नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले निर्धारित मितिमा चुनाव हुनेमा आफूहरू विश्वस्त हुन नसकेको बताएका छन्।
जेन-जी आन्दोलनपछि केपी शर्मा ओलीले सत्ता छोडेर भाग्नुपरेको थियो। त्यसपछि आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गर्ने म्यान्डेट लिएर सुशीला कार्की प्रधानमन्त्री बनेकी छन्। सरकारले चुनावको लागि स्रोत साधन जुटाएको बताइरहेको छ। निर्वाचन आयोगले चुनावी कार्यतालिका सार्वजनिक गरिसकेको छ।
तर, बिहीबार निवासमा पुगेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहित ९ जना केन्द्रीय सदस्यसँगकाे छलफलमा कांग्रेस नेता सिटौलाले चुनाव हुने भरपर्दाे आधार नै नबनेको बताएका हुन्।
‘निर्वाचन हुन्छ हुँदैन निश्चित छैन। संसद् विघटन छ। बाहिरबाट सरकार बनेको छ। सुरक्षाको केही ग्यारेन्टी छैन,’ सिटौलाले नेपालखबरसँग भने, ‘अहिले पनि कहिँ आगलागी भयो, तोडफोड भयो भने प्रहरी आउँछ कि आउँदैन कुनै संकेत देखाएको छैन। सुरक्षा निकायले सुरक्षा दिन्छ भन्ने जनता विश्वस्त छैनन्।’
उनले पार्टीभित्रको आन्तरिक अवस्थाले पनि चुनावमा जान सक्ने अवस्था नरहेको धारणा राखे।
‘फागुन २१ गते निर्वाचन भन्छन्, भाग लिने भन्छन्, अहिले विशेष महाधिवेशन भन्छन्, लडाईँ गर्छन् पार्टीको हालत के होला? पार्टीमा आगो लाग्यो, संगठनमा आगो लगाएर पार्टी कहाँ सर्भाइबल हुन्छ त? कि त निर्वाचन छोडेर आन्तरिक झगडामा रुमीलनु पर्यो,’ सिटौलाले थपे।
उनले आजै बस्ने पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा पार्टीलाई एकताबद्ध गराएर लैजाने प्रस्ताव राख्ने बताए।
‘संगठनलाई बचाएर राखौँ, सारा मतभेद थाती राख्नुहोस् भन्ने कुरा हो । यसबेला मत विभाजन गर्ने होइन, विभाजित मतलाई रोकेर एकताबद्ध हुने हो भन्ने मेरो मत रहन्छ,’ उनले भने।
जेन-जीको नाममा देशभरीका नेता, पार्टी कार्यालय र सरकारी भवनमा आगो लगाएको बेला पार्टीभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सुरु गरेको हस्ताक्षर अभियान गलत भएको उनको भनाई छ। यसले पार्टीकै संगठनमा आगो लाग्ने, विभाजन गर्ने उनले बताए।
Shares

प्रतिक्रिया