वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।
भण्डारीले ५४ जना मिलेर नयाँ दल दर्ता गर्नको लागि बिहीबार आयोगमा निवेदन दिएको जानकारी दिए। उनकाअनुसार सो पार्टीको दर्ता नम्बर ४७७ रहेको छ। दल दर्ताको प्रक्रिया पूरा हुन केही समय लाग्ने उनको भनाई छ।
नागरिकमा आशा र विश्वास सिर्जना गरी नागरिक र मुलुकका बीचमा घनिष्ट सम्बन्ध स्थापित गर्ने उद्देश्यले पार्टी स्थापना गरेको उनले बताए। देशभक्ति, नागरिकतन्त्र एवं प्रगतिशीलताको सिद्धान्तमा विश्वास भएका नागरिकहरु भेला भएर एक मूलधारको राजनीतिक दल स्थापना गरिएको उनको तर्क छ।
उनले भने, ‘हामी निर्वाचन आयोगमा आएर नेपाल नागरिक पार्टी दर्ता गर्नको लागी निवेदन दिएका छौँ। हाम्रो दर्ता नम्बर ४७७ रहेको छ। यसको पुरै प्रक्रिया पूरा हुन केही समय लाग्छ। हामी निरन्तर प्रक्रियामा रहन्छौँ।’
राजनीति सिद्धान्तनिष्ट हुनुपर्ने उल्लेख गर्दै उनले राजनीतिका नाममा भ्रष्टाचार गर्ने छुट कसैले पाउन नहुने बताए। २१ औँ शताब्दीमा गरिबी सह्य हुन नसक्ने पनि उनको भनाई छ।
राजनीति संविधानवादको सीमानाभित्र बाँधिनुपर्ने आफूहरूको मान्यता रहेको उनले बताए।

प्रतिक्रिया