नेपालको ‘जेन-जी’ आन्दोलनका अगुवा ‘सुदन गुरुङ’लाई कतिपयले भारतीय नागरिक भनेर अफवाह फैलाइरहेका बेला भारतीय नै नागरिक ‘सुधन गुरुङ’ले विज्ञप्ति जारी गरी स्पष्टीकरण दिएका छन्।
कतिपय सञ्चारमाध्यमले नेपालमा जारी जेन–जी आन्दोलनसँग जोडेर आफ्नो नाम र तस्बिर प्रचार गरिरहेको भन्दै दार्जिलिङवासी गुरुङले आफू अर्कै सुधन गुरुङ रहेको स्पष्टीकरण दिएका हुन्।
नाम र थर दुवै मिलेकाले भ्रम सिर्जना भएको उनले उल्लेख गरेका छन्।
‘विभिन्न स्रोतबाट बारम्बार मेरो ध्यानाकर्षण भएको छ कि म सुधन गुरुङ र नेपाल जेनेरेसन जेड रिभोलुसनसँग सम्बन्धित नेपालका अर्का सुदन गुरुङका विषयमा भ्रम सिर्जना भइरहेको छ’, उनले लेखेका छन्, ‘केही मिडिया हाउसले छिमेकी नेपालमा हालै भएका राजनीतिक विरोध प्रदर्शनका सम्बन्धमा मेरो तस्बिर गलत तरिकाले प्रसारित गरेका छन्। म औपचारिक रूपमा घोषणा गर्दछु– विरोध प्रदर्शनमा भाग लिने व्यक्ति सुदन गुरुङ नेपालको नागरिक हुन् र पूर्ण रूपमा फरक व्यक्ति हुन्, जसको मसँग कुनै सम्बन्ध छैन। संयोगवश हामी दुवैको नाम एउटै परेको छ र कुरा यत्तिमै सकिन्छ।’
उनले थप लेखेका छन्, ‘म औपचारिक रूपमा घोषणा गर्छु– म सुधन गुरुङ हुँ, भारत गणतन्त्रको एक जिम्मेवार नागरिक, दार्जिलिङको बासिन्दा। मलाई अरूसँग जोडेर भ्रम सिर्जना नगरियोस्।’
भारतीय गुरुङले सञ्चारमाध्यमलाई सत्यतथ्य बुझेर मात्र रिपोर्टिङ गर्न आग्रह गरेका छन्।
सुधन गुरुङले जारी गरेको प्रेस स्टेटमेन्ट:

Shares

प्रतिक्रिया