काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले शनिबार मध्यराति अंग्रेजीमा ‘अश्लील’ शब्द प्रयोग गरी लेखेको स्टाटसले सामाजिक सञ्जालमा व्यापक बहस सिर्जना गरेको छ।
शनिबार राति ११ बजेर ५६ मिनेट जाँदा उनले अमेरिका, भारत र चीन तथा नेपालका राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई लहरै सूचीमा राखेर अंग्रेजीको एउटै शब्दमार्फत आक्रोश पोखेका थिए।
लगत्तै त्यो शब्द आपत्तिजनक भएको भन्दै व्यापक आलोचना हुन थालेपछि उनले करिब आधा घण्टापछि स्टाटस हटाए। तर त्यसको स्क्रिनसट राखेर मानिसहरूले अझै कडा टिप्पणी गरिरहेका छन्।
यसैबीच पत्रकार मञ्जु कार्की पनि त्यही विवादमा तानिएकी छन्। उनले त्यो स्टाटस आउनुअघि बालेनलाई ललितपुरको एक रेस्टुरेन्टमा मदिरा पिइरहेको देखेको दाबी गरेपछि बालेन-समर्थकले उनलाई गाली गरेका हुन्।
तर पत्रकार कार्कीले आफू कसैको विरोधी वा समर्थक नभएको उल्लेख गर्दै देखेको कुरा लेखेको भनी अर्को स्टाटस लेखेकी छन्।
जसमा उनले विश्वास नलागे ललितपुरको Saskar Fine Dine & Events मा गएर बुझ्न चुनौती दिएकी छन्। भिडिओ र फोटोका लागि उनले सीसीटीभी हेर्न सुझाव दिएकी छन्।
‘मलाई गाली गर्नुभन्दा ललितपुरको Saskar Fine Dine & Events मा गएर पत्ता लगाउनुहोस्। मैले देखेको लेखेँ, मेरो गाडीमाथि मेरो छोरी हुन्, छेउको गाडी पत्ता लगाउनुहोस् (आफ्नो फेसबुकमा उनले तस्बिर राखेकी छन्)। म कसैको विरोधी र समर्थक होइन। भिडिओ र फोटो हेर्न इच्छुकले सीसीटीभी हेर्नुहोस्’, पत्रकार कार्कीले लेखेकी छन्, ‘कुरा भूराजनीतिको छ, त्यसैले लेखेको। अन्यथा रक्सी, भाङका कुरा मलाई मतलब भएन। इच्छा हुनेले खाने हो। शाहसँग सायद एउटा नायिकाका श्रीमान् पनि थिए।’
उनको पहिलो स्टाटस यस्तो छ, ‘हिजो म परिवारका साथ ललितपुरको एउटा रेस्टुरेन्टमा थिए, मलाई बस्न मन पर्ने ठाउँ (कौसी) जस्तोमा चार/पाँच जना साथीसँग बालेन थिए। हामी भित्र बस्यौँ, तर हामी बसिरहेको ठाउँबाट उनलाइ देख्न सकिन्थ्यो। उनले बारम्बार मदिरा थपिरहेका थिए। मलाई लाग्यो- शनिबार छुट्टीको दिन भएर होला। मैले त्यता धेरै धान दिइन्, तर राति बालेनको यस्तो पोस्ट देखेपछि मेरो दिउँसोको अनुमानभन्दा अवस्था झन् जटिल बनेछ।’


Shares

प्रतिक्रिया