नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्र ठूलो संकटमा रहेको बताएका छन्।
महोत्तरीको रामगोपालपुरमा पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनमा भएजति विध्वंश देशमा यसअघि कहिल्यै नभएको पनि बताएका हुन्।
'अहिले देश ठूलो संकटमा छ। यसपटकको जस्तो विध्वंश यसअघि देशले कहिल्यै भोगेको थिएन,' उनले भने, 'आम जनताको असन्तुष्टि र आक्रोशलाई सम्बोधन गर्ने गरी संविधान संशोधन गर्नुपर्नेछ।'
उनले जटिल अवस्थामा सरकार बनेको र सरकारले फागुन २१ का लागि तय भएको निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दललाई आह्वान पनि गरे।
'यो अन्तरिम सरकार एउटा जटिल परिस्थितिमा बनेको छ र यो अन्तरिम सरकारले ६ महिनापछि निर्वाचनको घोषणा गरेको छ,' उनले भने, 'हामीले कुनै हिचकिचाहट नराखीकन, कुनै दुविधा नराखीकन यतिबेला सम्पूर्ण राष्ट्र एकजुट भएर घोषित मितिमा नै निर्वाचन सम्पन्न गर्ने र नयाँ प्रतिनिधिसभा हुँदै जेनजी युवाहरूका मागलाई पनि सम्बोधन गर्ने गरी र आम जनताका असन्तुष्टि र आक्रोशलाई पनि सम्बोधन गर्ने गरी संविधान संशोधन गर्नुपर्दछ भनेर निर्वाचनको निम्ति अपिल गर्ने पार्टी पनि माओवादी केन्द्र नै भयो।'
मंगलबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकले पनि सरकार र दलबीचको संवादहीनता तोडिएको उनको भनाइ छ।
प्रचण्डले भदौ २३ गतेको जेनजी आन्दोलनलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले दमन गरेको आरोप लगाउँदै उक्त घटना इतिहासले कहिल्यै नबिर्सिने पनि बताए।
'भदौ २३ गते जेनजी पुस्ताका युवाहरूले गरेको आन्दोलन र सो आन्दोलन दबाउन तत्कालीन सरकारले गरेको बर्बर दमन र हत्या नेपालको इतिहासमा कहिल्यै नबिर्सिने परिघटनाको रूपमा स्थापित भइसकेको छ' उनको भनाइ थियो।
Shares

प्रतिक्रिया