राजनीति


‘नातेदारलाई सीके राउतको हाइहाइ, मधेस विद्रोहका सारथिलाई बाइबाइ’ (भिडिओ)


अनिल यादव
असोज ८ , काठमाडौँ

०७९ को निर्वाचनबाट मधेसको नयाँ शक्तिको रूपमा उदाएको सीके राउत नेतृत्वको जनमत पार्टी यतिखेर गहिरो आन्तरिक संकटमा फसेको छ। जेनजी आन्दोलन लगत्तै पार्टीका उपाध्यक्ष अब्दलुल खान, प्रवक्ता डा. शरद सिंह यादवलगायत ६ जना शीर्ष नेताहरूले एकसाथ राजीनामा दिएका छन्। 

पार्टी अध्यक्ष राउतलाई पद छाड्न २४ घण्टे अल्टिमेटम दिएका उनीहरूले भोलिपल्टै पार्टीभित्रको नातावाद, लोकतान्त्रिक अभ्यासको अभाव र नेतृत्वमा आएको चरम विचलनको आरोप लगाउँदै पार्टी छाडेका हुन्।  

पूर्वप्रवक्ता यादवले सीके राउत र जनमत पार्टी सत्ताकै राजनीतिमा लिप्त भएको र परम्परागत मधेसवादी दलका नेताहरू उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोभन्दा फरक हुन नसकेका कारण पार्टी छाड्न बाध्य भएको बताउँछन्। 

जेनजी आन्दोलन लगत्तै युवाहरूको भावनाको कदर गर्दै राउतले चीनबाटै सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। तर नेपाल फर्केलगत्तै पुराना दलसँगै मिलेर संसद् विघटनको विरुद्धमा जनमत पार्टीका सचेतकको पनि हस्ताक्षर आयो। 

‘यो दोहोरो चरित्र भएन र?’ उनले भने, ‘पार्टीमा केही सल्लाह नै नगरी उहाँले कहिले सांसद पदबाट राजीनामा भन्नुहुन्छ, कहिले संसद् विघटनको विरोध। कहिले आफूखुसी फेसबुकमार्फत मुख्यमन्त्रीलाई राजीनामा माग्नुहुन्छ, कहिले राजीनामा किन नदिएको भनी स्पष्टीकरण सोध्नुहुन्छ, कहिले के। यसले नेतृत्वभित्र स्पष्ट दृष्टिकोणको अभाव र विचलन आएको प्रष्ट देखिन्छ। म त तीन वर्षअघि मात्रै पार्टीमा आबद्ध भएको हुँ तर स्वतन्त्र मधेस अभियानदेखि उहाँसँगसँगै जोडिनुभएको शीर्ष नेता र साथीहरू सबैले उहाँलाई छाड्दै हुनुहुन्छ। यसमा को दोषी होला, आफै अनुमान गर्न सकिन्छ।’

 

यादवका अनुसार पार्टीभित्र असन्तुष्टि बढ्नुको अर्को प्रमुख कारण राउतले पार्टीभित्र विस्तार गरेको व्यापक नातावाद पनि हो। नातेदारलाई सीके राउतले ‘हाइहाइ’ गर्दा पार्टीभित्र मधेस विद्रोहदेखि सँगै होमिएका साथी ‘बाइबाइ’ गरिरहेका छन्। राउतले मुख्यमन्त्रीको सचिवालयदेखि थुप्रै ठाउँमा आफ्ना परिवारका सदस्यलाई पदमा नियुक्त गरेका छन्। 

‘निर्वाचनका क्रममा उहाँले जितेपछि मधेसमा १० लाखलाई रोजगारी दिने भनेर आश्वासन दिनुभयो तर  १४ जनाभन्दा बढी परिवारका सदस्यलाई पदमा नियुक्त गरेको आरोपमा अहिले उहाँमाथि ट्रोल नै बनेको छ, जहाँ पनि आफ्नो दाइ जयकान्त राउतलाई बोकेर हिँड्नुभएको छ,’ उनले भने, ‘पार्टी उपाध्यक्ष, राष्ट्रिय परिषद् अध्यक्ष र संगठन विभाग प्रमुख सबै जिम्मेवारी उहाँलाई नै दिइएको छ। पार्टीभित्र हामीले पटकपटक प्रश्न गर्‍यौँ तर उहाँले सुन्नै चाहनुभएन।’

यादवले जनमत पार्टीभित्र आन्तरिक लोकतन्त्रको अस्तित्व नै नभएको बताए। 

‘पार्टीभित्र असहमति व्यक्त गर्ने वा निर्णयहरूलाई चुनौती दिने अधिकार नै छैन,’ यादवले भने। 

०७९ को निर्वाचनमा राउत नेतृत्वको जनमतसँगै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी उदीयमान शक्तिका रूपमा स्थापित भएका थिए। तर अहिले तीन वटै पार्टीमा नेतृत्वकै कारण संकट उत्पन्न भएको यादवको विश्लेषण छ। 

‘तीन वटै पार्टीमा नेतृत्वले आफूलाई नायकको रूपमा प्रस्तुत गर्न खोजे। आफूभन्दा दोस्रो र तेस्रो तहका नेतालाई अगाडि आउनै दिएनन्, बढी सक्रिय होलान्, आफूलाई उछिन्लान् भन्ने डरले रोक्न थाले। यहीँ समस्या भयो,’ उनी भन्छन्।

जनमत छाडेका नेताहरूले अब ‘युथ फर नेसन’ नामक नयाँ अभियान सुरु गरेका छन्। यादवका अनुसार यस अभियानको उद्देश्य आगामी निर्वाचनमा युवा प्रतिनिधित्व बढाउनु हो।

‘हाम्रो लक्ष्य जेन जी आन्दोलनको जनादेशलाई इमानदारीपूर्वक पूरा गर्नु, भ्रष्टाचार विरोधी प्रयासहरू र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था जस्ता महत्वपूर्ण मुद्दाहरूमा ध्यान केन्द्रित गर्नु हो,’ उनले भने। 

मधेस विद्रोहका सारथीहरूले नै किन छाड्दैछन् सीके राउत? समस्या राउतमा छ या पार्टी छाड्नेहरूमा? मधेसमा नयाँ शक्तिका रूपमा हेरिएको जनमत पार्टीमा किन यसरी आन्तरिक संकटमा फस्दैछ? 

हेर्नुहोस्, राउतको नजिक रहेर पार्टीको प्रवक्ताका रूपमा काम गरेका र हाल शीर्ष ६ नेतासँगै राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका शरदसिंह यादवसँगको कुराकानी नेपालखबर ‘तत्कालै’ :

फोटो/भिडिओ : सरोज नेपाल

असोज ८, २०८२ बुधबार १९:४४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad