बागमती


आगजनीको हप्तादिन पछि फर्किए मुख्यमन्त्री, क्षतिग्रस्त भवनको अवलोकन गर्न पुगे

आगजनीको हप्तादिन पछि फर्किए मुख्यमन्त्री, क्षतिग्रस्त भवनको अवलोकन गर्न पुगे

नेपालखबर
असोज २, २०८२ बिहिबार १८:४०, हेटौँडा

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र मन्त्रीहरूले बागमती प्रदेशका भग्नावशेष मन्त्रालय र मातहतका कार्यालयहरुको अवलोकन गरेका छन्। बिहीबार (आज) मुख्यमन्त्री बानियाँ सहित मन्त्री तथा मन्त्रालयका सचिवहरुले आगजनीबाट क्षति पुगेका मन्त्रालय र कार्यालयहरुको अनुगमन गरेका हुन्। 

गत भदौ २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा प्रदेश सरकारको संरचनाहरुमा क्षति पुगेको थियो। जेन–जीको आन्दोलन पश्चात् पहिलो पटक प्रदेश राजधानी फर्किएका मुख्यमन्त्रीले लोकतन्त्र र संविधान जोगिएकोमा गर्व गर्नुपर्ने बताए। 

‘यो प्रदर्शनले सरकारी संरचनामा मात्रै क्षति गरेको छैन, निजी व्यवसायिक भवनदेखि निवाससम्ममा क्षति पुर् एको छ,’ अवलोकन पश्चात् सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘प्रदेश संरचना जोगियो, सबैभन्दा खुसीको विषय यही हो। संरचना रहेपछि अब हामी छिट्टै यी भग्नावशेष बनेका संरचनाहरूलाई उठाएर सरकार चलाउँछौं।’

उनका अनुसार ध्वस्त भएको मन्त्रालयको भवन इन्जिनियरहरूलाई जाँच गर्न लगाएर बस्न उचित भए मर्मत गरेर बस्ने र असुरक्षित भएको खण्डमा अन्त रहेका संरचनाहरूमा सार्ने तयारी रहेको छ। 

यता, प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका दलका नेता तथा सांसदहरुले समेत प्रदेश सभा भवनको अवलोकन गरेका थिए। प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका बागमती संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेशको संरचना क्षति भएको यत्तिका दिनसम्म पनि प्रदेश सरकारहरुले चासो नदिनु गलत भएको बताए। उनले अब यो दल, यो सरकार, यो प्रतिपक्षी नभनि प्रदेश संरचनालाई पुनः स्थायित्व र बलियो बनाउन एकजुट भएर लाग्ने समेत बताए।

अवलोकनमा प्रदेशका प्रमुख सचिव भुपाल बराल, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी, सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे लगाएत प्रदेश सचिवहरुको उपस्थिती रहेको थियो। 

१४ मन्त्रालय रहेको बागमतीमा प्रदर्शनका क्रममा ६ वटा मन्त्रालय पूर्ण रुपमा क्षति पुगेको छ भने दुई वटा मन्त्रालयमा आंशिक क्षति पुगेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय भने सुरक्षित छन्। वन तथा वातावरण मन्त्रालयमा सामान्य तोडफोड भएको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयका सबै सामान र कागजात जोगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad