नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले आफूहरुले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने नसकेको बताएका छन्।
मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले खास गरेर आफूहरूको पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसकेको स्वीकार गरे।
हाल नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको उनको भनाई छ। केही नेताहरूको लागि पार्टीहरू भएपनि जनता र जेनजीको नजरबाट हेर्दा पार्टीहरू विघटित भइसकेको उनले बताए।
उनले भने, ‘नेपालका राजनीतिक पार्टी र जनसमुदायको बीचमा एउटा गहिरो र फराकिलो खाडल तयार भयो। खाडल छ भन्ने कुरा सबैले भन्दै थिए, लेख्दै थिए। तर त्यहाँ खास गरेर हाम्रो पिँढीले हाम्रो नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेन। नेपालको कम्युनिष्ट आन्दोलन आज विघटन हुन पुगेको छ। केही नेताहरुको लागी र ती नेताहरुको वरिपरि बस्ने शिष्य, मंगलका निम्ति पार्टी छ। तर जनताको नजरबाट हेर्दा जेनजीको नजरबाट हेर्दा २३ र २४ को नजरबाट हेर्दा पार्टीहरु विघटित भएका छन्।’
उनले जेन–जी युवाहरुको भावना विपरित भ्रष्टाचारका मुद्दा लागेका नेताहरू टाउकोमा कल्की झुन्डाएर ठूलो पदमा पुगेको बताउँदै एकताको स्वाङ गरिरहेको आरोप लगाए।
नेता कार्कीले थपे, ‘पार्टीहरूको केही अस्तित्व छैन। जेनजी युवाहरूको जुन भावना हो भ्रष्टाचार मेटाइदिउँ भन्ने तर अहिले भ्रष्टाचारका मुद्दा लागेका मान्छेहरु, भ्रष्टाचारका अभियोग लागेका नेताहरू टाउकोमा कल्की झुण्डाएर ठूलो पदमा पुगेर यहाँ एकताको स्वाङ गर्दैछन्।’
नेता कार्कीले आफूहरुले राजनितिक दलका लागि मात्रै दल निर्माण गर्न नलागिएको पनि दाबी गरे। उनले मजदुर, किसान, गरिब सबैको सहअस्तित्व रहने समाजवनदी संगठन निर्माण गर्ने स्पष्ट पारे।
Shares

प्रतिक्रिया