राजनीति


राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्वप्रति प्रधानमन्त्रीले देखाइन् चासो

अध्यक्ष दाहालले दिए दलहरूसँग छलफल गर्न सुझाव
राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्वप्रति प्रधानमन्त्रीले देखाइन् चासो

नेपालखबर
असोज २७, २०८२ सोमबार ११:५७, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा जेनजीलाई प्रतिनिधित्व गराउने विषयमा चासो व्यक्त गरेकी छन्। आइतबार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो चासो राखेकी हुन्।

प्रधानमन्त्री कार्कीसँगको भेटमा राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्वको विषयमा पनि छलफल भएको राष्ट्रिय सभाका अध्यक्ष दाहालले बताएका छन्। 

राष्ट्रिय सभामा आगामी फागुन २१ गतेबाट १८ जना सदस्यको पदावधि सकिँदैछ। रिक्त पदमा निर्वाचन गराउने विषयमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग परामर्श गरेका हुन्। त्यसक्रममा कार्कीले जेनजीको प्रतिनिधित्वको विषयमा चासो राखेको अध्यक्ष दाहालले बताए। 

‘छलफलमा जल्दोबल्दो शक्तिको रूपमा उदाएको जेनजीलाई पनि राष्ट्रियसभामा समावेश गर्ने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभयाे,’ अध्यक्ष दाहालले भने, ‘राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्वाचन आयोगको कार्यतालिकामा प्रधानमन्त्री कार्की सहमत देखिनु भएको छ।’

‘फागुन २० गते राष्ट्रिय सभाका १८ सदस्यको पदावधि सकिन्छ। त्यसको लागि निर्वाचन गर्ने विषयमा छलफल भयो। दुईदिन अगाडि मैले निर्वाचन आयुक्तसँग पनि यस विषयमा छलफल गरेको थिएँ,’ दाहालले भने, ‘निर्वाचन आयोगले माघ ११ गते निर्वाचन गर्ने भनेर डिसिजन गरिसकेको छ। उनीहरुले आफ्नो कार्यतालिकामा राष्ट्रिय सभाको निर्वाचनलाई पनि राखिसकेका छन्।’

अब सरकारसँग समन्वय गरेर अघि बढ्ने विषयमा प्रधानमन्त्री कार्कीसँग छलफल भएको उनले बताए।

‘उहाँसँग जेनजीको प्रतिनिधित्व गर्ने सन्दर्भमा पनि कुराभयो,’ दाहालले भने, ‘जेनजीको पनि जल्दोबल्दो कुरा छ। अब भोट हाल्ने स्थानीय तहका प्रमुख र उपप्रमुख अनि प्रदेश सभाका माननीयहरूले हो। राजनीतिक सहमति गर्न सकियो भने हुन्छ भन्नेसम्मको सुझाव मैले दिएको छु। त्यसका लागि सरकारले राजनीतिक सहमती गर्नुपर्‍याे दलहरुसँग। किनभने भोटर नै चेन्ज गर्न त सकिँदैन।’

प्रधानमन्त्री कार्की राष्ट्रिय सभालाई छठपछि सञ्चालन गर्ने विषयमा सकारात्मक रहेको उनले बताए।

‘सिंहदरबारस्थित संसद सचिवालयको कृषि समितिको हललाई राष्ट्रिय सभाको बैठक कक्ष बनाउन सकिने प्रस्ताव मैले राखेको छु,’ उनले भने, ‘त्यो तयारी अघि बढाउने विषयमा पनि मुख्य सचिवलाई प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ।’

राष्ट्रिय सभालाई कसरी सञ्चालन कसरी गर्ने भन्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको दाहालले बताए। ‘राष्ट्रिय सभा एउटा वैधानिक संस्था, जसले ऐन, कानून लगायतका अरु विषय अथवा जनताको सवाल बोल्ने गर्छ। यो सभालाई व्यवस्थित गरेर लैजानुपर्छ भन्नेमा उहाँ (प्रधानमन्त्री) हुनुहुन्छ,’ दाहालले भने। 

उनले सरकारले चाह्यो भने राष्ट्रिय सभाले संवैधानिक प्रक्रियाभित्र रहेर गर्ने सहयोग गर्न आफूहरू तयार रहेको बताए। ‘सरकारले चाह्यो भने कुनै पनि प्रकारको कानूनी प्रक्रिया, संवैधानिक ढंगले अघि बढ्ने कुरा, संविधानको दायराभित्र रहेर गर्ने कुरामा हामी तयार छौँ,’ उनले भने। 

अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसमक्ष सभाका उपाध्यक्ष विमला घिमिरेलाई निवासको उचित व्यवस्था गरिदिन पनि आग्रह गरेको बताए। 

जेनजी आन्दोलनको क्रममा उपाध्यक्ष घिमिरेको सरकारी निवास पनि आगजनी भएको थियो। 

अध्यक्ष दाहालले कानूनी रुपमा राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक, सांसदहरुले पाउँदै आएका सेवा, सुविधा कटौति नगर्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। ‘प्रतिनिधिसभा विघटन भएपनि राष्ट्रिय सभा कायमै रहेकाले त्यहाँका सदस्यहरूले पाउँदै आएको सेवा सुविधा कटौति नगर्न मैले प्रधानमन्त्रीसँग आग्रह गरेको छु,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad