नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी षड्यन्त्रपूर्ण रहेको टिप्पणी गरेका छन्।
बिहीबार च्यासलस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
एमालेले विधान महाधिवेशनमार्फत जेन–जी पुस्ताका मागहरू सम्बोधन गर्नेगरी वक्तव्य सार्वजनिक गरेको भएपनि योजनावद्ध ढंगले राज्यका महत्वपूर्ण निकाय र राजनीतिक दलका कार्यालयहरूमाथि आगजनी गरिएको उनको भनाइ छ।
उनले राज्य संरचना र पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्नुमा बहुदलीय लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गर्ने तत्वहरू तथा व्यवस्था विरोधीको हात रहेको दाबी गरे।
आन्दोलनको नाममा भएको विध्वंस र आगजनीको सबै मिलेर विरोध गर्नुपर्नेमा नेता पोखरेलले जोड दिए।
‘जेनजी पुस्ताका मागहरुलाई सम्बोधन गरिनुपर्छ भन्ने पार्टीको तर्फबाट जारी भएका वक्तव्यहरुमा हामीले उल्लेख गरेका थियौँ। तर त्यसको भोलिपल्ट जुन बितण्डा मच्चाइयो त्यो एकदमै षड्यन्त्रपूर्ण छ भन्ने मलाई लाग्छ’ उनले भने, ‘यो के देखिन्छ भन्दा बहुदलीय लोकतान्त्रिक प्रणालीलाई नसहने तत्वहरूको यसमा हात छ भन्ने अन्दाज गर्न सकिन्छ। होइन भने यस्तो विध्वंसको कुनै आवश्यकता देखिँदैन। यो निकै षड्यन्त्रपूर्ण छ, अपराधिक छ।’
अब पार्टीलाई नयाँ ढंगले उच्च मनोबलका साथ अगाडि बढाउनुपर्ने आवश्यकता रहेको समेत बताए।
Shares

प्रतिक्रिया