राजनीति


परिवर्तनका पक्षधर शक्तिबीच राष्ट्रिय एकता जरुरी: प्रचण्ड

परिवर्तनका पक्षधर शक्तिबीच राष्ट्रिय एकता जरुरी: प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
कात्तिक ५, २०८२ बुधबार १०:३१, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत् सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको प्रतीक भएको बताएका छन्। 

नेपाल संवत् ११४६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्। 

नेपाल संवत् हाम्रो ऐतिहासिक गौरव, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको प्रतीक हो। यो संवत् नेपालीको आफ्नै मौलिक संवत् हो, सबै जातजाति र समुदायको साझा गर्व। सिङ्गो नेपाल र नेपाली मात्रको संवत् भएकाले हामी सबैले यसप्रति गर्व गर्नुपर्छ, उनको सन्देशमा भनिएको छ। 

यही तथ्यलाई आत्मसात् गर्दै आफू नेतृत्वको सरकारले २०६५ सालमा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा घोषणा गरेको स्मरण पनि उनले गरेका छन्। त्यस निर्णयलाई थप संस्थागत गर्दै वि.सं.२०८० मा नेपाल सरकारका सबै दस्तावेजमा नेपाल संवत् लेख्ने निर्णय गरिएको स्मरण गर्न चाहन्छु, प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ। 

राष्ट्रलाई पुनः एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा आफूहरु आइपुगेको भन्दै प्रचण्डले लोकतन्त्रलाई सुदृढ पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै अगाडि बढ्न सकिनेमा जोड दिएका छन्। लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता हल गर्न सकिँदैन, प्रचण्डले भनेका छन्। 

यसका लागि परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकता अहिलेको टड्कारो आवश्यकता भएकोमा उनको जोड छ। 

संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढ्ने साझा संकल्प नै नेपाल संवत् ११४६ को साँचो शुभकामना हुनेछ, प्रचण्डले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad