तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गते आफ्नो तहबाट प्रहरीलाई बल प्रयोग गर्न आदेश नदिएको स्पष्ट पारेका छन्।
शुक्रबार सञ्चारकर्मीहरूसँग बोल्दै लेखकले प्रहरीलाई बल प्रयोग गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीको रुपमा आफ्नोतर्फबाट बल प्रयोग गर्न आदेश नदिएको स्पष्ट पारे।
भदौ २३ गतेको जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर १९ जना युवाको ज्यान गएपछि आफूले तत्काल गृहमन्त्रीको पदबाट राजीनामा दिएको बताए।
‘बल प्रयोग गर्ने विषयमा तत्कालीन प्रधानमन्त्री केपी ओलीजीले तत्कालीन गृहमन्त्रीले आदेश दिएको हो भन्ने विषयका चर्चाहरू पनि उठेका छन्’ उनले भने, ‘म स्पष्ट रुपमा के आग्रह गर्न चाहन्छु भने यी विषयहरूमा सम्माननीय प्रधानमन्त्री जो सुकै भएपनि, गृहमन्त्रीले आदेश गर्ने विषय होइन। र, त्यस्तो कुनै आदेश गरिएको छैन। प्रधानमन्त्रीका तर्फबाट, मेरो तर्फबाट यो कुरा म स्पष्ट गर्न चाहन्छु।’
निवर्तमान गृहमन्त्री लेखकले भदौ २३ गते साँझ नै गृहमन्त्रीको पदबाट राजीनामा दिएका थिए। त्यसयता शुक्रबार उनी पहिलो पटक मिडियामार्फत आफ्नो धारणा राखेका हुन्।
यसअघि तत्कालीन प्रधानमन्त्री ओलीले पनि गोली हान्न आदेश नदिएको जिकीर गरेका थिए।
लेखकले कानुनी शासनको मान्यताभित्र बसेर काम अघि बढाउन सरकार र जाँचबुझ आयोगलाई आग्रह पनि गरेका छन्। उनले आग्रह, पूर्वाग्रह र प्रतिशोधबाट माथि हटेर काम अघि बढाउनुपर्ने बताए।
‘२३ र २४ गतेको घटनाको छानबिनका लागि आयोग बनेको छ। म अहिले के मात्र आग्रह गर्न चाहन्छु भने,’ लेखकले भने, ‘सरकार, आयोग, राजनीतिक दलहरूले हाम्रा लोकतान्त्रिक मूल्य मान्यता छन्, ती पद्धतिभित्र बसेर मुलुकको संविधान र कानुन बमोजिम आ–आफ्ना काम सम्पन्न गर्नुपर्छ।’
Shares

प्रतिक्रिया