नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन (अनन्त) ले बिचौलिया वर्गका कारण स्वाधीन राष्ट्रिय पूँजी निर्माणमा चुनौती खडा भएको बताएका छन्।
नेपाल राष्ट्रिय व्यापार संगठनले बागलुङमा आयाेजना गरेकाे ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पुनले बिचाैलिया वर्ग प्रतिस्पर्धी र स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माणको तगारो बनेकाे आराेप लगाएका हुन्।
बहुदलीय व्यवस्थाअघि मुलुक १० घरानाले चलाएको छ भन्ने गरिएको चर्चा गर्दै उनले बहुदलीय व्यवस्थापछि उक्त संख्या बढेर करिब ५० पुगेको र गणतन्त्रपछि त्यसमा उल्लेख्य वृद्धि भएको उल्लेख गरे।
तर, ठूला भनिएका व्यापारिक घरानालाई एउटै बिचौलियाले चलाउने अवस्था आएको भन्दै उनले त्यो नेपाली अर्थतन्त्रको प्रमुख चुनौती भएको बताए। ‘बहुदलअघि पञ्चायती व्यवस्थामा १० घरानाले देश चलाउँछ भन्ने गरिन्थ्यो। बहुदलीय व्यवस्था आएपछि करिब ५० घराना पुगे। अहिले ४र५ सय घराना पुगेका छन्’, पुनले भने, ‘त्यसमा पनि ठूला भनिएका २५ घरानाको जिम्मा एउटा बिचौलियाले लिएको अवस्था छ।’
कुनै व्यवसायमा लगानी नगरेका व्यक्ति व्यवासीको प्रतिनिधिका नाममा बिचौलियागिरी गरेर रातारात अर्बौं कमाउने अवस्थामा पुग्नु राष्ट्रिय अर्थतन्त्रका लागि राम्रो संकेत नभएको पुनको भनाइ थियो। उनले चिौलियाको हैसियत विभागका महानिर्देशक हुँदै मन्त्रालयका सचिव, मन्त्री हुँदै प्रधानमन्त्रीसम्म फेर्नेसम्म पुगेको टिप्पणी गरे।
प्रधानमन्त्री फेरेर मात्र नहुने भएपछि उनीहरु पार्टीका अध्यक्ष बनाउने काममा समेत अग्रसर हुन थालेको दाबी पुनको छ। ‘बिचौलिया यति शक्तिशाली भए कि मन्त्रीलाई प्रधानमन्त्रीले नटेर्ने भएपछि प्रधानमन्त्री नै फेर्न थाले। अब पार्टी अध्यक्ष नै बनाउँन हिँडेका छन् भन्ने सुन्न थालिएको छ’, उनले भने, ‘पार्टी आफैँ बनाउने, सरकार, संसद् आफैँ बनाउने, व्यापारी, प्रशासन संयन्त्र, प्रहरी अड्डाअदालत सबै आफ्नै हातमा राख्ने। स्वार्थ समूहले जेलिएको राजनीति, स्वार्थ समूहले जेलिएको प्रशासन, स्वार्थ समूहले जेलिएको न्यायालयले अब देश अघि बढ्न सक्दैन।’
पुनले निजी, सहकारी तथा सार्वजनिक पुँजीको मिश्रणबाट प्रतिस्पर्धी बजार र प्रतिस्पर्धी अर्थतन्त्रमार्फत सबल राष्ट्रिय अर्थतन्त्र निर्माण आफ्नो दलको उद्देश्य भएको बताए। त्यसका लागि राज्यले पहुँच भएका र नभएकाका लागि समान खालको नीति र प्रतिस्पर्धी बजारको वातावरण बनाउनुपर्ने पुनले बताए।
‘हामीले भन्ने गरेको समाजवादमा प्रतिस्पर्धात्मक राष्ट्रिय पुँजी बनाउने भनेको हो। सामन्ती निर्वाहमुखी अर्थतन्त्रबाट माथि उठाएर प्रतिस्पर्धी आत्मनिर्भर अर्थतन्त्र बनाउने हो’, उनले भने, ‘धनीलाई तल झारेर होइन गरिबलाई माथि उठाएर त्यस्तो अर्थतन्त्र निर्माण गर्न सकिन्छ।’
गत वर्ष आफू मर्थमन्त्री भएका कृषि उपज निर्यातमा लगाइँदै आएको १३ प्रतिशत भ्याट हटाएर शून्यमा झार्नुका साथै आयातित कृषि उपजमा १० प्रतिशत अग्रिम कर लगाएको भए पनि वर्तमान सरकार बनेपछि पुरानै अवस्थामा फर्काइएको आरोप पुनले लगाए।
‘गत वर्ष म मर्थमन्त्री थिएँ। बजेट बनाउने बेलामा कृषि उपज निर्यातमा लाग्ने गरेको १३ प्रतिशत भ्याटलाई शून्यमा झारियो। स्वदेशी उत्पादन प्रवद्र्धनका लागि विदेशबाट आयात हुने तरकारी र फलफूलमा १० प्रतिशत अग्रिम कर लगाइयो’, पुनले भने, ‘जसका कारण जुम्लाबाट मात्र ७० करोडको स्याउ निर्यात भयो । त्यो व्यवस्था अहिले बिचौलियाले अहिलेको बजेटबाट हटाइदियो । यो बिचौलिया र दलालहरुको सरकार भनेको त्यही भएर हो।’
यस्तै गत वर्ष नेपाल विद्युत प्राधिकरणका १ लाख ६० हजार घरेलु ग्राहकको महसुल नतिरेकेकामा विद्युत काटिए पनि सीमित घरानाले लोडसेडिङ अवधिमा प्रयोग गरेको डेडिकेटेड र ट्रंक लाइन बापतको अर्बौं बक्यौता बिचौलियाकै डिजाइनमा छुट दिइएको टिप्पणी पनि पुनले गरे।
फरक प्रसंगमा उनले माओवादी केन्द्रले उद्योगी व्यवसायीले लगानी गरेर नाफा आर्जन गर्ने विषयको विपक्षमा नरहेकाले परम्परागत कम्युनिष्टका रुपमा नहेर्न अपिल पनि गरे। तर, बिना प्रतिस्पर्धा अर्बौंका सरकारी ठेक्का हडप्ने र बिना लगानी राज्य ठगेर सजिलै कमाइ गर्ने बिचौलिया पुँजीवादको सबै विपक्षमा उभिने चेतावनी पुनले दिए।
‘सबैलाई बराबर अवसर हुनुपर्छ। योग्यता पुगेका सबैले प्रतिस्पर्धाको अवसर पाउनुपर्छ। प्रतिस्पर्धा गर, नाफा कमाउ। कानून सबैलाई बराबर होस् । मुलुक सञ्चालनको जिम्मा बिचौलियालाई सुम्पने होइन भन्ने हाम्रो कुरा हो’, उनले भने।
Shares

प्रतिक्रिया