राजनीति


निर्वाचन सम्पन्न गर्नु हामी सबैको दायित्व हो: प्रधानमन्त्री

‘शंखधर सा:ख्वा परोपकारी र लोककल्याणकारी’
निर्वाचन सम्पन्न गर्नु हामी सबैको दायित्व हो: प्रधानमन्त्री

भक्तपुरको मध्यपुर ठिमीस्थित शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्दै प्रधानमन्त्री सुशीला कार्की


नेपालखबर
कात्तिक ५, २०८२ बुधबार १०:१, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत्का प्रवर्तक शंखधर सा:ख्वा परोपकारी र लोककल्याणकारी व्यक्ति भएको बताएकी छन्।  

नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिले आज बिहान ललितपुरको मंगलबजारमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उनले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःको व्यक्तित्वमाथि बोलेकी हुन्। 

उनले नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको बताइन्।  ‘नेपाल संवत्का प्रवर्तक शंखधर साख्वा एक व्यापारी हुनुहुन्थ्यो। तर उहाँ केवल नाफा कमाउने व्यापारी मात्र नभएर एक महान् समाजसेवी र लोककल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो,’ उनले भनिन्। 

आजभन्दा ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा साख्वाले गरिबी र ऋणमा डुबेका नागरिकको ऋणमोचन गरेका थिए। ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक निर्णय थियो। यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो।

प्रधानमन्त्री कार्कीले यही सामाजिक न्यायको महान् कार्यको कदरस्वरूप वि.सं. ९३६ मा नेपाल संवतको थालनी गरिएको स्मरण गरिन्। 

साख्वालाई वि.सं.२०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो। २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएको थियो। सरकारी कागजातमा नेपाल सम्वत् समेत उल्लेख गर्न थालिएको छ।

नेपाल सम्वतको संवर्धन, प्रवर्धन र व्यावहारिक कार्यान्वयनका लागि सबैका  सुझावअनुसार थप कदम चाल्न सरकार तयार रहेको कार्कीले बताइन्। 

 ‘नेपाल संवत् नेपाली धर्तीमा उत्पत्ति भएको हो। नेपाली जनताले यसको प्रादुर्भाव गरेका हुन्। तसर्थ नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्त्वपूर्ण धरोहर हो, ’ उनले भनिन्,  ‘यस संवतको प्रवर्तन गर्ने ती महान् व्यक्तित्व साख्वाबाट आज पनि हामीले सिक्ने कुरा भनेको व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हित हो। यो महान भावनालाई कदर गर्न सके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुन सक्छ।’

त्यसक्रममा प्रधानमन्त्री कार्कीले २०८२ भदौ २३ र २४ गते जेनजीले देशमा व्याप्त चरम भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनको पनि स्मरण गरिन्।  

जेनजी आन्दोलनमा कलिला युवाहरुको अनाहकमा ज्यान गएको र सयौंको संख्यामा घाइते भएको घटनाले आफू अत्यन्त दुःखी भएको उनको भनाई छ। 

उनले आन्दोलनमा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन्। जेजी आन्दोलनको बलमा नागरिक सरकार बनेको भन्दै उनले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त भएको बताइन्। 

‘यस सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ। यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ। आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ,’ उनले भनिन्। 

लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध रहेको उनको भनाई छ। 

यस कार्यमा सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहने विश्वासमेत उनले व्यक्त गरिन्।

उनले नेपाल संवतको नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, सामाजिक सद्भाव र प्रगतिको नयाँ आयाम थपोस् भन्ने कामना पनि गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad