राजनीति


केपी ओली प्रधानमन्त्री हुँदा संसद् विघटन भयो, अहिले संसद्को कुरा गर्नु विडम्बनापूर्ण : प्रचण्ड

केपी ओली प्रधानमन्त्री हुँदा संसद् विघटन भयो, अहिले संसद्को कुरा गर्नु विडम्बनापूर्ण : प्रचण्ड

नेपालखबर
कात्तिक १, २०८२ शनिबार १६:५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिहरुलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह गरे।

शनिबार पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जेन्जी युवाहरुलाई भने, ‘तपाईहरू आफ्नो मित्र दुस्मन को हो छुट्टयाउनु होला। हामीलाई पनि पहिल्यै आतंककारी भनिएको थियो।’

जनताको हक, हित र अधिकारका लागि लड्नेहरुलाई आतंककारी भन्ने प्रवृत्ति यसअघि पनि रहँदै आएको उल्लेख गर्दै संयोजक प्रचण्डले भने, ‘एउटा विचारले भन्छ- तपाईंहरुको आन्दोलनलाई आतंककारी। यो त हामीलाई पनि भनिएको थियो। उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको हकमा लड्दा हामीलाई आतंककारी भनिएको थियो। आज फेरि तपाईहरुलाई पनि त्यस्तै शब्दमा ब्याख्या गरिएको छ। यस्तो प्रवृत्तिबाट सतर्क हुन जरुरी छ।’

उनले थपे, ‘क्रान्तिमा सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आफ्नो मित्र र शत्रु छुट्याउन जान्नु। जसले तपाईंलाई माया गर्छ, साथ दिन्छ- उसलाई चिन्न सक्नु पर्छ। दुश्मनलाई साथी ठानियो भने क्रान्ति असफल हुन्छ।’

देशको समसामयिक राजनीतिक संकट समाधान गर्न सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता उनले औंल्याए। संयोजक प्रचण्डले भने, ‘हामी यतिबेला अत्यन्त जटिल परिस्थितिबाट गुज्रिरहेका छौं। संविधान र लोकतन्त्र जोगाउने अहिलेको सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी माघ २१ गते तोकिएको निर्वाचन हो। यसलाई सफल पार्न सबै दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकार लगायत सबै पक्षको ऐक्यबद्धता आवश्यक छ।’

संयोजक प्रचण्डले वर्तमान संविधान केही हदसम्म ट्रयाकबाट चिप्लिएको उल्लेख गर्दै त्यसलाई ट्रयाकमा ल्याउने उपाय भनेकै संविधान संशोधन भएको बताए। ‘निर्वाचनबाट आउने नयाँ संसदले संविधान परिमार्जन गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्छ। जनताको अपेक्षा पूरा गर्न हामी तयार छौं,’ उनले भने।

उनले आगामी माघ २१ गतेको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको बताउँदै भने,  ‘निर्वाचन नगरीकन देशमा अर्को अराजकता आउन सक्छ। त्यसैले सबैले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु जरुरी छ।’

संयोजक प्रचण्डले संसद पटक–पटक विघटन गर्नेहरूले अहिले संसद पुनस्र्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताए। ‘केपी ओली प्रधानमन्त्री हुँदा संसद् विघटन भयो, राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो। अहिले उनीहरुकै समूहले संसद्को कुरा गर्नु विडम्बनापूर्ण हो,’ प्रचण्डले भने।

उनले समाजवादी मोर्चामा आबद्ध बाम शक्तिहरूबीच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिंदै भने, ‘हामीले बृहद बामपन्थी एकताको आवश्यकता महसुस गरेका छौं। तर त्यसले मात्र पुग्दैन। लोकतन्त्रवादी र राष्ट्रवादी सबै शक्तिहरू पनि राष्ट्रिय संकटको सामना गर्न एकजुट हुन जरुरी छ।’

उनले वर्तमान अन्तरिम सरकार निर्वाचन गर्न गम्भीर रहेको र अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad