राजनीति


कांग्रेसको विशेष महाधिवेशनको प्रस्तावलाई सम्बोधन गर्दै नियमित महाधिवेशनको निर्णय गर्छौँ: कार्यवाहक सभापति खड्का

कांग्रेसको विशेष महाधिवेशनको प्रस्तावलाई सम्बोधन गर्दै नियमित महाधिवेशनको निर्णय गर्छौँ: कार्यवाहक सभापति खड्का

नेपालखबर
कात्तिक १०, २०८२ सोमबार १४:३५, काठमाडौँ

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन नियमित समयमै हुने बताएका छन्। नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमा बोल्दै विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्दै नियमित महाधिवेशन गर्ने निर्णय जारी केन्द्रीय समिति बैठकबाट हुने बताएका हुन्।

उनले केन्द्रीय कार्यसमिति बैठकले घोषणा भएको निर्वाचन, नियमित अधिवेशनलगायत सबै विषयलाई विचार गरेर निर्णय गर्ने पनि बताए।

'सबै कुरालाई एक ठाउँमा जोडेर चालु केन्द्रीय कार्यसमिति बैठकबाट घोषणा भएको निर्वाचन, पार्टीको नियमित अधिवेशन, भ्रातृ संस्थाका अधिवेशन सबै विषयलाई अगाडि राखेर, पार्टीका महाधिवेशन प्रतिनिधिले प्रस्ताव गर्नु भएको विशेष महाधिवेशनलाई नियमित महाधिवेशनको सीमाभित्र जोडेर वृहत एकतामा जोड दिइनेछ,' उनले भने।

त्यस्तै उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशको अवस्था प्रतिकूल रहेको भन्दै त्यसलाई अनुकूलतामा पुर्‍याउन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने पनि बताए।

खड्काले देश इतिहासकै सबैभन्दा प्रतिकूल अवस्थामा उभिएको पनि बताए। उनले देशमात्र नभई नेपाली कांग्रेस पार्टी पनि प्रतिकूल अवस्थामै रहेको बताए। संविधानमार्फत नेपाली जनताको जिम्मामा आएको लोकतान्त्रिक प्रणाली, शासनको मालिक जनता हुने पद्दति स्थापना भएको घडीमा ठूलो ध्वंश बेहोर्नु परेको उनको भनाइ छ।

'शासनको मालिक जनता हुने पद्दति स्थापना गरेर एउटा राजनीतिक परिवर्तनलाई संस्थागत गरिरहेको घडीमा हामीले अत्यन्त ठूलो ध्वंश बेहोर्नुपरेको छ,' उनले भने, 'भदौ २३ गतेको जेनजी युवाको शान्तिपूर्ण आन्दोलन भ्रष्टाचार अन्त्य, सुशासन व्यवस्थाको लागू, सामाजिक सञ्जाल बन्द फिर्ता ३ मागअगाडि सारेर सुरु गरिएको थियो। २३ गते नै होनाहार युवाहरूले अमूल्य गुनाउनुपर्‍यो। जेनजीकै भनाइमा शान्तिपूर्ण आन्दोलनमा ठूलो घुसपैठ हुन पुगेर मुलुकले ठूलो विपत्तिको सामना गर्नुपर्‍यो। २४ गते देशैभरि ४ घण्टामा सिंगो देशमा ध्वंश भयो। मानवीय क्षति भयो। नेपालको इतिहासमा पहिलोचोटी। देशको कार्यपालिका, व्यवस्थापिका, सर्वोच्च प्रणालीमाथि आक्रमण भयो खरानी बनाइयो।'

उनले ००७ सालको शान्तिको प्रतिक विराटनरस्थित कोइराला निवास, लोकतन्त्रको लागि विगुल फुकेको गणेशमान सिंहको निवास चाक्सीबारी, कृष्णप्रसाद भट्टराईको आश्रमसहित देशभरका कांग्रेस कार्यालय खरानी भएको चर्चा गरे।

उनले जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान जोगाउन खेलेको भूमिकाको प्रशंसा पनि गरे। त्यस्तै खड्काले भ‍दौ २४ गते सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको आक्रमणको निन्दा पनि गरे। 'सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि प्राण लिने गरी आक्रमण भए। देशैभर नेताका घर खरानी बनाइए,' उनले भने, 'यो पृष्ठभूमिमा तरुण दलको स्थापना दिवस मनाउँदैछौँ। यो क्षणमा सबै तरुण साथीहरूलाई अनुरोध गर्न चाहन्छु- अत्यन्त जुझारुपनका साथ तर अनुशासन भएर धैर्यता संयमता र जिम्मेवारी भएर सिंगो देश र नागरिकको रक्षाका लागि एकता हुनुछु। तरुणहरू संगठित हुनुछ।'

उनले फेरि एकपटक तरुण दलको झन्डा बोकेर अधिकार रक्षाका लागि, नागरिकको रक्षाका लागि एकताबद्ध हुन आह्वान पनि गरे। यस्तो अवस्थामा हुन सक्ने आकस्मिक खतराबाट सुरक्षित हुने तरिका बोध गरेर अघि बढ्न निर्देशन पनि दिए।

जारी केन्द्रीय समिति बैठकको पहिलो दिननै सभापति देउवाले दिएको सन्देश प्रेरणादायी भएको भन्दै उनले भने, 'उपचार गर्दै गरेको अवस्थामा अदम्य साहससहित जलेको पार्टी कार्यालयमा प्रेरणासहित सन्देश दिनु भएको छ। त्यो दिनको सन्देशले कांग्रेसलाई ठूलो ऊर्जा दिएको छ।'

विगतमा कमीकमजोरी भएको स्वीकार गर्दै थपे, 'कमीकमजोरी भए होलान् हामी स्वीकार्छौँ। परिवर्तनका लागि अधिकारलाई रक्षा गर्ने कामलाई वृहत एकतासहित अघि बढ्छौँ भन्दै सभापतिले सन्देश दिनुभएको छ।' उनले जारी केन्द्रीय समिति बैठकले कांग्रेस एक भएको सन्देश दिने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad