राजनीति


अख्तियारमा भ्रष्टाचारका सबै फाइल सुरक्षित

स्थानीयले जोगाए प्रमुख आयुक्त राईको घर
अख्तियारमा भ्रष्टाचारका सबै फाइल सुरक्षित

आगोलागी हुँदै गर्दा अख्तियारको पोखरा कार्यालय।


नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १७:४२, काठमाडौँ

भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार नै आगोलागी र तोडफोडको शिकार बन्यो।सर्वोच्चसहित धेरै अदालत जलाइए। आन्दोलनकारीसँगै घुसेका केही समूहले सरकारी कार्यालय छानीछानी आगजनी र तोडफोड गरे। 

त्यस्तै समूहको निशानामा परेको निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि हो, जहाँ सानादेखि ठूला भ्रष्टाचारका फाइल छन्।

काठमाडौँको टंगालस्थित आयोगको प्रधान कार्यालयमा तोडफोड र आगजनीका कारण ठूलो क्षति पुगेको छ। 

भदौ २४ गते साँझ सवा ५ बजे प्रदर्शनकारीको एउटा समूह अख्तियारलाई लक्षित गरी तोडफोड र आगजनी गर्न प्रवेश गरेको थियो। होहल्ला गर्दै पुगेको उक्त समूहले मुख्य लक्ष्य भ्रष्टाचारकै फाइल राखिएको ठाउँलाई बनाएको भए पनि त्यहाँसम्म पहुँच पुर्‍याउन भने असफल देखिएको छ। 

अख्तियारका भौतिक संरचनासँगै विभिन्न कागजात जलेर खरानी भए पनि भ्रष्टाचारका सबै फाइल सुरक्षित रहेको पाइएको छ। 

‘यहाँ (अख्तियारमा) रहेका भ्रष्टाचारका सबै फाइलहरू सुरक्षित छन्,’ अख्तियार स्रोतले भन्यो, ‘फाइल भएको ठाउँलाई लक्षित गरेर तोडफोडको धेरै प्रयास भएको देखिन्छ। तर, उनीहरूले सकेनन्। यहाँ प्रवेश गर्नेको मुख्य निशाना नै भ्रष्टाचारका फाइलमा पहुँच पुर्‍याउने, लुट्ने वा नष्ट गर्ने रहेको पाइयो।’

अख्तियार परिसरमा रहेका ७४ वटा मोटरसाइकल, १७ वटा जिप, कार, भ्यान र ३ वटा बस जलेर पूर्णरूपमा ध्वस्त भएका छन्। त्यस्तै पुस्तकालय र प्रशासन महाशाखा पनि जलेर पूर्णरूपमा क्षतिग्रस्त भएको छ।  

अख्तियारको प्रधान कार्यालयबाहेक अन्य कार्यालय पनि जेनजी आन्दोलनका कारण ध्वस्त भएका छन्। 

पोखराको कार्यालय पूर्णरूपमा ध्वस्त भएको छ। त्यस्तै अख्तियारको हेटौँडा कार्यालय ७५ प्रतिशत क्षति भएको प्रारम्भिक रिपोर्ट छ। त्यस्तै अख्तियारको बर्दिवास, सुर्खेत, नेपालगञ्ज र महेन्द्रनगरको कार्यालयमा सामान्य क्षति भएको छ। 

अख्तियारको कार्यालयसँगै प्रमुख आयुक्त प्रेमकुमार राईको घरलाई पनि आन्दोलनकारीले निशाना बनाएको पाइएको छ। काठमाडौँ उपत्यकामा रहेको राईको घरमा तोडफोड गर्न एक समूहले प्रयास गरेको थियो। तर, स्थानीयहरूले उनको घरमा आगजनी हुनबाट जोगिएको छ। 

‘त्यो दिन उहाँ (राई)को घर तोडफोड गर्ने उद्देश्यले एउटा समूह पुगेको थियो। उनीहरूले अलिअलि क्षति पनि पुर्‍याइसकेका थिए,’ एक स्थानीयले भने, ‘तोडफोड सुरु भएलगत्तै स्थानीयहरू निस्केर भ्रष्टाचारविरुद्ध आन्दोलन गरेको भन्ने, अनि भ्रष्टाचारविरुद्ध काम गर्ने मान्छेको घरमा तोडफोड गर्ने? भन्दै प्रतिकार गरेपछि उनीहरू भागे। र, घर जोगियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad