राजनीति


एकैपटक दुई दलसँग एकताको तयारीमा माओवादी, के होला महाधिवेशन?

एकैपटक दुई दलसँग एकताको तयारीमा माओवादी, के होला महाधिवेशन?

सागर न्यौपाने
असोज २०, २०८२ सोमबार २०:४७, काठमाडौँ

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी एकताको अन्तिम गृहकार्यमा जुटेका छन्। यही असोज महिनाभित्र एकता गर्ने उनीहरूको प्रयास छ।

ढिलोमा कात्तिकको दोस्रो हप्ताभित्र एकता भइसक्ने नेताहरू बताउँछन्। 

माओवादी महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अबको दुई दिनभित्र कम्तीमा दुईदलबीच एकता गर्नेबारे निचोडमा पुगिने बताए। 

सोमबार पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक सचिवालय बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले एकताको लागि माधवकुमार नेपालसहितका नेता र महीन्द्रराय यादव तयार भइसकेको दाबी गरे।

‘समाजवादी मोर्चामा भएका सबैसँग एकताको पहल गर्ने काम भइरहेकै छ, माधव नेपाल र महीन्द्रसँग छिट्टै एकता हुनसक्छ, दुई दिनमा त्यसबारे एउटा निष्कर्ष निस्किएला,’ प्रचण्डले बैठकमा भने, ‘अब दुई दिन पर्खौँ। त्यसपछि औपचारिक बैठक गरेर एकताको विषयमा अरु ठोस निर्णय गरौँला।’ 

एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता बेदुराम भुसालले एकताबारे घनीभूत छलफल भइरहेको स्वीकार गरे।

यद्यपि, उनले एकताको डेडलाइन खुलाउन चाहेनन्। 

‘निर्णायक तहमा पुगिसकेको छैन। कुरा भइरहेको छ। सैद्धान्तिक रुपमा त्यतिधेरै भिन्नता देखिँदैन, संगठनात्मक संरचनाको बारेमा छलफल अलिअलि भएको छ, निष्कर्ष निस्किएको छैन,’ भुसालले नेपालखबरसँग भने, ‘दुईतीन दिनभित्र टुंगिने खालको होइन। केही समय लाग्छ।’

विभिन्न मोडलमा छलफल भइरहेको उनी बताउँछन्। 

‘दुई अध्यक्ष नराख्ने नै हुन्छ,’ भुसालले थपे, ‘पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखेर अगाडि–पछाडि कसरी मिलाउने भन्ने छ। नेकपा बाहेक अरू विकल्पमा जान सकिँदैन। नेकपा नै राखेर अगाडि–पछाडि पहिचान छुट्टै चाहियो नि त।’ 

एकता गर्न हतार नगर्ने र प्रभावकारितामा जोड दिइने भुसाल दाबी गर्छन्। 

‘तत्काल एकता गरिहाल्न दुई दलबीच कुरा मिल्नुपर्‍यो, एउटाको कुरा मिलेर हुँदैन,’ उनले भने, ‘फेरि हामीले अरु दललाई पनि सहमतिमा लिएर एकता गरौँ भनेका छौँ। छिट्टै हुन पनि सक्छ, ढिलो हुन पनि सक्छ। कुरा मिल्दै गयो भने छिट्टै होला। विप्लव, अशोक राईजी, अरु कतिपय साना समूहसँग कुरा गरौँ, मिलेसम्म धेरैसँग एकता गर्दा राम्रो होला भन्ने छ। त्यसो गर्दा समय धेरै लाग्ला।’ 

नेपाल समाजवादी पार्टीका अध्यक्ष महीन्द्र राय यादवले एकताको सबै तयारी लगभग पूरा भएको दाबी गरे।

‘एकता हुन्छ। भोलि समाजवादी मोर्चाको बैठक छ, त्यसपछि मिति तय हुन्छ। सकेसम्म असोज अन्तिमसम्म गर्ने भन्ने छ। कात्तिक दोस्रो हप्ताभित्र एकता भइसक्छ,’ यादवले भने, ‘अब धेरै समय नलगाउने भन्ने छ, समाजवादी मोर्चाको सबै घटकबीच एकता हुन्छ।’ 

तर, सोमबारको बैठकमा प्रचण्डले विप्लव नेतृत्वको नेकपासँग अहिले एकता प्रक्रियाको सुरुवात नै नभएको बताएका छन्। 

‘विप्लवजी अहिले नै पार्टी एकता गरेर जाने विषयमा त्यति धेरै तयार भइसक्नुभएको छैन, यद्यपि संवाद जारी छ,’ प्रचण्डले बैठकमा भने। 

रोकिन्छ माओवादी महाधिवेशन? 
जेन–जी आन्दोलनपछि नेपाली राजनीतिमा बदलाव आएको छ। मुख्य राजनीतिक दलका शीर्ष नेताले पार्टी नेतृत्व छोड्नुपर्ने दबाब अत्यधिक छ। सोहीकारण माओवादीले मंसिर अन्तिम साता महाधिवेशन गर्ने मिति तोकेर केन्द्रीय समितिलाई महाधिवेशन आयोजकमा रुपान्तरण गरिसकेको छ। 

एकीकृत समाजवादी र नेसपा लगायतदलसँग पार्टी एकता भयो भने महाधिवेशन हुन्छ त? 

माओवादी महाधिवेशन आयोजक समितिका एक सदस्यले त्यसबेला महाधिवेशन नै आवश्यक नपर्ने बताए। 

‘एकता भयो भने महाधिवेशन गर्नै परेन, नयाँ कोर्समा जान्छ,’ ती नेताले भने, ‘यदि एकता भएन र एक्लै जानुपर्‍यो भने महाधिवेशनमा जाने र नयाँ नेतृत्व चुन्ने योजना हो। तर, एकतापछि सल्लाह गर्छाैं कसरी जाने भनेर।’

महाधिवेशन आयोजक समिति सदस्य शक्ति बस्नेतले एकतापछि एकताकै महाधिवेशन हुने बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad