नेकपा (माओवादी केन्द्र)का केन्द्रीय समिति विघटन हुने भएको छ।
केन्द्रीय समिति बिघटन गरी महाधिवेशन आयोजक समिति बनाउन माओवादीले असोज ९ गते केन्द्रीय समितिको आकस्मिक बैठक राखेको छ।
आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले केन्द्रीय समिति विघटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
उनका अनुसार असोज ८ गते स्थायी समिति र ९ गते केन्द्रीय समिति बैठक बस्ने छ।
‘मौजुदा केन्द्रीय समिति विघटन गरी अध्यक्षको संयोजकत्वमा महाधिवेशन अयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समितिमा लैजाने तयारी छ,’ बैठकबारे जानकारी गराउँदै सापकोटाले भने, ‘स्थायी समिति बैठक असोज ८ गते र केन्द्रीय समिति बैठक असोज ९ गते बस्ने छ।’
बिहान २ बजेदेखि पेरिसडाँडमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले समसामयिक विषयमा विस्तृत धारणा राखेको र त्यसमा अन्य नेताहरुले समेत टिप्पणी गरेको उनले बताए। त्यस्तै नेतृत्व चयनबारे पनि केन्द्रीय समिति बैठकमा विस्तृत प्रस्ताव लैजाने निर्णय भएको सापकोटाले जानकारी दिए।
‘प्रचण्डले वर्तमान परिस्थितबारे सविस्तार विश्लेषण गर्नुभयो,’ उनले भने, ‘त्यसपछि अरु कमरेडहरूले टिप्पणी गर्नुभयो। नेतृत्वबारे विस्तृत प्रस्ताव पनि केन्द्रीय समिति बैठकमा लैजाने।’
Shares

प्रतिक्रिया