फागुन २१ मा हुने आम चुनावको लागि १२७ दिन बाँकी हुँदा धमाधम मतदाता नामावली दर्ताको काम चलिरहेको छ। त्यसका लागि कात्तिक ३० गतेसम्मको समय तोकिएको छ।
यस अवधिमा दैनिक ५/६ हजार मतदाताले नामावली दर्ता गराइरहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
जेनजी आन्दोलनपछि पहिलेको तुलनामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढेको भट्टराईले बताए।
'हाल दिनको ५/६ हजार मतदाता नामावली दर्ता हुन्छ। हालसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या ७६ हजार पुगेको छ। यही अनुपातमा दर्ता हुने हो भने कात्तिक ३० गतेसम्म एकडेढ लाख मतदाताको नामावली दर्ता हुन्छ,' भट्टराई भन्छन्, 'मतदाता नामावलीमा योग्यता पुगेका मान्छे कोही पनि नछुटून् भन्ने हाम्रो धारणा हो; यसको लागि आयोगले आवश्य सहजीकरण गरिरहेको छ।'
प्राय: राजनीतिप्रति उदासीन रहने नवयुवाहरूको अगुवाइमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले सरकार ढालेन मात्रै, जेनजीकै रोजाइमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ।
जेनजीका अनेकौँ समूह दल गठनको कसरतमा छन्। त्यति मात्र होइन, राज्य सञ्चालनका विविध छलफलहरूमा २२-२५ वर्षका जेनजीहरूको सक्रिय सहभागिता छ। बुधबार मात्रै प्रधानमन्त्री कार्कीले दल र जेनजीका प्रतिनिधिसँग निर्वाचनको वातावरण बनाउने विषयमा संयुक्त छलफल गरिन्।
जेनजी आन्दोलनबाट कांग्रेस–एमालेको गठबन्धन सरकार विस्थापित भएर जेनजीकै प्रस्तावमा कार्की सरकार बनेयता पहिलो पटक यस्तो त्रिपक्षीय छलफल भएको हो।
आन्दोलनपछि जेनजीहरू राजनीतिमा अभूतपूर्व रूपमा आकर्षित भएका छन्। यसैको प्रतिबिम्बन मतदाता नामावलीमा पनि देखिन थालेको छ। नाम दर्ता गराउने युवाहरूको संख्या बढिरहेको छ।
मतदाता नामावली दर्ता गराउने युवाहरूको संख्या बढ्ने क्रमसँगै निर्वाचनमा जेनजी पुस्ता निर्णायक हुने देखिन्छ।
जनसांख्यिकी अध्येता चेतन अधिकारीले कान्तिपुर दैनिकको आफ्नो लेख निर्णायक जेन–जी मतदातामा उल्लेख गरेअनुसार कुल जनसंख्याको ३३.५ प्रतिशत अर्थात ९७ लाख ६० हजार ३ सय ६८ जना जेनजी छन्।
अधिकारीका अनुसार मतदान गर्न मिल्ने उमेरका जेनजीको जनसंख्या ६३ लाख ४१ हजार ८ सय ३४ छ। त्यसमध्ये २१ वर्षमाथिका अधिकांशले त अघिल्लोपालि नै मतदान गरिसकेका छन्। तर, १८ देखि २० वर्षका जेनजीले भने पहिलो पटक मतदान गर्दैछन्। पहिलो पटक मतदान गर्ने जेनजी १८ लाख ८ हजार ४ सय ७७ जना छन्।
तर, आयोगका प्रवक्ता भट्टराई हाल मतदाता नामावलीमा कति जेनजीले नाम दर्ता गरे भन्ने तथ्यांक नरहेको बताउँछन्।
भट्टराई भन्छन्, 'अहिले हामीसँग मतदाता सूचीमा १ करोड ८१ लाख ८६ हजार मतदाता छन्, अब हेरौँ अहिले थपिएपछि कति हुन्छन्।'
मतदाता नामावली दर्ताका लागि सामाजिक सञ्जालको माध्यमबाट विभिन्न इन्फ्लुएन्सरहरूले पनि आह्वान गरिरहेका छन्।
एकै स्थानबाट धेरै मतदाता बढेको खण्डमा मतदान केन्द्र पनि बढ्ने भट्टराई बताउँछन्। निर्वाचनको लागि कति बजेट छुट्याउने भन्ने कुरा पनि छलफल चरणमै रहेको उनले जानकारी दिए।
आयोगका अनुसार हालसम्म जेनजी आन्दोलनपछि ७ वटा पार्टी दर्ताको प्रक्रियामा छन्। जसमध्ये एउटाको नामनै जेनजी पार्टी छ।
जेनजी आन्दोलन भन्दापहिले नै ११ वटा पार्टी दर्ताको लागि आएका थिए। ती पनि हाल दर्ता प्रक्रियामा छन्।
Shares

प्रतिक्रिया