कारोबार


निगमको रेस्क्यु फ्लाइट : ७८ जना काठमाडौंबाट गए, १५७ यात्रु लिएर भैरहवाबाट फर्किँदै

निगमको रेस्क्यु फ्लाइट : ७८ जना काठमाडौंबाट गए, १५७ यात्रु लिएर भैरहवाबाट फर्किँदै

नेपालखबर
असोज २०, २०८२ सोमबार १७:५६, काठमाडौँ

नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धार उडान गरेको छ। 

दिउँसो १ बजे काठमाडौंबाट उड्ने तालिका भए पनि केही ढिलाइ गरी निगमको ए३२० जहाज भैरहवा उडेको थियो। 

नेपाल वायुसेवा निगमका महाप्रबन्धक हंसराज पाण्डेले भैरहवामा रेस्क्यु उडान गरेको नेपालखबरलाई जानकारी दिए। 

निगमकै प्रवक्ता सुवास डाँगीका अनुसार दुबईबाट काठमाडौं आउन समय लागेका कारण उद्धार उडानमा केही ढिला भएको थियो। 

काठमाडौंबाट निगमको जहाजले ७८ यात्रु भैरहवा लगेको र भैरहवाबाट यात्रु लिएर काठमाडौं उडेको उनले जानकारी दिए। 

भैरहवाबाट भने पूर्ण क्षमतामा यात्रु लिएर जहाज काठमाडौं आइरहेको उनको भनाइ छ। 

‘सम्भवतः भैरहवाबाट जहाज काठमाडौं उड्यो होला, यताबाट ७८ जना यात्रु लिएर गएको हो। उताबाट पूर्ण क्षमतामै काठमाडौं आउँदै छ’, डाँगीले भने। 

गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भैरहवाबाट १५७ जना यात्रु उद्धार उडानमार्फत काठमाडौं आएका छन्।

‘अझै चाप छ, टिकट काटेर उड्न नपाएका र टिकट नपाएकाहरु अझै छन्’, उनले भने, ‘यहाँबाट १५७ जना यात्रु लिएर जहाज काठमाडौं उडेको छ।’

प्रधानमन्त्री सुशीला कार्कीको विशेष निर्देशनपछि निगमले भैरहवामा उद्धार उडान गरेको हो। 

आइतबार नै उडान गर्ने तयारी भए पनि निगमले सोमबार मात्र सकिने जनाएको थियो। काठमाडौँबाट जाँदा निगमले ५ हजार रूपैयाँ र भैरहवाबाट उड्दा ७ हजार रूपैयाँ भाडा तोकेको थियो।

यस मानवीय उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुहरूलाई विशेष प्राथमिकतामा राखिएको निगमले जनाएको छ।

उडानमा यात्रा गर्न चाहने यात्रुले अनलाइनबाट पनि टिकट काट्न उक्ने व्यवस्था निगमले मिलाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad