राजनीति


इजरायल र गाजामा उल्लास छाउँदा नेपालमा सन्ताप

इजरायल र गाजामा उल्लास छाउँदा नेपालमा सन्ताप

सीताराम बराल
असोज २७, २०८२ सोमबार १९:१८, काठमाडौँ

इजरायल यतिबेला उल्लासमा छ। यसर्थ कि इजरायलसँगको युद्धविरामसँगै दुई वर्षअघि २० असोज (२०८१) मा अपहरित २० जना इजरायली नागरिकहरूलाई प्यालेस्टिनी अतिवादी संगठन ‘हमास’ ले आज रिहा गरेको छ। 

इजरायलको अमानवीय आक्रमणका कारण परिवारका सदस्य र घरबार गुमाएका प्यालेस्टिनीहरू पनि यतिबेला ‘उत्सव’ मनाइरहेका छन्। यसर्थ कि युद्धविरामसँगै इजरायली आक्रमणबाट ज्यान गुमाउनुपर्ने सम्भावना तत्कालका लागि टरेको छ। घर भग्नावशेष भए पनि उनीहरू शरणार्थी शिविरबाट आफ्नो थातथलो फर्कन पाएका छन्। 

इजरायली र प्यालेस्टिनी दुवै पक्ष उल्लासमा रहेका बेला सोमबार बिहानै इजरायलबाट आएको एउटा जानकारीले भने सारा नेपालीहरूलाई नराम्रो झट्का दियो। इजरायली अधिकारीहरूले बिहानै नेपाली राजदूत प्रा धनप्रसाद पण्डितलाई फोनमार्फत् हमासको कब्जाबाट रिहा हुने जीवितहरूको सूचीमा नेपाली विद्यार्थी विपिन जोशी नरहेको जानकारी गराएका थिए।  

यसरी गराइयो जानकारी
‘कूटनीतिक कामको सिलसिलामा धेरै व्यस्त भएकाले हिजो अलिक ढिलो सुतेको थिएँ, निद्रामै रहेका बेला इजरायल सरकारको एक कर्मचारीले आज रिहा हुने जीवितहरूको सूचीमा विपिन जोशी नरहेको बताइन्,’ त्यस्तो खबर सुनेर दुखित राजदूत पण्डितले नेपालखबरसँग भने, ‘करिब आधा घण्टापछि इजरायल डिफेन्स फोर्स (आईडीएफ) को तर्फबाट पनि फोन आयो। त्यसमा पनि त्यही कुराको जानकारी गराइएको थियो।’

राजदूत पण्डितका अनुसार इजरायली सेनाका अधिकारीले दोस्रो फोनमा विपिन जोशीको स्थितिबारे नेपाली राजदूतावास र जोशीका परिवारसँग आफूहरूले कुराकानी गर्न चाहेको बताएका थिए। 

त्यसपछि कञ्चनपुरमा रहेका विपिनका दाजु (ठूलो बुबाको छोरा) किशोर जोशीसँग सम्पर्क गरिएको थियो। 

विपिनकी आमा पद्मा र बहिनी पुष्पा यतिबेला अमेरिकाको नर्थ क्यारोलाइनामा छन्। किशोरले नै बहिनी पुष्पालाई इजरायली पक्षले दिन खोजेको जानकारीबारे अवगत गराएका थिए। त्यसपछि तेलअविवमा रहेका राजदूत पण्डित, नर्थ क्यारोलाइनामा रहेकी पुष्पा र कञ्चनपुरमा रहेका किशोरलाई इजरायली परराष्ट्र मन्त्रालयका अधिकारी र ‘आईडीएफ’ अधिकारीहरूले विपिनबारे जानकारी गराए। 

‘इजरायल–हमास युद्धविरामपछि आज जीवित बन्धकहरू रिहा हुन लागेका छन्,’ इजरायली पक्षको भनाइ थिया, ‘दुर्भाग्यवश जीवित बन्धकहरूको सूचीमा विपिन जोशीको नाम छैन। यसप्रति हामी दुखी छौँ।’  

त्यसो त, रिहा हुने जीवितहरूको सूचीमा विपिन पर्न नसक्ने जानकारी इजरायली पक्षले गत सप्ताहान्तमा पनि गराएको थियो। २४ असोज  (१० अक्टोबर) मा ‘आईडीएफ’का एक अधिकारीले राजदूत पण्डित र अमेरिकामा रहेकी बहिनी पुष्पालाई फोनमार्फत् युद्धविरामसँगै जीवित बन्दीहरू  रिहा हुने भए पनि विपिनको यकिन स्थिति अझै पत्ता नलागेको  र जीवित बन्धकहरूको सूचीमा उनको नाम उल्लेख नभएको जानकारी आफूहरूले पाएको उल्लेख गरेका थिए।  

‘सूचीमा रहेका जीवितहरू रिहा हुन्छन्। मृतकहरूमध्ये ८–९ जनाको शव हामी तत्काल फिर्ता गर्न सक्दैनौँ, सुरुङमा रहेका बेला उनीहरूको मृत्यु भएकाले उनीहरूको शव समेत कहाँ कस्तो अवस्थामा छ, थाहा छैन भन्ने जवाफ हमासले दिएको छ,’ आईडीएफका ती अधिकारीको भनाइ थियो, ‘सायद विपिन पनि त्यही समूहमा थिए कि! हामीले पनि यकिन गर्न सकेका छैनौँ।’ 

नेतान्याहुले गरेको संकेत
अघिल्लो महिना विपिनकी आमा पद्मा र बहिनी पुष्पासँगको भेटमा इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले विपिन जीवितै रहेको कुराप्रति आशंका व्यक्त गरेका थिए। विपिनको रिहाइका लागि दबाब सिर्जना गर्न साउन अन्तिम साता इजरायल गएका पद्मा र पुष्पाको ३ भदौमा प्रधानमन्त्री नेतान्याहुसँग जेरुसेलमस्थित प्रधानमन्त्री निवासमा भेट भएको थियो। 

त्यो भेटमा प्रधानमन्त्री नेतान्याहुले विपिनको परिवार र आफ्नो परिवारको पीडा समान रहेको भन्दै सान्त्वना प्रकट गरेका थिए। त्यसक्रममा आफ्ना दाजु जोनाथन नेतान्याहु पनि प्यालेस्टिनीहरूको आक्रमणमा परी मारिएको घटना पनि उल्लेख गरे। 

सन् १९७५ मा प्यालेस्टिनी अतिवादीहरूले युगाण्डाको एन्टेवे विमानस्थलमा दर्जनौँ इजरायली नागरिकहरूलाई बन्धक बनाएका थिए। बन्धकहरूलाई छुटाउन इजरायली सेनाले विशेष अपरेसन गरेको थियो। त्यसक्रममा इजरायली सेनामा मेजर रहेका प्रधानमन्त्री नेतान्याहुका दाजु जोनाथनको मृत्यु भएको थियो। 

प्यालेस्टिनीविरुद्धको अपरेसनका क्रममा दाजु जोनाथनले ज्यान गुमाएकै कारण इजरायली राजनीतिमा नेतान्याहुको पकड बलियो बनेको मानिन्छ। 

‘आफ्नो दाजुभाइ मारिँदा वा बेपत्ता हुँदा कस्तो पीडा हुन्छ भन्ने कुराको अनुभूति मलाई पनि छ,’ प्रधानमन्त्री नेतान्याहुले पुष्पालाई भनेका थिए, ‘त्यसैले, दाजु विपिन बेपत्ता हुँदा तपाईंलाई परेको पीडा म बुझ्न सक्छु।’  

प्रधानमन्त्री नेतान्याहु बन्धक मामिला सम्बन्धी सल्लाहकार गार्ल हार्थसहित भेटमा उपस्थित थिए भने पद्मा र पुष्पाको साथमा इजरायलका लागि नेपाली राजदूत पण्डित थिए। 

कब्जामा परेको ७ अक्टोबर (२०२३) को घटनामा हमास लडाकुहरूले फ्याँकेको बम विपिनले उनीहरूतिरै फालेका थिए। भेटमा नेतान्याहुले विपिनको यस्तो साहसले गर्दा त्यस दिनको हमास आक्रमणबाट थप–१० जनाको ज्यान जोगिएको भन्दै विपिनको प्रशंसा पनि गरेका थिए।  

त्यसैक्रममा हो, आमा पद्मा र बहिनी पुष्पसँग ‘विपिन जीवित छैनन् कि’ भन्ने आशंका गरेको पनि।  

‘आफू खतरामा परेर पनि विपिनले अरुको ज्यान जोगाएका छन्। त्यसैले उनी इजरायलीहरूका लागि ‘साहसी’ र ‘वास्तविक हिरो’ हुन्,’ प्रधानमन्त्री नेतान्याहुको भनाइ थियो, ‘उनले त्यस दिन हमासविरुद्ध साहसिक काम गरे। त्यहीकारण हमासले विपिनलाई बाँकी नराखेको पनि हुनसक्छ।’ 

विपिनको परिवार

इजरायलको ‘विपिन अस्त्र’ 
ट्रम्पको अग्रसरतामा युद्धविरामको पहल हुँदै गर्दा हमासको कब्जामा रहेका ४८–४९ मध्ये २० जना बन्धक जीवित रहेको अनुमान इजरायली पक्षले गर्दै आएको थियो। जीवित बन्धकहरूका सन्दर्भमा इजरायली पक्षको यो अनुमान सही सावित भएको छ, हमासले २० जीवित बन्धकहरू सोमबार (२७ असोज) मा रिहा गरेको छ।

तर, नेपाली विद्यार्थी विपिनको स्थितिबारे इजरायली पक्षले कुनै जानकारी प्राप्त नभएको बताउनु भने रहस्यको विषय थियो। इजरायली अधिकारीहरू कहिले विपिन जीवित रहेको दाबी गर्दै अरब मुलुकहरूमाथि दबाब सिर्जना गर्न परिवारका सदस्यहरूलाई अनुरोध गर्थे। अर्काेतिर नेपाली अधिकारीहरूलाई भने विपिनको स्थिति अज्ञात रहेको बताउँथे। 

यसैक्रममा ‘द टाइम्स अफ इजरायल’ ले २३ असोजमा एउटा भिडिओ सार्वजनिक गर्‍यो। हमासको कब्जामा रहेका विपिन त्यो भिडिओमा हमास लडाकूहरूलाई आफ्नो परिचय दिइरहेका देखिन्छन्। 

३३ सेकेन्डको त्यो भिडिओ इजरायली सेनाले गत महिना इजरायल पुगेका पद्मा र पुष्पालाई उपलब्ध गराएको थियो।

विपिन हमासको कब्जामा परेको तीन महिनालगत्तै पनि इजरायली सेनाले विपिन जीवितै रहेको दाबीसहित एक भिडिओ सार्वजनिक गरेको थियो। गाजास्थित अल–शिफा अस्पतालको भिडिओ फुटेजमा विपिन टिसर्ट, हाफप्यान्ट र चप्पल लगाएको अवस्थामा थिए। भिडिओ हेर्दा उनलाई हमास लडाकुहरूले एक ठाउँबाट अर्काे ठाउँमा स्थानान्तरण गरेको अनुमान गर्न सकिन्छ।

कार्यभार सम्हाल्न आएलगत्तै गत मंसिर (२०८१) तेस्रो साता नेपालका लागि इजरायली राजदूत सामुलिक एरी बासले पनि विपिन जीवितै रहेको सूचना आफूहरूसँग रहेको बताएका थिए। अरबी मुलुकहरूको स्रोतबाट विपिनको बारेमा सूचना प्राप्त भएको उल्लेख गर्दै इजरायली राजदूत बासले उनी छिटै नेपाल फर्कने दाबी गरेका थिए। 

खासमा ‘विपिन जीवितै छन्’ भन्ने बताएर इजरायलले आफ्नो सम्बन्ध सुमधुर नरहेका अरब मुलुकहरूविरुद्ध नेपाल र परिवारलाई प्रयोग गर्न खोजिरहेको थियो। त्यसैले, इजरायली अधिकारीहरू विपिनको रिहाइका लागि कहिले कतारलाई, कहिले टर्कीलाई त कहिले इजिप्ट र टर्कीलाई नेपालले दबाब दिनु पर्‍यो भन्ने आग्रह गरिरहन्थे। 

इजरायल पुगेका विपिनका आमा र बहिनीलाई त इजरायली अधिकारीहरूले जोर्डनका राजा अब्दुब्ला द्वितीयलाई समेत नेपालले दबाब दिनुपर्‍यो भन्ने ‘सुझाव’ दिएका थिए। जबकि मध्यपूर्वको राजनीतिमा जोर्डनका राजा ‘अमेरिका–इजरायल परस्त’ शासकका रूपमा चिनिन्छन्। 

खासमा छुट्टै प्यालेस्टाइन राज्यको समर्थन गरेको असन्तुष्टिस्वरूप विपिनको रिहाइका लागि जोर्डनका राजालाई गुहार्न यस्तो ‘सुझाव’ दिइएको थियो ताकि आफ्नो प्यालेस्टाइन विरोधी नीतिको विरोध गर्ने   यी मुलुकहरूले हमासलाई सहयोग गरिरहेका छन् भन्ने छाप पार्न सकियोस्।  

शव खोज्न लाग्नसक्छ समय
त्यसो त, सोमबार रिहा भएका जीवितहरूको सूचीमा विपिन नपर्नु भनेको उनको मृत्यु भइसक्यो भन्ने होइन। तर, गाजामा इजरायलले गरेको आक्रमणमा ठूलो संख्यामा मानिसहरूको मृत्यु भएकाले उनी जीवितै होलान् भन्ने आशा गर्ने ठाउँ भने अब कमै छ। 

जीवित सूचीमा नभेटिएका विपिन साँच्चिकै जीवित छैनन् भने पनि शव खोज्न र परिवारलाई हस्तान्तरण गर्न केही समय लाग्ने राजदूत प्रा पण्डित बताउँछन्। किनभने, भग्नावशेष भएका सुरुङसहितका ठूला–ठूला भवनहरूबाट मृतकहरूको शव निकाल्ने र शवको पहिचान गर्ने काम पक्कै सहज हुनेछैन।  

‘इजरायली पक्षले अहिलेका लागि विपिन जीवितहरूको सूचीमा नभएको जानकारी गराएको छ, शव प्राप्त हुनसक्छ वा हुनसक्दैन भन्ने कुरा पछि थाहा होला,’ राजदूत पण्डित भन्छन्, ‘कसैको शव प्राप्त हुँदा पनि परिवारलाई हस्तान्तरण गर्ने प्रक्रियाका कारण केही दिन लाग्छ।’ 

बन्धकमध्ये ८–१० जनाको मृत्यु ठूलो भवनमाथि भएको इजरायली आक्रमणका क्रममा भएको र आक्रमणका बेला बन्धकहरू भवनमुनिको सुरुङमा रहेको जानकारी हमासले गराएको छ। गाजा सहर नै भग्नावशेषमा परिणत भएकाले सुरुङसहितको त्यो भवन कहाँ थियो भन्न सक्ने स्थितिमा हमास समेत छैन। 

‘यसअघि भएका युद्धविराममा पनि मृतकहरूको शव हस्तान्तरण हुँदा असम्बन्धित व्यक्तिको शव हस्तान्तरण भएको देखिएको थियो,’ राजदूत पण्डितले भने, ‘त्यसैले, कुनै व्यक्तिको शव प्राप्त भयो भने पनि त्यो व्यक्ति को हो भन्ने पहिचानका लागि परिवारको डीएनए परीक्षण गर्नुपर्ने हुन्छ। त्यसैले, विपिनको शव प्राप्त भयो भने पनि परिवारले प्राप्त गर्न समय लाग्न सक्छ।’
 
जीवितहरूको सूचीमा नरहे पनि विपिन मृतकहरूको सूचीमा पनि छैनन्। भनिन्छ, कालो बादलमा पनि चाँदीको घेरा हुन्छ। विपिनको सन्दर्भमा पनि यो भनाइ लागू होस्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad