राजनीति


सानेपाबाट देउवाले दिएका स्पष्ट तीन सन्देश

सानेपाबाट देउवाले दिएका स्पष्ट तीन सन्देश

नेपालखबर
असोज २८, २०८२ मंगलबार २०:४३, काठमाडौँ

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ को प्रदर्शनकारीको आक्रमणमा परेपछि सुरक्षा र स्वास्थ्यका कारण गुप्तवास बसेका नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ३६औँ दिनमा सार्वजनिक भए। 

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा लिखित मन्तव्यका साथ प्रस्तुत भएका देउवा संयमित देखिए। जेनजी प्रदर्शनकै क्रममा आगजनीमा परेर ध्वस्त भएको ललितपुरको सानेपास्थित कांग्रेस मुख्यालयमा मंगलबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्न पुगेका उनले अहिले नेपाली राजनीतिमा जोडतोडले उठेका प्रमुख तीन प्रश्नको स्पष्ट जवाफ दिए।  

कांग्रेसमा अब नयाँ नेतृत्व 
सभापति देउवा आजबाट औपचारिक रूपमा पार्टीको कार्यकारी भूमिकाबाट अलग भएका छन्। उनी स्वयंले आफू स्वास्थ्यका कारण पार्टीको नेतृत्व र सञ्चालन गर्न असमर्थ भएको बताउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको भूमिका प्रदान गरेका छन्। साथै उनले यसअघिकै आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै अब पार्टीको नेतृत्वमा दाबी नगर्ने पनि स्पष्ट पारेका छन्। उनको यस प्रस्तुतिसँगै अब कांग्रेसमा उठिरहेको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको आवाज सम्बोधन भएको छ।  

'मेरो स्वास्थ्यका कारण म पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रुपमा काम गर्ने गरी तोकेको छु। उहाँले पार्टीको वृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ' देउवाले भनेका छन्।

चुनाव मात्र विकल्प
सभापति देउवाले मुलुकको राजनीतिलाई संवैधानिक मार्गमा फर्काउने एक मात्र विकल्प चुनाव रहेको पनि स्पष्ट पारेका छन्। नेकपा एमाले र खासगरी यसका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने धारणा सार्वजनिक गरिरहेका बेला मुलुकको अर्को ठूलो दल नेपाली कांग्रेसका सभापतिले चुनावमै जानुपर्ने बताएका हुन्। देउवाले देशमा स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न नसकेको पनि बताए।  

'सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेको छ। तथापि, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन,' देउवाले भने।

निर्वाचनको पूर्वसर्तका रूपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी नभएको पनि उनले जनाए। त्यति मात्र होइन, हाल सुरक्षा निकाय मनोबल गिरेर निरीह भएको अवस्था रहेको उनले उल्लेख गरे।

'निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतःस्फूर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चिता गराउने जिम्मा सरकारको हो। यसतर्फ सरकारको ध्यान जाओस्,' उनले भने, 'यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरूसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्न आवश्यक छ। मुलुकमा संकट आएका बेला त्यसको निकास पनि नेपाली कांग्रेसले दिने गरेको विगतको इतिहासलाई आत्मसात् गर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढौँ।'

वर्तमान सरकारप्रतिको धारणा
सभापति देउवाको चुनावप्रतिको दृढताले जेनजी युवाको परिवर्तनको आकांक्षा र सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई समर्थन गरेको देखिन्छ। ‍यद्यपि उनले प्रतिनिधिसभा विघटन गरेकोप्रति भने आपत्ति जनाएका छन्। देउवाले चुनावका लागि सरकारले सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताए।  

गत वर्षको असार १५ गते बालकोटमा दहीच्युरा खाएर सुरु भएको थियो नेपाली कांग्रेस र नेकपा एमालेबीचको पछिल्लो सत्ता सहकार्य। एमाले अध्यक्ष केपी शर्मा ओली र उनको नेतृत्वको सरकारलाई कांग्रेसको समर्थन थियो।  २०८४ सम्म सत्ता सहकार्य गर्ने र चुनावी सरकार देउवाको नेतृत्वमा बनाउने उनीहरूबीचको समझदारी थियो। तर, जेनजी विद्रोहले १३ महिनामै कांग्रेस-एमाले गठबन्धन टुटेर सत्ताच्युत पनि भए। मंगलबार देउवाले आफूबाट पनि सत्ता र पार्टी सञ्चालनमा केही कमीकमजोरी भएको स्वीकारेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad