राजनीति


स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यकः उपेन्द्र यादव

स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यकः उपेन्द्र यादव

नेपालखबर
असोज २०, २०८२ सोमबार १९:४६, सिरहा

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि, जनआकांक्षा सम्बोधन र राजनीतिक स्थायित्वका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पुनःसंरचना आवश्यक रहेको बताएका छन्।

आज लहानमा जसपा जिल्ला समितिद्वारा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपरिहार्य भएको बताए। वर्तमान प्रणालीले भ्रष्टाचारलाई मलजल गरेकाले यसको पुनःसंरचनाको विकल्प नरहेको उनको भनाइ थियो। 

यादवले भने, ‘हाल चुनाव जित्न करोडौँ खर्च गर्नुपर्ने बाध्यता छ। यस्तो प्रणालीमा निर्वाचित हुने प्रतिनिधिहरू जनताको सेवा होइन, भ्रष्टाचार गरेर लगानी असुल गर्न थाल्छन्। त्यसैले भ्रष्टाचारको मूल नास गर्न निर्वाचन प्रणाली परिवर्तन गरेर पूर्ण समानुपातिक बनाउनु आवश्यक छ।’

पछिल्लो १० वर्षमा ११ पटक सरकार परिवर्तन हुनु संसदीय व्यवस्थाको अस्थिरता र असफलताको प्रमाण भएको बताउँदै उनले यस्तो व्यवस्थाले नीति निर्माणमा स्थायित्व दिन नसक्नुका साथै जनताको विश्वास पनि जित्न नसक्ने दाबी गरे।  

अध्यक्ष यादवले संसद्ले कानुन मात्रै बनाउने र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई कार्यकारिणी प्रमुख बनाउने  प्रणालीले मात्र स्थायित्व र जवाफदेहिता आउन सक्ने धारणा राखे। उनले जनसङ्ख्याको आधारमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व हुनुपर्ने माग गर्दै वर्तमान प्रतिनिधित्व प्रणालीले विशेष वर्ग र शक्तिशाली दलहरूलाई मात्र लाभ पुर्‍याएको आरोप लगाए।

‘जेनजी’ का आवाज सम्बोधनका लागि संविधान पुनर्लेखन गर्न आवश्यक रहेको पनि उनको जोड थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad