राजनीति


हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिने कोसीका मन्त्री मगरलाई बर्खास्त गर्न कमल थापाको माग

हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिने कोसीका मन्त्री मगरलाई बर्खास्त गर्न कमल थापाको माग

राप्रपा नेपालका अध्यक्ष कमल थापा र कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर


नेपालखबर
भदौ २२, २०८२ आइतबार ८:३, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धिमा गाडीले बालिकालाई ठक्कर दिने कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरलाई तत्काल बर्खास्त गर्न माग गरेका छन्। 

आफू सवार सरकारी गाडीले बालिकालाई ठक्कर दिएपछि भागेको आरोप लगाउँदै थापाले प्रदेशमन्त्री मगरलाई कानुनबमोजिम कारबाही गर्न पनि माग गरेका छन्।  

थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ललितपुरको हरिसिद्धिमा बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकी भाग्ने गैरजिम्मेवार र अमानवीय कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरलाई तत्काल बर्खास्त गरियोस् र कानुनबमोजिम कारबाही होस्।’

तर मन्त्री मगरले भने भागेको नभई ‘घटनापछि नचिनेको ठाउँमा बसिरहनु उपयुक्त नलागेको र तुरुन्तै प्रहरीलाई खबर गरेको’ दाबी गरेका छन्। 

शनिबार बिहान सवा ७ बजेतिर एमाले विधान महाधिवेशन प्रतिनिधिसमेत रहेका कोसीका मन्त्री मगर को १ झ ६९९ नम्बरको सरकारी गाडीमा महाधिवेशन स्थल गोदावरीतर्फ जाँदै गर्दा गाडीले हरिसिद्धिस्थित माध्यमिक विद्यालयअगाडि सडकमा स्थानीय ११ वर्षीया उषा मगर सुनुवारलाई ठक्कर दिएको थियो। विरोधमा स्थानीयले केही बेर सडकसमेत अवरुद्ध गरेका थिए। 

सामान्य घाइते भएकी बालिकालाई बीएन्डबी अस्पताल पठाउँदै एमालेले सम्पूर्ण उपचार खर्च बेहोर्ने घोषणा गरेको थियो। उक्त दुर्घटनाकै कारण एमाले विधान महाधिवेशनको बन्दसत्र शनिबार निर्धारित समय बिहान ८ बजेभन्दा एक घण्टा ढिला भएको थियो। 

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भवितव्यले भएको घटनालाई राजनीतीकरण गर्न खोजिएको आरोप लगाएका थिए। साथै उनले बालिकालाई गाडीले सामान्य रूपमा छोएको र उपचार खर्च सबै आफ्नो पार्टीले बेहोर्ने घोषणा गरेका थिए। 

बीएन्डबी अस्पतालमा भर्ना भएकी बालिका २ घण्टापछि डिस्चार्ज भएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad