राष्ट्रपति रामचन्द्र पौडेलले सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका छन्।
सोमबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेका हुन्।
देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रही आएको छ। तर यस वर्ष भने गुह्वेश्वरीमा मात्रै गएका हुन्।
प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रुपमा मनाउने गरिन्छ।
छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि भव्य रुपमा सजाइएको थियो। छठ पर्व हेर्ने सर्वसाधारणहरूको पनि छठ घाटमा उल्लेख्य भीड रहेको छ। गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नख्खु खोला, विष्णुमती र बागमती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ।
यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरी पूजा आराधना गरिएको छ। आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका व्रतालु मंगलबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन्।
बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ। छठको व्रत बसेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा वर्णित छ।
महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ। यसै विश्वासका आधारमा छठ पर्व मनाउने परम्परा शुरु भएको मानिन्छ।
Shares

प्रतिक्रिया