नेकपा (एमाले) ले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगलाई अस्वीकार गर्न अन्तर पार्टी निर्देशन जारी गरेको छ।
२३ बुँदे ‘अपानि’ जारी गर्दै एमालेले भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने माग पनि गरेको छ।
आयोगबारे एमालेको अपानिमा भनिएको छ, ‘भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्दछ। दोषी पहिचान गर्नुपर्दछ र उनीहरूमाथि कडा कानुनी कारबाही हुनुपर्दछ। राष्ट्रमाथि भएको यति ठूलो षड्यन्त्रको छानवीन गर्ने दायित्व स्वतन्त्र, निष्पक्ष र न्यायिक मन भएका व्यक्तिहरूबाट मात्रै सम्भव छ। तर यति ठूलो छानबिनको नेतृत्व गर्ने जिम्मेवारी त्यस्ता व्यक्तिलाई सुम्पिएको छ, जो राजनीतिक दल, नेतृत्व र प्रक्रियाप्रति एकदमै पूर्वाग्रह र दूषित धारणा राख्दछन्। जसले यसअघि नै तत्कालीन प्रधानमन्त्रीलगायत राजनीतिक नेतृत्वहरूप्रति आफ्नो फैसला सुनाइसकेका छन्। जसले आफ्ना मनोगत धारणाहरू सार्वजनिक गरिनैसकेका छन्।’
अपानिमा अगाडि भनिएको छ, ‘भदौ २३ को दुःखद् घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीहरूलाई बिना छानबिन जबर्जस्ती र नियोजितरूपमा मुछ्न खोज्ने तर भदौ २४ को राष्ट्रविरोधी जघन्य अपराधको कसुरमा प्रहरीले सप्रमाण गिरफ्तार गरेका व्यक्तिहरूलाई छाड्न सरकारलाई सघाउने काम गरिरहेका छन्। यस्ता व्यक्तिको नेतृत्वमा गठित आयोगले स्वतन्त्र छानबिन गर्न सक्तैन। यस्तो आयोगबाट निष्पक्षताको अपेक्षा गर्न सकिन्न। नेकपा (एमाले) यस आयोगलाई अस्वीकार गर्दछ र सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा स्वतन्त्र एवम् निष्पक्ष आयोग गठन हुनुपर्दछ भन्ने मान्यता राख्दछ।’
Shares

प्रतिक्रिया