राजनीति


यो वैदेशिक शक्तिहरूले उभ्याएको कठपुतली सरकार हो: वैज्ञानिक समाजवादी पार्टी

यो वैदेशिक शक्तिहरूले उभ्याएको कठपुतली सरकार हो: वैज्ञानिक समाजवादी पार्टी

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १२:४७, काठमाडौँ

विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले नेपाली समाजको आजको अन्तर्विरोध हल गर्न नसक्ने निष्कर्ष निकालेको छ।

यही कात्तिक १२ देखि १५ गतेसम्म काठमाडौँमा सबेकाे पार्टी केन्द्रीय समितिको ध्रवीकरण बैठकले यस्तो निष्कर्ष निकालेको सो पार्टीकी प्रवक्ता राजेश्वरी सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

‘सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपाली जमिनबाट उम्रिएको सरकार होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘बरु ‘जेनजी विद्रोह’लाई अपहरण गरी वैदेशिक शक्तिहरूद्वारा उभ्याइएको कठपुतली सरकार मात्र हो। तसर्थ, यसले नेपाली समाजको आजको अन्तर्विरोध हल गर्न सक्दैन।’

सो पार्टीले सच्चा जेनजीहरूलाई ‘जेनजी विद्रोह’पछि वैदेशिक हस्तक्षेपहरूमार्फत भएका विभिन्न षड्यन्त्र र चलखेललाई चिन्दै ‘जेनजी विद्रोह’को मर्म र भावनालाई तार्किक निष्कर्षमा लैजान नेपाली समाजको रूपान्तरणको वैज्ञानिक विचार, संगठन र वैचारिक नेतृत्व निर्माणको प्रक्रियामा लामबद्ध हुनसमेत विशेष अपील गरेको छ।

‘जेनजी विद्रोह’पछि उत्पन्न नेपाली समाजमा देखिएको राजनीतिक अन्तर्विरोध कुनै पनि खालको प्रतिगमन वा यथास्थितिबाट हल हुने सम्भावना नरहेको सो पार्टीको ठहर छ।

‘जेनजी विद्रोहले धुलिसात पारिसकेको दलाल संसदीय पुँजीवाद र फगत संसदीय निर्वाचनको यथास्थितिवादी प्रपञ्चमा मात्रै देशलाई लैजान खोज्ने प्रवृत्तिका विरुद्ध नयाँ विद्रोहका निम्ति सच्चा देशभक्त, क्रान्तिकारी, प्रगतिशील र जेनजीहरूले अपिल र पहलकदमी लिनुपर्ने निर्णय बैठकले गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दलाल संसदीय व्यवस्थाको खास विकल्पका रूपमा नेपाली मौलिकताको वैज्ञानिक समाजवादी शासकीय स्वरूप, संरचना, मोडेल र खाकाको प्रस्ताव तय गरेको छ। बैठकले तय गरेको वैज्ञानिक समाजवादी कार्यक्रमको प्रस्तावलाई तत्काल देशव्यापी बहसमा लैजाने निर्णय भएको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad