राजनीति


पालैपालो गुण्डुमा बोलाएर पदाधिकारीको नाडी छाम्दै ओली

पार्टीपंक्तिलाई ओलीको सन्देश : यो विदेशी षड्यन्त्र हो, हरेस नखानू
पालैपालो गुण्डुमा बोलाएर पदाधिकारीको नाडी छाम्दै ओली

सागर न्यौपाने
असोज ६, २०८२ सोमबार २१:३७, काठमाडौँ

जेन–जी विद्रोहपछि सत्ता छोड्न बाध्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला भक्तपुर गुण्डुमा छन्।

भक्तपुरकै बालकोटमा रहेको घर जेन–जी प्रदर्शनकारीले आगजनी गरेपछि ओलीका लागि पोलिटब्युरो सदस्य महेश बस्नेतले गुण्डुमा राजेन्द्र श्रेष्ठको घर भाडामा लिइदिएका छन्।

सोही घरमा बसेर ओलीले पार्टीका नेताहरूलाई भेट्न बोलाइरहेका छन्। पालैपालो उनीहरूलाई भेटेर तिनको कुरा पनि बुझिरहेका छन्। 

चार दिनको अवधिमा उनले अधिकांश पदाधिकारीसँग भेट गरेर उनीहरूको राय बुझिसकेका छन्।

सेनाको सुरक्षामा एक हप्ता
भदौ २३ गते काठमाडौँ लगायत देशका विभिन्न सहरमा भ्रष्टाचारको अन्त्य, सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्ध फुकुवा, प्रत्यक्ष कार्यकारी व्यवस्था लगायतका माग राखेर जेन–जीले प्रदर्शन गरेका थिए। जुनबेला ओली प्रधानमन्त्री थिए। 

तर, शान्तिपूर्ण प्रदर्शन एकाएक हिंसात्मक बन्न पुग्यो। त्यही दिन २० जना प्रदर्शनकारीको ज्यान गयो।

यसको आक्रोश भोलिपल्ट सरकारी संरचना र नेताहरूको घरमाथि पोखियो। उनीहरूले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय, नेताका घर तोडफोड र आगजनी गरे। संसद् भवन पनि जलाए।

आन्दोलन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिए र बालुवाटारबाटै सेनाको हेलिकप्टर चढेर उनी भागे। तर, आन्दोलनकारीको निसानामा सिंहदरबार, सर्वाेच्च अदालत, राष्ट्रपतिको शीतल निवास पर्‍यो।

उता ओलीलाई भने सेनाले ललितपुरको सैनिक ब्यारेकमा राख्यो। शिवपुरी राखिएको भनिएपनि ओली ललितपुरकै एक सैनिक क्याम्पमा एक हप्ता बसे।

यता, चुनाव गराउने म्यान्डेट दिएर राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरे। 

सुरक्षा अवस्था सामान्य बनेपछि ओली पनि सेनाको बलियो सुरक्षा घेराबाट बाहिर निस्केका हुन्।

बस्नेतले उनका लागि घरको व्यवस्था गरे। ओलीलाई राख्न भक्तपुरमै सुरक्षित घर आवश्यक थियो। त्यस्तै घर उनले फेला पनि पारे। र, ओली १७ आना जग्गामा बनेको साढे दुई तल्लाको सोही घरमा भदौ २ गते प्रवेश गरे।

पदाधिकारीसँग एक्लाएक्लै भेट
अहिले दिनहुँ उनलाई भेट्न बाक्लो संख्यामा नेता–कार्यकर्ता गुण्डु पुग्छन्। ओलीले सम्भव भएसम्मसँग भेट्छन् र नआत्तिन भन्छन्।

उनी सार्वजनिक कार्यक्रममा निस्किएका छैनन्।

उनले पार्टीका पदाधिकारीलाई पालैपालो बोलाएका छन्। सोमबार सचिव लेखराज भट्टलाई भेटे। 

‘अध्यक्षसँग मेरो भेट भयो, समसामयिक विषयमा कुरा भयो,’ भट्टले भने। 

आइतबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई भेटेका थिए। जेन–जी विद्रोहको असर एमालेमा पनि परेको छ। ओलीले राजीनामा दिनुपर्ने कुरा पदाधिकारीले चर्कैसँग उठाएका छन्। 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेले त पहिला पनि उठाएकै हुन्। तर, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिम्सेना लगायतले पार्टी अध्यक्षबाट राजीनामा गर्न सुझाव दिएपछि ओली दबाबमा छन्। त्यही भएर उनले पार्टी बैठक पनि राखेका छैनन्। 

भर्खरै विधान महाधिवेशन गरेर आफ्ना लागि तेस्रो कार्यकाल अध्यक्ष बन्ने बाटो खोलेलगत्तै नेताहरूले राजीनामा माग्न थालेपछि ओलीले पार्टीको बैठक राख्न नसकेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बताउँछिन्। 

‘सबैको माग, उहाँले अध्यक्ष छोड्नुपर्छ र वातावरणलाई सहज बनाइदिनुपर्‍यो भन्ने छ। युवामा पनि तेस्रो पुस्ता आइसक्यो,’ उनले नेपालखबरसँग भनिन्, ‘उहाँले पद हस्तान्तरणको माहोल बनाउनुपर्छ, कमीकमजोरी महसुस गर्नुपर्छ भनेर धेरै नेताले उठाउनुभएको छ।’

तत्काल पार्टीको बैठक राख्नुपर्ने उनले बताइन्। भौतिक रूपमा सम्भव नभए अरु माध्यमबाट भए पनि दसैँअघि बैठक बस्नुपर्ने उनी बताउँछिन्। 

‘बैठक बसेपछि स्थितिको मूल्यांकन हुन्छ। अनि यसरी जाने निर्णय हुन्छ, पार्टीको आधिकारिक धारणा आउन पार्टीको बैठक बस्नैपर्छ,’ शाक्यले थपिन्। 

आफ्नै सरकारले गरेको दमनकै कारण ओली रक्षात्मक बनेको हुनसक्ने उनको भनाइ छ।

‘सरकारमा उहाँको नेतृत्व थियो, सरकार गम्भीर भएन। स्थितिको सही विश्लेषण गरेन र ठूलो मानवीय क्षति भयो, मूल नेतृत्वको हिसाबले यसको जिम्मा अध्यक्षले लिनुपर्छ,’ शाक्यले भनिन्, ‘पदाधिकारीले पनि लिनुपर्छ। रिसारिसबाट हुँदैन। यस्तै बेला संयम, धैर्य, तथ्यगत मूल्यांकन आवश्यक छ। बैठकबाट अध्यक्ष भाग्नु हुन्न।’ 

स्थायी कमिटी सदस्य तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम ओली परामर्शमै रहेको बताउँछन्। 

‘अध्यक्षले सचिवालयका सबै सदस्यसँग व्यक्तिगत रूपमा पछिल्ला घटना र परिवर्तनका विषयमा सरसल्लाह गरिरहनुभएको छ,’ उनले भने, ‘जेन–जी आन्दोलन, त्यसबाट सिर्जित मुलुकको पछिल्लो राजनीति लगायत विषयमा व्यापक परामर्श भइरहेको छ।’

त्यसपछि मात्र पार्टीको सचिवालयको बैठक बस्न सक्ने गौतमको भनाइ छ। 

‘दसैँअगाडि बस्ने प्रयत्न भइरहेको छ। अध्यक्ष परामर्शमै भएकोले त्यसपछि मात्र बैठक आह्वान हुन्छ। माओवादी केन्द्रले बैठक राखिसकेको हुनाले राम्रो होमवर्क गरेर गरौँ भनेर परामर्शमै हुनुहुन्छ,’ उनले थपे। 

अर्का उपाध्यक्ष गुरु बरालले ओली आफ्नो काममा लागिसकेको दाबी गरे। 

‘आजको सूचना प्रविधिको युगमा भर्चुअल भएर पनि बैठक बस्न सक्छ,’ उनले भने, ‘अहिले विभिन्न चुनौतीमा छौँ। संगठित र एकताबद्ध भएर लाग्नुपर्छ भन्ने हो। जेनजीको आन्दोलन अपहरण भयो। देशीविदेशी भित्र छिरेर अपहरण गरे। अब कसरी हामीले लड्ने हो? स्वाधीनताको लडाइँ कसरी लड्ने? यसका लागि पार्टीको बैठक बस्छ।’ 

‘यो विदेशी षड्यन्त्र हो, हरेस नखानू’ 
आफूलाई भेट्न आउने नेतालाई अध्यक्ष ओलीले ढाडस मात्र दिएका छैनन्, फेरि बलियो गरी उठ्ने बताएका छन्।

‘सबैकुरा खानू, हरेस नखानू भन्नुभयो,’ बरालले ओलीको भनाइ उद्धृत गरे, ‘नआत्तिने, सबै कुरा समय परिस्थितिमा बाहिर आउँछ। हाम्रो गल्ती केही छैन। सबै कुरा ठीक हुन्छ। फेरि हामी लयमा आउँछौँ।’ 

ओलीले जेन–जी विद्रोहलाई सामान्य ढंगबाट हेर्न नहुने बताएका छन्। 

‘कसरी विदेशी शक्तिहरू देशको भू–अवस्थामाथि हमला गर्छन्? नेपालको भूराजनीतिमा नियोजित रूपले भएको हमला हो यो,’ बरालले ओलीको भनाइ उद्धृत गरे, ‘केपी ओली माथिको हमला मात्र होइन।’

नेपालको भूराजनीतिमा विदेशी चलखेल बढेको र त्यसको विम्ब पछिल्लो घटनाक्रम भएको ओलीको भनाइ छ।

‘प्रधानमन्त्री भएकोले ममाथि हमला भएको हो भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथिको हमला के? भीम रावलमाथिको हमला किन? यो संयोग मात्र होइन,’ ओलीको भनाइ छ। 

जेनजी प्रदर्शनकारीले जलाइदिएपछि एमालेको कार्यालय टिमले नयाँ ठाउँ खोजिरहेको छ। 

एकदुई दिनभित्र के गर्ने भनेर कार्यालयले निष्कर्ष निकाल्ने प्रचार विभाग प्रमुख गौतम बताउँछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad