पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले ‘जेनजी’ पुस्ताले सुरु गरेको आन्दोलनप्रति एक्यवद्धता व्यक्त गरेका छन्।
आज सामाजिक सञ्जालमा उनले देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको शुरूवात गरेको भन्दै यसबाट आफू असाध्यै गौरवान्वित भएको पनि बताएका हुन्।
‘भनिन्छ- नेतृत्व इतिहासको आवश्यकता र आकस्मिकताले जन्मिन्छ। अनि नयाँ नेतृत्व संघर्ष मार्फत पुरानो विचार र पुरानो नेतृत्वलाई विस्थापित गरेर मात्र स्वयं स्थापित हुन्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपालमा त्यसको शुरूवात हुनु ऐतिहासिक महत्वको परिघटना हो। त्यसनिम्ति तपाईंहरूलाई हार्दिक वधाइ!’
उनले आन्दोलनमा सहभागी युवा पुस्तालाई आन्दोलन बिचमै नछाड्न पनि आग्रह गरेका छन्।
त्यसैगरि भट्टराईले आन्दोलनको अधिकतम र न्यूनतम लक्ष्य किटान गर्न, कसैको वहकावमा नलाग्न, आन्दोलनमा गलत तत्वहरूको घुसपैठ हुन नदिन पनि सुझाव दिएका छन्।
‘भूइँको टिप्न खोज्दा पोल्टाको नखसोस्’ भन्ने हाम्रो लोकोक्तिलाई हमेशा स्मरण गर्नुपर्छ। नेपालको वर्तमान सन्दर्भमा भ्रष्टाचार रोक्न, आर्थिक समृद्धि हासिल गर्न, राजनीतिक स्थीरता प्राप्त गर्नकानिम्ति यो संविधानमा महत्वपूर्ण अग्रगामी सुधार गर्नुपर्छ। तर सार्वभौम जनताले संविधानसभाबाट बनाएको संविधाननै भत्काउने वा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र जस्ता आधारस्तम्भहरूमाथि छेडछाड गर्ने गल्ती गर्नुहुन्न,’ भट्टराईले भनेका छन्, ‘तपाईंहरू सबैलाई पूर्ण सफलता र उज्ज्वल भविष्यको हार्दिक शुभकामना!’

Shares

प्रतिक्रिया