोधन गर्ने बाटो के हो खोजौँ। बीचका बाटोहरू विश्लेषण गरौँ,' उनले भने, 'यसलाई तितो नमान्नुहोला केहीले अधिवेशन गरेर नयाँ नेतृत्वमा आएर टिकट बाँड्छु र केहीले अहिलेको अवस्थामा टिकट बाँड्छु भन्ने मनमा राख्नु भएको छ भने नआत्तिए हुन्छ यसपटक पहिलेको जस्तो मारामार गरेर टिकट बाँड्नुपर्ने अवस्था हुँदैन।'
Shares

प्रतिक्रिया