प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन र संवैधानिक परिषद्सँग सम्बन्धित दुवै अध्यादेश फिर्ता लिन आफू तयार रहेको बताएका छन्।
बिहीबार बिहान बालुटारामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेशले अनावश्यक विवाद सिर्जना गरेको भन्दै आफू दुवै अध्यादेश फिर्ता लिन तयार भएको बताएको एक मन्त्रीले पुष्टि गरे।
‘आज विहान अध्यक्ष प्रचण्डसँगको भेटमा प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिन तयार रहेको बताउनुभएको छ’, नेपालखबरसँग ती मन्त्रीले भने, ‘सम्भवतः आज नै अध्यादेश फिर्ता लिने गरी राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भइरहेको छ।’
नेकपा सचिवालयका एक सदस्याका अनुसार प्रधानमन्त्री ओलीले आज (बिहीबार) नै दुवै अध्यादेश फिर्ता लिने तयारी गरेका छन्।
‘बिहान भएको छलफलमा दुवै अध्यादेश फिर्ता लिन्छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, आजै अध्यादेश फिर्ता हुन्छ’, ती सचिवालय सदस्यले नेपालखबरसँग भने।
पार्टीभित्र र बाहिर अध्यादेशको विषयमा चर्को दबाबपछि चार दिनमै प्रधानमन्त्री ओली पछि हट्न बाध्य भएका हुन्।
कारोना संक्रमणको कारण देशव्यापी लकडाउनको अवस्थामा रहेको दलहरुलाई विभाजनलाई खुकुलो बनाउने गरी प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएका थिए।
त्यसविरुद्ध विपक्षी दल मात्रै नभएर पार्टीभित्र समेत चर्को आलोचना भएको थियो। सोमबार नै बसेको सचिवालयका बैठकमा बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीमाथि अध्यादेशको औचित्य बारेमा प्रष्ट पार्न आग्रह गरेको थिए।
सचिवालय सदस्यहरुले स्थायी समितिको बैठक बोलाएर अध्यादेशको विषयमा छलफल हुनुपर्ने माग गरेपछि प्रधानमन्त्री दबाब परेका थिए। त्यसपछि उनले अध्यादेश नेकपातर्फ नभई संघीय समाजवादीतर्फ रहेकोबताएका थिए।
बुधबार राति अध्यादेशलाई असफल बनाउन समाजवादी दल र राष्ट्रिय जनता दलबीच एकताको घोषणा भएको थियो। समाजवादी पार्टीककी उपाध्यक्ष रेणु यादवले समेत नयाँ दल दर्ताका लागि आवश्यक पर्ने संख्या जुटाउन नसकेपछि प्रधानमन्त्री ओली चार दिनमै अध्यादेश फिर्ता लिन बाध्य भएका हुन्।

प्रतिक्रिया