राजनीति


गृहको पत्रमा अध्यक्ष कार्कीको प्रतिक्रिया: जाँचबुझ आयोगलाई देखाएर फौजदारी अनुसन्धान रोक्न मिल्दैन

गृहको पत्रमा अध्यक्ष कार्कीको प्रतिक्रिया: जाँचबुझ आयोगलाई देखाएर फौजदारी अनुसन्धान रोक्न मिल्दैन

गृहमन्त्री ओमप्रकाश अर्याल र आयोग अध्यक्ष गौरीबहादुर कार्की


नेपालखबर
असोज २०, २०८२ सोमबार १७:४२, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको अनुसन्धान गर्न गठित न्यायिक जाँचबुझ आयोगले कुनै पनि आपराधिक घटनाको अनुसन्धान गर्न आयोगको काम–कारबाहीले बाधा नपुग्ने स्पष्ट पारेको छ। योसँगै आन्दोलनमा घुसपैठ गर्ने, विध्वंश मच्चाउने र लुटपाटमा संलग्न हुनेलाई कारबाही गर्न प्रहरीलाई बाटो खुला गरिदिएको छ। 

नेपालखबरसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले फौजदारी अपराधका घटनामा प्रमाणअनुसार अनुसन्धान तहकिकात गर्न राज्यका अन्य निकायलाई कुनै बाधा नरहेको स्पष्ट पारेका हुन्।

यसअघि गृह मन्त्रायले भदौ २३ र २४ गते भएका घटनाहरूको अनुसन्धान जाँचबुझ आयोगले गरिरहेकाले तत्काल कुनै कारबाही अघि नबढाउन मातहत निकायलाई परिपत्र गरेको थियो।

उक्त परिपत्रलाई लिएर सार्वजनिक तहबाट व्यापक आलोचना भएको थियो।

त्यसप्रति असहमति राख्दै अध्यक्ष कार्कीले नेपालखबरसँग भने, ‘फौजदारी अपराधका घटनामा प्रमाणअनुसार अनुसन्धान प्रक्रिया अघि बढाउनको लागि आयोगको काम कारबाहीले कुनै असर गर्दैन। आयोगको प्रतिवेदन पर्खिराख्नुपर्दैन।’

जाँचबुझ आयोगको कामले नियमित प्रक्रियाबाट अनुसन्धान गरी दोषीलाई कारबाही गर्न कानुनी बाधा नहुने पनि उनले स्पष्ट पारे। 

पूर्वन्यायाधीश समेत रहेका अध्यक्ष कार्कीले भने, ‘अहिले नै अहिले नै अनुसन्धान, तहकिकातको काम–कारबाही गर्न सकिन्छ। आयोगले रोक लगाएको छैन। नियमित प्रक्रियाबाटै जान कानुनले रोकेको छैन। आयोगले पनि रोक्न सक्दैन।’

मन्त्रालयले जेनजी आन्दोलनका क्रममा भएका घटनामा छानबिन गरी प्रतिवेदन दिन जाँचबुझ आयोगले काम गरिरहेको भन्दै त्यससँग जोडिएका घटनामा कारबाही नगर्न असोज ९ गते पत्राचार गरेको थियो। 

‘आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने समेतको कार्यादेश रहेको हुँदा आयोगबाट सो कार्यादेश बमोजिम राय सहितको प्रतिवेदन प्राप्त भएपश्चात् नेपाल सरकारले कानुन बमोजिम गर्ने व्यहोरा जानकारी गराइन्छ,’ मन्त्रालयले असोज ९ मा जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारवाही अगाडि नबढाइने तर गैरकानुनी रूपमा भएका र हुने गतिविधिमा कानुनअनुसार कारबाही हुने व्यहोरासमेत सबैमा जानकारी गराइन्छ।’

जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्यामा संलग्न केहीलाई प्रहरीले पक्राउ परेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad