राजनीति


सुदन गुरुङ भन्छन् : पुराना नेतालाई जेल पठाउँछौँ, थप राजनीतिक हिंसा हुन सक्छ

अल जजिरासँगको अन्तर्वार्तामा सुदन गुरुङले भनेका ६ कुरा
सुदन गुरुङ भन्छन् : पुराना नेतालाई जेल पठाउँछौँ, थप राजनीतिक हिंसा हुन सक्छ

नेपालखबर
असोज १२, २०८२ आइतबार १७:२८, काठमाडौँ

आफूलाई जेन जी आन्दोलनको अगुवाका रूपमा उभ्याएका सुदन गुरुङले अलजजिरासँगको अन्तर्वार्तामा केही रोचक र केही चिन्ताजनक कुरा बताएका छन्। 

पहिलो, उनले चुनाव लड्ने घोषणा गरेका छन्। र, जनताले चाहे प्रधानमन्त्रीको उम्मेदवार बन्ने पनि बताएका छन्।

‘उनीहरूले हामीलाई राजनीतिमा तानेका छन्। उनीहरूले चाहेको यही हो भने हामी राजनीति गर्छौं। हामी आउँदो चुनाव लड्छौँ। किनकि हामी पछि हट्दैनौँ,’ गुरुङले भनेका छन्।

उनले देशभर समर्थक परिचालन गरेको दाबी पनि गरे।

उनले आफू स्वतन्त्र उम्मेदवारका रूपमा नभई समूहका रूपमा चुनाव लड्ने बताएका छन्।

‘स्वतन्त्र उम्मेदवारका रूपमा मैले चुनाव लडेँ भने युवाहरूको शक्ति हामीसँग हुने छैन। साथमा हामी बलियो हुनेछौँ,’ उनले भने।

प्रधानमन्त्री बन्ने चाहना छ कि छैन भन्ने प्रश्नमा गुरुङले भनेका छन्, ‘म अझ क्षमतावान व्यक्ति नेपालको प्रधानमन्त्री भएको हेर्न चाहन्छु। अहिले नै म यसका लागि उपयुक्त पात्र हुँ भन्दिनँ। मभन्दा राम्रा उम्मेदवार अरु छन्। म प्रधानमन्त्री हुन्छु कि हुन्न, निश्चित छैन। तर, जनताले मलाई रोजे भने म निश्चय नै उठ्नेछु।’

दोस्रो, पुराना राजनीतिक दलहरूलाई चुनाव लड्न नदिने गुरुङले बताएका छन्। त्यसका लागि भ्रष्टाचार र जेन जी आन्दोलनमा भएको हत्याको अनुसन्धान सुरु गर्ने उनको भनाइ छ। 

‘उनीहरूले चुनावमा भाग लिऊन् भन्ने हामी चाहँदैनौँ,’ गुरुङले भनेका छन्, ‘उनीहरूले चुनावमा भाग नलिने सुनिश्चित हामी गर्नेछौँ। किनकि हामी अनुसन्धान प्रक्रिया तीव्र पार्नेछौँ। र, त्यस्तो अपराधमा संलग्नताको आरोपमा अनुसन्धान भइरहेकाहरू चुनावमा भाग लिन पाउँदैनन्। त्यसैले हामी त्यो अनुसन्धान ठिकसँगले हुने र समयमै हुने सुनिश्चित गर्नेछौँ। ताकि उनीहरूले चुनावमा भाग लिन नपाऊन्।’

मुख्य नेताहरूलाई हिंसा र यत्तिका वर्ष भएका भ्रष्टाचारमा अनुसन्धान गराउने उनको भनाइ छ। पुराना पार्टीहरूमाथि प्रतिबन्ध लाग्नुपर्ने र मुख्य नेताहरू जेल जानुपर्ने उनले बताए।

‘...उनीहरूले अपराध गरिसकेका छन् र म ढुक्क छु यी मान्छेहरू जेल जानेछन्। त्यसैले उनीहरूले चुनावमा भाग लिन सक्ने छैनन्,’ उनी भन्छन्, ‘यसको सुनिश्चितता हामी गर्छौं।’

तेस्रो, पुराना पार्टीहरूले चुनाव जिते त्यसलाई स्वीकार नगर्ने घोषणा उनले गरेका छन्। देशको समृद्धि चाहने कुनै पनि देशभक्त नेपालीले ती पार्टी र नेताहरूलाई सत्तामा देख्न नचाहेको उनको भनाइ छ।

‘केहीगरी उनीहरूले जितिहाले भने पनि हामी त्यसलाई स्वीकार्दैनौँ,’ उनले भनेका छन्। 

पार्टीहरूले एजेन्डा, नेतृत्व र विचारधारामा आमूल परिवर्तन गरेर आए मात्र उनीहरूलाई स्वीकार्न सकिने उनको भनाइ छ। त्यस्तै, राजावादी शक्तिहरूसँग मिल्ने चाहना नभए पनि उनीहरूसँग संवादको चाहना व्यक्त गरेका छन्।

चौथो, राजनीतिक हिंसा अझै हुनसक्ने संकेत उनले गरेका छन्।

‘सायद थप राजनीतिक हिंसा हुनेछ...दुई दिनमै उनीहरूको सबथोक गयो। मलाई थाहा छ, उनीहरू खुब रिसाएका छन्। उनीहरू बदला चाहन्छन्। त्यसैले उनीहरूले हामीलाई दबाउन खोज्ने छन्। त्यसभन्दा अगाडि नै हामी सबै नेपाली एक भएर उनीहरूलाई उठ्न नदिने सुनिश्चित गर्नुपर्छ,’ गुरुङले भनेका छन्।

राजनीतिक हिंसा आफूहरूले नगरेको बरु हिंसाको जवाफ मात्र दिएको उनको तर्क छ।

पाँचौँ, भारत र चीनसँग राम्रो सम्बन्ध कायम गर्ने चाहना गुरुङले व्यक्त गरेका छन्। 

‘हामी छिमेकी बदल्न सक्दैनौँ। त्यसैले उनीहरूसँग मिलेर काम गर्नुपर्ने हुन्छ। उनीहरूले हामीलाई सम्मान गरे भने हामी पनि सम्मान गर्छौं। तर, हाम्रो आन्तरिक मामिलामा कुनै हस्तक्षेप हुनुहुँदैन,’ गुरुङ भन्छन्। 

उनीहरूसँग राम्रो सम्बन्धको पक्षमा आफू रहेको बताउँदै गुरुङले परराष्ट्रनीतिमा यसअघिका सरकारहरूले गल्ती गरेको बताए। आफूहरूले चुनाव जितेपछि राम्रो नीति बनाउने उनको भनाइ छ।

छैटौँ, जेन जी आन्दोलनलाई डिस्कर्डबाट संयोजन गर्न हङकङको प्रदर्शनबाट प्रेरणा लिएको उनले बताएका छन्।

उनले भनेका छन्, ‘यसअघि विरोध प्रदर्शन आयोजना गर्न खोज्दा कम्युनिकेसन च्यानल कमजोर भयो। त्यसैले एकैपटक धेरै मानिससँग सञ्चार गर्न डिस्कर्ड उपयुक्त हुने हामीले ठान्यौँ। हामीले हङकङको प्रदर्शनबाट यो आइडिया लियौँ। जहाँ उनीहरूले प्रदर्शनको स्थान परिवर्तन गरेर सुरक्षा निकायलाई दुविधामा पार्न सिग्नल र डिस्कर्डको उपयोग गरेका थिए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad