राजनीति


चारबुँदे सुझाव दिँदै बाबुराम भन्छन्: जेनजी विद्रोहको परिणाम के हुन्छ, अझै प्रस्ट भइसकेको छैन

चारबुँदे सुझाव दिँदै बाबुराम भन्छन्: जेनजी विद्रोहको परिणाम के हुन्छ, अझै प्रस्ट भइसकेको छैन

नेपालखबर
असोज २५, २०८२ शनिबार ८:१२, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जेनजी आन्दोलनलाई यसको ऐतिहासिक परिवर्तनको लक्ष्यसम्म पुर्‍याउन चार बुँदामा सुझाव दिएका छन्। 

उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत सुझाव पेस गर्दै जेनजी विद्रोहको परिणाम के हुन्छ भन्ने अझै प्रस्ट भइनसकेको पनि उल्लेख गरेका छन्। 

डा भट्टराईले लेखेका छन्, ‘विगतका आन्दोलनका गल्ती-कमजोरीबाट सिक्दै जेनजी विद्रोहलाई यसको ऐतिहासिक परिवर्तनकारी ध्येयसम्म पुर्‍याउन निम्न कुराहरूमा ध्यान दिऊँ।’

१. अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ: 'सक्सेस ह्याज हन्ड्रेड फादर्स; डिफिट इज ओफन' अर्थात् 'सफलताका सयजना पिता हुन्छन्; असफलता टुहुरो हुन्छ'। नेपालीमा पनि एउटा त्यस्तै भनाइ छ: 'माछा देखे भित्र हात, सर्प देखे बाहिर हात!'

अझैसम्म यो विद्रोहको परिणाम के हुन्छ भन्ने चित्र प्रस्ट भइसकेको छैन। तैपनि अहिले खासगरी जेनजीका वास्तविक प्रतिनिधि को हुन्? यसमा को कसको के के भूमिका रह्यो? आदिबारे केही अन्योलजस्तो देखिनु विडम्बनापूर्ण छ।

यसबारे अन्तरिम सरकार प्रस्ट रहनुपर्छ। भदौ २३ गते जेनजी आन्दोलन सुरु हुँदा जसले औपचारिक रूपमा पहल गरेका र सडकमा नेतृत्व गरेका थिए, तिनलाई नै मुख्य प्रतिनिधि मान्ने र जसले पछि सहयोग गरे तिनलाई सहयोगी मान्ने कुरा नै सही हुन्छ। पछि घुसपैठ गरेर प्रतिगामी नारा लगाउने र गलत हर्कत गर्नेहरूलाई यथोचित व्यवहार गर्नु उचित हुन्छ।

साथै अर्को गम्भीर कुरा, पटकपटक सत्तामा रहेर जसका गलत हर्कतले यो युवाविद्रोह सिर्जना गर्‍यो वा जसले अहिलेको आन्दोलनमा पनि घुसपैठ गरेर/गराएर सार्वजनिक सम्पत्ति नष्ट गराए, तिनैमध्ये कोही साखुल्ले बनेर अहिले गोहीको आँसु झार्दैअघि आउँछन् भने तीबाट पनि सतर्क रहनैपर्छ।

२. अहिलेको अन्तरिम सरकार कसैको दयामाया र कृपाले नभई जेनजी विद्रोहको बलमा र ऐतिहासिक आवश्यकताले गठन भएको हुँदा यसले भित्री-बाहिरी कुनै शक्तिको डरत्रास नमानी आफ्नो निष्ठा आन्दोलनकारीप्रति रहेकोमा प्रस्ट हुँदै प्राप्त कार्यादेश पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्नुपर्छ। सत्कर्मको जस इतिहासले अवश्य दिन्छ भन्ने कुरामा ढुक्क रहनुपर्छ।

३. मुख्य कार्यकारी अंग अन्तरिम सरकारबाहेक राज्यका अरू स्थायी अंगहरू (कर्मचारीतन्त्र, न्यायालय, सुरक्षा अंगहरू, संवैधानिक आयोगहरू आदि) र प्रदेश र स्थानीय सरकारहरूले पनि आफूलाई यो बदलिएको परिवेशमा जेनजी विद्रोहको दूरगामी महत्त्व र असरलाई आत्मसात् गर्दै कुनै किन्तुपरन्तु नगरी सहयोग गर्नुपर्छ। कथंकदाचित् चित्त नबुझे पदत्याग गरेर मार्गप्रशस्त गर्नु उचित हुन्छ तर असहयोग र अन्तरध्वंस गर्नु हुँदैन।

४. लोकतन्त्रमा अर्को महत्त्वपूर्ण तर ओझेलमा पर्दै आएको विषय- विशाल गैरराज्य क्षेत्रका उद्यमी-व्ययवसायी, सार्वजनिक बौद्धिक र आम नागरिकहरूले पनि सचेतनापूर्वक यो अन्तरिम कालमा आफ्नो दायित्व जिम्मेवारीपूर्वक र सक्रियतासाथ निर्वाह गर्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad