नेपाली कांग्रेसले असोज ५ गतेदेखि पार्टी कार्यालय सफाइ तथा पुनर्निर्माण गर्ने भएको छ।
सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शुक्रबार एक सूचना प्रकाशित गरी ५ गतेदेखि कार्यालयको सरसफाइ गर्ने जनाएका हुन्।
उनले कार्यालय सफाइका निम्ति ‘आवश्यक गर्ने सामग्रीहरू (झाडु, कुचो, खालीबोरा, फोहो उठाउने, वाल्टी, मास्क, पञ्जा) सहित सहभागी’ हुन आह्वान समेत गरेका छन्।
सूचनामा भग्नावशेष भएको पार्टी कार्यालय सबैले एक पटक हेरुन् भनेर भोलिसम्म यथास्थितिमा राख्ने पनि उल्लेख गरिएको छ।
‘सिंगो राष्ट्र शोकमा डुबेको अवस्था भएकोले हामीले पनि पार्टीका साथीहरूले आफ्नो पसिनाले बनाएको भवन जलेर खरानी भएको भग्नाशेष एक पटक हेर्न पाउन् भन्ने मनसायले केही दिन शोक मनाउँदै पार्टी केन्द्रीय कार्यालय असोज ४ गतेसम्म जस्ताको तस्तै राख्ने विचार गर्यौं’ सूचनामा उल्लेख छ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालय बीपी ‘समृति भवन’ पनि आन्दोलनकारीले जलाएर ध्वस्त बनाइदिएका थिए।
असोज ५ गते सम्पूर्ण क्षतिको विवरण सार्वजनिक गर्दै सोही दिनको १ बजेदेखि सरसफाइ गर्ने कांग्रेसले जनाएको छ।
Shares

प्रतिक्रिया