राजनीति


दुई जनाको मृत्युपछि इटहरीको अवस्था के छ?

दुई जनाको मृत्युपछि इटहरीको अवस्था के छ?

सुमन सुस्केरा
भदौ २३, २०८२ सोमबार १८:२३, सुनसरी

सुनसरीमा प्रहरी र जेन जी समूहका युवाहरू बीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ। प्रहरीले चलाएको गोली लागेर इटहरीमा दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। 

बिहान ११ बजेदेखि आन्दोलन गरेका जेनजी समूहका युवाहरू दिउँसो इटहरी नगरपालिकाको गेटमा पुगेका थिए । 

त्यसपछि भित्र प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियो। झडपपछि केही बेर तितरबितर बनाउन प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो। 

गोली लागेर घाइते भएका दुई जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए। 

इटहरीमा गोली लागेर घाइते भएकामध्ये १ जनाको उपचार जारी छ। अर्का घाइते सशस्त्र प्रहरीका सहायक हवल्दार रहेको प्रहरीले जनाएको छ। एक दर्जनभन्दा बढी घाइते रहेको प्रहरीले जनाएको छ। उनको गालामा चोट छ। 

झापाको दमकमा गोली लागेर घाइते भएका १ जनाको पनि बीपीमै उपचार भइरहेको छ।

त्यसपछि आक्रोशित भएका जेन जी समूहका युवाहरूले इटहरी उपमहानगरपालिमा आगजनी गरेपछि अवस्था तनावग्रस्त बनेको सुनसरीका प्रहरी प्रमुख सुमन तिमल्सिनाले जानकारी दिए। उनका अनुसार अहिलेसम्म २ जनाको मृत्यु भएको छ ।  

अवस्था नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले यी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले भेला,जुलुस, प्रदर्शन गर्न नपाउने गरी अनिश्चित कालिन कर्फ्यु आदेश जारी गरेको हो।  

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेश अनुसार इटहरीको उत्तर तर्फ हलगडा नेपाली सेनाको ब्यारेक देखी पारुहागं चोकभित्र, पूर्वतर्फ मिलन चोकदेखि जुट विकासभित्र, दक्षिण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रभित्र र पश्चिमतर्फ कलंकी मोडदेखि जनता बस्तीभित्र कुनै पनि आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने अनिश्चितकालीन कर्फ्यु आदेशमा उल्लेख छ। 

प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाभित्र प्रवेश गरी आगजनी गरेका छन्। उनीहरूले मेयर हेमकर्ण पौडेलको कार्यकक्षमा आगजनी गरेका छन्। 

प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले हवाई फायर गर्दै दर्जनौँ राउन्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहरीसँग कति घाइते छन् भन्ने समेत यकिन तथ्याङ्क छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad