जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादवले वर्तमान आफूहरूसहितको समर्थनमा बनेको भन्दै फागुन २१ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचन सफल पार्न सबै एक जुट हुनुपर्ने बताएका छन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै यादवले देशलाई अघि बढाउने बाटो संवाद संयम् र सहकार्य भएको र फागुन २१ को निर्वाचन निष्पक्ष सम्पन्न गर्न सबै पक्षबीच एकता आवश्यक भएको बताएका हुन्।
'हामी सबैलाई स्मरण गराउन चाहन्छौं - देशलाई अघि बढाउने बाटो संवाद, संयम र सहकार्यबाटै हो। त्यसैले, हामी फागुन २१ गतेसम्म निष्पक्ष, स्वतन्त्र र समयमै निर्वाचन सम्पन्न गर्न सबै पक्षबीच एकता र जिम्मेवारीपूर्ण व्यवहारको लागि आग्रह गर्दछौं,' उनले भनेका छन्।
यस्तो छ उनको विज्ञप्ति
छठ पर्वपछि हुन लागेको आन्दोलनप्रति विभिन्न भ्रम र चर्चा फैलिएको सन्दर्भमा जेन्जी आन्दोलनको आधिकारिक राजनीतिक धारणा यस विज्ञप्तिमार्फत सार्वजनिक गर्न चाहन्छौं।
हामी स्पष्ट रूपमा भन्न चाहन्छौं - जेन्जी आन्दोलन छठपछि हुन लागेको आन्दोलनसँग कुनै पनि औपचारिक, राजनीतिक वा वैचारिक सम्बन्ध राख्दैन र त्यस आन्दोलनमा समर्थन प्रदान गरेको छैन। हाम्रो आन्दोलनको लक्ष्य, सिद्धान्त र कार्यदिशा स्वतन्त्र, लोकतान्त्रिक र नवीन सोचमा आधारित छ।
जेन्जी आन्दोलनको सुरुवात सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको जनआन्दोलनबाट भएको हो। यही जनदबाब र राजनीतिक सचेतनाको परिणामस्वरूप केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन भएको हो, र त्यसपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको सरकार हाम्रो समर्थनमा बनेको हो - जुन न्याय, जवाफदेहिता र परिवर्तनको प्रतीक हो।
अहिले जेन्जी आन्दोलन नयाँ राजनीतिक शक्ति निर्माणको दिशामा अघि बढिरहेको छ। हाम्रो केन्द्रमा युवाको नेतृत्व, संस्थागत सुधार र उत्तरदायित्वपूर्ण शासन प्रणालीको निर्माण रहेको छ।
यस सन्दर्भमा, हामी सबै युवा, नागरिक र राजनीतिक शक्तिहरूलाई देशलाई अस्थिरता र अराजकतातर्फ धकेल्ने कुनै पनि गतिविधिबाट टाढा रहन र शान्तिपूर्ण, रचनात्मक र लोकतान्त्रिक माध्यमबाट परिवर्तनको यात्रा अघि बढाउन आह्वान गर्दछौं।
हामी सबैलाई स्मरण गराउन चाहन्छौं - देशलाई अघि बढाउने बाटो संवाद, संयम र सहकार्यबाटै हो। त्यसैले, हामि फागुन २१ गतेसम्म निष्पक्ष, स्वतन्त्र र समयमै निर्वाचन सम्पन्न गर्न सबै पक्षबीच एकता र जिम्मेवारीपूर्ण व्यवहारको लागि आग्रह गर्दछौं।
जेन्जी आन्दोलन परिवर्तन र उत्तरदायित्वको पक्षमा छ - हामि अराजकता र विभाजनको विरोधमा छौं ।
पुरुषोत्तम यादव
अगुवा, जेन्जी आन्दोलन
Shares

प्रतिक्रिया