राजनीति


जोर्डनका राजालाई चिठी लेखेर राष्ट्रपति पौडेलले डायल गरेको ‘रङ नम्बर’

जोर्डनका राजालाई चिठी लेखेर राष्ट्रपति पौडेलले डायल गरेको ‘रङ नम्बर’

सीताराम बराल
भदौ ११, २०८२ बुधबार २१:२३, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार (१० भदौ) जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई पत्र लेखेका भन्ने खबर सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले प्रकासित गर्‍यो। 

राष्ट्रपति पौडेलले जोर्डनी राजा अब्दुल्ला द्वितीयलाई पत्र लेख्नुको कारण थियो- हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइमा पहल गरिदिन आग्रह गर्नु।

समाचारमा उल्लेख भएअनुसार, विपिन जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि यथाशक्य पहल गरिदिन राष्ट्रपतिले राजा अब्दुल्ला द्वितीयसँग आग्रह गरेका छन्। 

विपिनको सन्दर्भमा जोर्डनका राजाले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा पनि त्यो समाचारमा उल्लेख छ।

पटक–पटकको पहल, नआएको परिणाम
विपिनको रिहाइका लागि पहल गरिदिन हमाससँग सम्बन्ध रहेका भनिएका विभिन्न राष्ट्रका आफ्ना समकक्षीसँग यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रत्यक्ष भेटवार्ता र फोनवार्ताका क्रममा आग्रह गरिसकेका छन्।

त्यसमध्ये प्रधानमन्त्री ओलीले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई ७ चैत (२०८१) र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खलिललाई २८ फागुन (२०८१) मा फोन गरी ध्यानाकर्षण गराएका थिए। 

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि विपिनको रिहाइका लागि विभिन्न मुलुकका समकक्षीसँगको भेटवार्ता–फोनवार्तामा आग्रह गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत यो विषय उठाएकी थिइन्।

आफूहरूले गरेका पहलहरूको संकलित वृत्तान्त प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा. राणाले २ भदौको फेसबुक पोस्टमार्फत् दिएका छन्।

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा. राणाले गरेको पोस्टमा आ–आफ्ना जोर्डनी समकक्षीसँग विपिनका विषयमा कुराकानी गरेको उल्लेख थिएन।

गत वर्ष नेपाल भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमद अल थानीसँगको ११ वैशाख (२०८१) को भेटवार्तामा राष्ट्रपति पौडेलले पनि विपिनको रिहाइका लागि आग्रह गरेका थिए।

कतारका राजा अल थानीले बेपत्ता विपिनको रिहाइका लागि विगतमा आफूहरूले निकै चासो लिएर पहल गरेको स्मरण गराउँदै अबपनि थप पहल गर्ने पनि बताएका थिए। 

वार्ताका लागि हमासले कतारमै कार्यालय स्थापना गरेको र इजरायल–हमासबीच हुने युद्धविरामहरूमा मध्यस्थको भूमिका निर्वाह गर्ने गरेका कारण विपिनको रिहाइका सन्दर्भमा नेपालले कतारबाट धेरै अपेक्षा गरेको थियो।

त्यहीकारण यसबीचमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरूले कतारका आफ्ना समकक्षीहरूसँग विपिनको रिहाइमा पहल गरिदिन आग्रह गर्दै आएका थिए।  

तर, कतार लगायत हमासप्रति सहानुभूति राख्ने राष्ट्रहरूसँगको आग्रहका बाबजुद विपिनको स्थितिसमेत पत्ता लाग्न सकेको छैन।

यसै सन्दर्भमा विपिनका आमा र वहिनीसँगको भेटपछि राष्ट्रपति पौडेलले जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई पत्र लेखेर सहयोगको आग्रह गरेका हुन्।

प्रश्न उठ्छ, हमाससँग सम्बन्ध रहेको मुलुक कतारका राजा, टर्कीका राष्ट्रपति, इजिप्टका राष्ट्रपतिसँग गरेको आग्रहको परिणाम नआएको स्थितिमा जोर्डनका राजालाई पत्रमार्फत् राष्ट्रपति पौडेलले गरेको आग्रहको परिणाम आउला त!

जोर्डनी राजासँग राष्ट्रपति पौडेलले गरेको आग्रहको परिणाम कस्तो आउला भन्ने बुझ्न हमास–प्यालेस्टाइन र इजरायलसँग जोर्डनको सम्बन्ध कस्तो छ भन्ने बुझ्नुपर्छ।

प्यालेस्टाइन–जोर्डन सम्बन्ध
इजरायल अधीनस्थ दुई भूभाग– गाजा र वेस्ट ब्याङ्क प्यालेस्टिनी बहुल क्षेत्र हुन्। प्यालेस्टिनी समुदायलाई प्रतिनिधित्व विभिन्न संगठन छन्, त्यसमध्येको एक  शक्तिशाली संगठन हमास हो।

गाजामा जारी इजरायली आक्रमणअघि गाजाको प्रशासन हमासको नियन्त्रणमा थियो। निर्वाचनमा विजय प्राप्त गरेर नै उसले गाजामा शासनको वैधता प्राप्त गरेको थियो।

तर, अर्को प्यालेस्टिनी भूमि ‘वेस्ट ब्याङ्क’मा भने प्यालेस्टिनी मुक्ति संगठन (पीएलओ) ले प्रशासन सञ्चालन गर्दै आएको छ, जसको नेतृत्व प्यालेस्टिनी नेता मोहम्मद अब्बासले गर्दै आएका छन्।

राष्ट्रपति पौडेलले पत्र लेखेका राजा अब्दुल्ला द्वितीयले नेतृत्व गरेको मुलुक जोर्डनको सिमाना मोहम्मद अब्बासको ‘पीएलओ’ नियन्त्रित ‘वेस्ट ब्याङ्क’ सँग जोडिएको छ।

हमासको प्रभाव रहेको गाजाभन्दा ‘पीएलओ’को प्रभाव रहेको ‘वेस्ट ब्याङ्क’को क्षेत्रफल र जनसंख्या बढी छ।

अनि, गाजा वल्लो छेउमा पर्छ भने वेस्ट ब्याङ्क पल्लो कुनामा। बीचमा इजरायल छ। प्यालेस्टाइन (गाजा र वेस्ट ब्याङ्क) को जोर्डनसँग सीमा जोडिएको भए पनि हमासको प्रभाव रहेको गाजा भने जोर्डनबाट निकै टाढा पर्छ।

‘वेस्ट ब्याङ्क’को सीमा जोडिएकाले इजरायली दमनबाट विस्थापित प्यालेस्टिनी शरणार्थीहरूको ठूलो संख्या जोर्डनमा शरणागत छ। झण्डै २५ लाख प्यालेस्टिनीहरूले जोर्डनमा शरण लिएका छन्।  

झण्डै १ करोड १५ लाख जनसंख्या रहेको जोर्डनका ९७ प्रतिशत मुस्लिम समुदायमध्ये प्यालेस्टिनीहरू पनि उल्लेख्य संख्यामा छन्। त्यहीकारण पनि जोर्डनले प्यालेस्टिनीहरूले इजरायलमा भोग्नुपरेका समस्याहरूलाई नजरअन्दाज गर्न सक्दैन। 

अहिले इजरायलको सिमानाभित्र पर्ने ‘वेस्ट ब्याङ्क’ १९६७ अघि भने जोर्डनको भूभाग थियो। सन् १९४७ मा इजरायलको जन्म भएको तीन वर्षपछि सन् १९५० मा ‘वेस्ट ब्याङ्क’ जोर्डनमा गाभिएको थियो। त्यससँगै वेस्ट ब्याङ्कमा बसोबास गर्ने प्यालेस्टिनीहरू जोर्डनको नागरिक बन्न पुगे। 

त्यहीकारण प्यालेस्टिनीहरूका लागि जोर्डनको संसदमा ३० सिट छुट्ट्याइयो। तर सन् १९६७ को इजरायल–अरब युद्धमा इजरायलले ‘वेस्ट ब्याङ्क’ माथि कब्जा जमायो, जुन नियन्त्रण अहिलेसम्म कायम छ– तर, स्वशासित इलाकाका रूपमा।

‘स्वशासित इलाका’ का रूपमा रहेको आफ्नो पूर्वभूमि ‘वेस्ट ब्याङ्क’ स्थित रमाल्लाहमा जोर्डनले सम्पर्क कार्यालय राखेको छ। उता, जोर्डनको राजधानी अम्मानमा पनि प्यालेस्टिनी प्रशासनको कार्यालय छ।

जोर्डन र प्यालेस्टाइन दुवै अरब लिग, युनियन अफ मेडिटेरियन र अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसनको सदस्य छन्।

२३ अक्टोबर २०२३ मा हमासले जब इजरायलमाथि आक्रमण गर्‍यो, त्यसक्रममा ‘बन्धक बनाइएकाहरूको मुक्ति’ र ‘हमासलाई निर्मूल पार्ने’ भन्दै इजरायलले गाजामाथि आक्रमण सुरु गर्‍यो।

त्यसपछि जोर्डन र इजरायलबीचको सम्बन्धमा खटपट सुरु भयो। जोर्डनले आफ्ना राजदूतलाई तेलअविवबाट फिर्ता नै बोलायो।

हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायली राजदूतले केही दिनका जोर्डन छाडेका थिए। जोर्डनले अहिलेसम्म उनलाई फिर्ता हुने अनुमति नै दिएको छैन। 

त्यसबाहेक इजरायली आक्रमण सुरु भएपछि जोर्डनले गाजामा मानवीय सहायता पठायो। अमेरिका, फ्रान्स, नेदरल्यान्ड्स लगायतका मुलुकका वायुसेनासँगको सहकार्यमा उसले हवाइ मार्गबाट गाजामा सहायता सामग्री खसाल्ने काम पनि गर्‍यो। 

इजरायलमाथि हमासको आक्रमणले मध्यपूर्वको भूराजनीतिमा प्रभाव पार्ने क्रममा इजरायल–जोर्डन सम्बन्धलाई समेत असर गरे पनि मध्यपूर्वमा इजरायलसँग राम्रै सम्बन्ध भएको मुलुकमा पर्छ, जोर्डन।

सबैतिर शत्रु मात्रै देख्ने रोग लागेको इजरायल जोर्डनलाई ‘हमासको मतियार’ मुलुक मान्छ। जबकि जोर्डनको सम्बन्ध गाजामा प्रभाव रहेको ‘हमास’भन्दा बढी ‘वेस्ट ब्याङ्क’मा प्रशासन चलाइरहेको ‘पीएलओ’ सँग हो। र, त्यो सम्बन्धको कारण मुस्लिम नाता र सीमाको साझेदारी हो।

विपिनको रिहाइका लागि राष्ट्रपति पौडेलले जोर्डनका राजालाई पत्र लेख्नुको कारण हमाससँग जोर्डनको सम्बन्ध राम्रो सुमधुर छ भन्ने विश्वासको उपज हो। जोर्डनको सम्बन्ध प्यालेस्टाइनको ‘पीएलओ’सँग हो, ‘हमास’सँग होइन भन्ने जानकारी भइदिएको भए परिणाम नै नआउने गरी चिठी लेखिने थिएन।

रोग एउटा, औषधि अर्कै
विपिनको रिहाइका लागि दबाब सिर्जनाका लागि इजरायल पुगेर फर्केका आमा पद्मा र बहिनी पुष्पा जोशीले आइतबार (८ भदौ) राष्ट्रपति पौडेलसँग भेट गरेका थिए।

त्यसक्रममा उनीहरूले विपिनको रिहाइका लागि आवश्यक पहल गरिदिन राष्ट्रपतिसँग आग्रह गरेका थिए। पीडित परिवारले राष्ट्राध्यक्षसँग यस्तो आग्रह गर्नु स्वाभाविकै थियो। 

राससले उल्लेख गरेअनुसार सो अवसरमा राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए। 

जोर्डनी पक्षलाई पनि अनुरोध गरिदिन पद्मा र पुष्पाको आग्रह थियो। त्यसपछि नै राष्ट्रपति पौडेलले जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई पत्र लेख्ने निर्णय गरेका हुन्। 

इजरायल भ्रमणमा रहँदा पद्मा र पुष्पाले १ भदौमा इजरायली राष्ट्रपति इशाक हेर्जोगसँग भेटवार्ता गरेका थिए। ३ भदौमा उनीहरूको भेटवार्ता प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुसँग भयो।

भेटमा राष्ट्रपति हेर्जोगले जोर्डनसँग पनि आग्रह गर्न सुझाव दिएका थिए।

‘विपिनको रिहाइका लागि नेपालले हमाससँग सम्बन्ध रहेका इजिप्ट, कतार, टर्की लगायतका मुलुकसँग आग्रह गरे पनि जोर्डनसँग नेपालको कुराकानी भएको छैन,’ राष्ट्रपति हेर्जोगको सुझाव थियो, ‘हमाससँग राम्रो सम्बन्ध रहेकाले जोर्डनलाई पनि हमासमाथि दबाब बढाउन आग्रह गर्नुपर्‍यो।’

प्रधानमन्त्री नेतान्याहुले भने यस्तो सुझाव दिएका थिएनन्। हुनसक्छ, विपिनको मामिलामा जोर्डनले केही गर्न सक्छ भन्ने विश्वास नभएकैले नेतान्याहुले ‘बेकामे सुझाव’ दिएनन्।  

हो, प्यालेस्टाइन मामिलाका विषयलाई लिएर इजरायल–जोर्डनबीच तिक्तता छ। तर पनि जोर्डन नै त्यस्तो मुलुक हो, जसले इजरायल–इरान युद्धमा अप्रत्यक्ष तबरमा सधैँ इजरायललाई साथ दिँदै आएको छ।

इजरायल र इरानको सीमा आपसमा जोडिएको छैन। त्यसैले, दुई मुलुकबीचको युद्धमा प्रहार हुने ड्रोन वा मिसाइल जोर्डनको आकाश हुँदै अघि बढ्छन्।

तर, सम्भव भएसम्म जोर्डनले इरानले इजरायलविरुद्ध प्रहार गरेका ड्रोन र मिसाइल आफ्नै आकाशमा झारिदिन्छ।

गत जेठमा भएको १२ दिने इरान–इजरायल युद्ध र त्यसअघि गत साल तेहरानमै हमास नेता इस्माइल हानियाको हत्याको बदला लिने क्रममा इरानले प्रहार गरेका ड्रोन र क्षेप्यास्त्रहरू जोर्डनले आफ्नो आकाशमा निस्क्रिय पारिदिएको थियो। यो काम उसले अमेरिका र इजरायलको समन्वयमा गरेको थियो।

१२ दिने युद्धमा भने इरानले इजरायलविरुद्ध सुपरसोनिक मिसाइलहरू प्रयोग गर्‍यो। अत्यन्त वेगवान् र शक्तिशाली भएका कारण ती मिसाइललाई जोर्डनले आफ्नो आकाशबाट खसाल्न सकेन। सुपरसोनिक मिसाइलहरूले इजरायलमा केही क्षति पुर्‍यायो। 

प्यालेस्टिनी मामिला इजरायल–जोर्डन सम्बन्धको पेचिलो विषय भए पनि जोर्डनका शक्तिशाली राजा अब्दुल्लाको अमेरिकासँग अत्यन्त निकटको सम्बन्ध छ। यही सम्बन्धका कारण जोर्डनलाई ‘नेटो सदस्यता नभएको अमेरिकाको भरपर्दो सहयोगी राष्ट्र’ भनिन्छ र जोखिम बढ्दा अमेरिकी आग्रहमा इजरायलको सहयोगका लागि अघि सर्छ।

अमेरिकासँगको सुमधुर सम्बन्धकै कारण इजरायल मामिलामा जोर्डनका राजाले अक्सर अमेरिकी इच्छा विपरीतका कदम चाल्दैनन्।

प्यालेस्टाइन मुद्दामा जोर्डनभन्दा बढी सहानभूति राख्ने र कतिपय सन्दर्भमा सहयोग पनि गरेका कतार, इजिप्ट, टर्की जस्ता मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखलाई नै नेपालले विपिनको रिहाइका लागि आग्रह गरिसकेको स्थिति छ। तर पनि परिणाम प्राप्त हुनसकेको छैन।

यस्तो स्थितिमा अमेरिकासँग सुमधुर सम्बन्ध रहेको र इजरायल–इरान युद्धमा अप्रत्यक्ष रूपमा इजरायललाई सघाउँदै आएका जोर्डनका राजाले विपिनको रिहाइका लागि हमाससँग अनुरोध गर्न सक्लान् कि नसक्लान्? अनुरोध गरेछन् नै भने पनि परिणाम कस्तो आउला? यो सोचनीय विषय हो।

खासमा इजरायली आक्रमणका कारण हमास आफै अलगथलग स्थितिमा छ। आफ्नै नेता–कार्यकर्ता के कति बाँचेका छन्, थाहा पाउने स्थितिमा ऊ छैन। गुप्तचरी सूचनामा अब्बल मानिने इजरायललाई समेत हमासको कब्जामा रहेका बाँकी ५० बन्धकमध्ये कतिको मृत्यु भयो, कति जीवित छन्– सबै सूचना छ, विपिनबारे भने सूचना छैन।

अहिले ख्याल गर्नुपर्ने विषय भनेको विपिनको वास्तविक स्थितिको जानकारी पत्ता लगाउनु हो। गाजामा इजरायली आक्रमण र युद्धका बीच विपिनको वास्तविक स्थिति पत्ता लाग्छ भन्ने आशा वा सोचाइ व्यावहारिक होइन। 

विपिनको स्थिति तब पत्ता लाग्न सक्छ, जब गाजामा शान्ति कायम हुन्छ। विपिनको स्थितिबारे जानकारी र जीवित छन् भने रिहाइका लागि पहिलो सर्त नै गाजामा शान्ति स्थापना हो। त्यसबाहेकका ‘पहल’हरू देखावटी कुरा मात्र हुन्।

विपिनको स्थितिबारे हामी जानकारी चाहन्छौँ र उनी सुरक्षित–जीवित छन् भने रिहाइका लागि दबाब दिनुपर्ने इजरायललाई हो। त्यो चाहिँ नगर्ने, तर वरिपरिका देशका राजा, राष्ट्रपति, प्रधानमन्त्री वा परराष्ट्रमन्त्रीलाई मात्र गुहारिरहन्छौँ भने त्यो ‘रङ नम्बर’ मा गरेको ‘डायल’ मात्रै हो।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad