राजनीति


पूर्वराष्ट्रपति यादवसँग गृहमन्त्रीको भेट, चुनावका लागि मागे साथ

पूर्वराष्ट्रपति यादवसँग गृहमन्त्रीको भेट, चुनावका लागि मागे साथ

तस्बिरः केशव थापा


नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १९:५२, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा रामवरण यादवसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न पक्षहरुसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्यालले मंगलबार डा यादवसँग भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

गृहमन्त्री अर्यालले नेपालका प्रथम राष्ट्रपति डा यादवसको ललितपुरको बागडोलस्थित निवासमै पुगेर उनको स्वास्थ्य अवस्था र भदौ २३ र २४ गतेको घटनाले पारेको असरका सम्बन्धमा जानकारी लिएका थिए।

केहीबेरको भलाकुसारीपछि केही राजनीतिक विषयमा कुराकानी भएको थियो। त्यस क्रममा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनले दिएको कार्यादेशअनुसार सरकारी सेवामा प्रभावकारिता र पारदर्शिता बढाउनेदेखि निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट भइरहेका प्रयासबारे जानकारी गराएका थिए।

डा यादवले पनि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारका तर्फबाट निर्वाचनका लागि वातावरण बनाउन भइरहेका प्रयासको प्रंसा गरेका थिए।
पूर्वप्रधानन्यायाधीशको नेतृत्व र समाजका स्वतन्त्र व्यक्तिहरू सामेल भएको कारण यस सरकारले निष्पक्ष चुनाव गराउन सक्ने विश्वास पनि व्यक्त गरे।

उनले विगतमा खिलराज रेग्मी नेतृत्वको सरकारले सफलतापूर्वक चुनाव गराएको सन्दर्श स्मरण गर्दै उक्त समयमा आफू राष्ट्रपतिको भूमिकामा रहँदा देखे÷भोगेका अनुभव पनि सुनाए।

त्यस बेला पनि निकै प्रतिकूल समयमा चुनाव गराउन सम्भव भएको उल्लेख गर्दै उनले अहिले पनि यो तटस्थ सरकार भएकाले सबै पक्षले विश्वास गर्नुपर्ने बताए।

डा यादवले भने, ‘संविधान र लोकतान्त्रिक प्रणालीलाई बचाउँदै अनिश्चयको अन्त्य गर्न निर्वाचनबाहेक अर्को कुनै सुरक्षित बाटो नै छैन। तपाईंहरु मेहनतसाथ लाग्नुभएको छ। यो सह्राहनीय पक्ष छ। निर्वाचनलाई नै अर्जुनदृष्टि मानेर अघि बढ्नुहोस्। चुनाव सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ।’

अहिले चुनाव हुन सकेन भने भोलि अर्को ठूलो संकट आउन सक्नेतर्फ सबै पक्ष सचेत रहनुपर्ने उनको भनाइ थियो।

डा यादवले भने, ‘अहिले चुनाव गराउन सकिएन र यो प्रक्रिया डिरेल भयो भने प्यान्डोरा बक्स खुल्छ। अब दायाँबायाँतिर लाग्नुहुँदैन। तपाईँहरुले जे गरिरहनुभएको छ, त्यो ठिक छ। प्रधानमन्त्रीज्यू पनि चुनावमा केन्द्रित गम्भीरतापूर्वक लाग्नुभएको देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad