नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ जारी महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरिसकेका छन्।
यही महाधिवेशनमा एमालेले अध्यक्षका तर्फबाट भनेर राजनीतिक दस्तावेज पनि प्रस्तुत गरेको छ। जसमा अहिले सक्रिय राजनीतिक दलहरूबारे गम्भीर टिप्पणी गरिएको छ।
नेपाली कांग्रेसबारे एमाले
एमालेले सत्तासाझेदार नेपाली कांग्रेसलाई 'टेस्टेड' भनेको छ। उसले कांग्रेसले ००७ पछिका विभिन्न आन्दोलनको नेतृत्व गरे पनि रक्षा गर्न नसकेको भनेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेस ‘टेस्टेड’ भइसकेको र आफ्नै आन्दोलनको समेत रक्षा गर्न नसकेको टिप्पणी गरेका छन्।
'समाजवादको आधार निर्माणको ऐतिहासिक अभिभारा अरू कुनै पार्टी या शक्तिबाट पूरा हुनु सम्भव छैन। नेपाली कांग्रेस मुलुकको पुरानो पार्टी हो र प्रजातान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका खेलेको पार्टी पनि हो,' दस्तावेजमा भनिएको छ,'तर, लोकतन्त्रको रक्षा, राज्य सञ्चालन र समृद्ध समाज निर्माण लागि भने यो ‘टेस्टेड’ भइसकेको शक्ति हो। यसले सात सालपछि क्रान्तिका पक्षधर शक्तिहरूलाई समेट्दै आन्दोलनको रक्षा गर्न सकेन। पन्ध्र सालको निर्वाचनमा दुई तिहाइ बहुमत पाएर पनि क्रान्तिका उपलब्धि जोगाउन सकेन। २०४८ र २०५६ मा दुई–दुई पटक बहुमत पाएर पनि आफ्नै अन्तरकलहका कारण सरकार गुमायो, र २०५९ सालमा त प्रजातन्त्र नै राजाको हातमा पुग्ने स्थिति निर्माण भयो।'
एमालेले कांग्रेसले अवलम्बन गरेको नीति नै असफलको प्रमुख कारण भएको ठहर गरेको छ। कांग्रेसलाई नवउदारवाद भन्दै एमालेले यस्ता नीति अवलम्बन गर्नेहरू संसारभरि नै असफल भइसकेको भनेको छ। यतिमात्रै होइन एमालेले कांग्रेसको विचारले अगुवाइ गर्न सक्ने सम्भावना नरहेको पनि उल्लेख गरेको छ।
'उसले (कांग्रेस) अवलम्बन गरेको नवउदारवादी आर्थिक नीतिले समृद्धिको यस अभियानको नेतृत्व गर्न सक्दैन भन्ने प्रस्ट छ,' दस्तावेजमा थप उल्लेख छ, 'नवउदारवाद संसारभरि नै असफल भइसकेको छ भने नेपालमा यस विचारले अगुवाइ गर्न सक्ने कुनै सम्भावना छैन।'
नेकपा माओवादी केन्द्रबारे एमाले
एमालेको दस्तावेजले नेकपा (माओवादी केन्द्र)बाट मुलुकको नेतृत्व गर्ने कुनै सम्भावना नै नभएको भनेको छ। '‘प्रचण्डपथ’ लाई कुनै निर्जन बाटोतिर थन्क्याएका माओवादी साथीहरूका लागि आज ‘माओवादी’ ट्याग पनि भारी भएको छ' एमालेले भनेको छ।
एमाले र माओवादी मिलेर बनेको नेकपाको प्रसंग पनि दस्तावेजमा उल्लेख गरिएको छ।
'नेकपा (माओवादी केन्द्र) बाट यस्तो नेतृत्व सम्भव छ त?- बिलकुलै छैन। कुनै बेला नेकपा (एमाले) र यसको सिद्धान्त जनताको बहुदलीय जनवादको ’एण्टिथेसिस’ का रूपमा ‘प्रचण्ड’ ले विकास गरेको भनिएको सशस्त्र युद्धको बाटो, सेना बिनाको पार्टी कम्युनिस्ट पार्टी नै होइन भन्ने आग्रह र बहुदलीय प्रतिस्पर्धालाई अस्वीकार गर्दै जनवादी अधिनायकत्वको एकदलीय सोच त उहिल्यै असफल भइसकेको हो' एमालेले भनेको छ।
शान्ति प्रक्रियापछि अगाडि सारिएका सत्ता कब्जा, सेनामा समूहगत समायोजन, जातीय राज्यलगायत माओवादीका सबै प्रयोग असफल भइसकेको एमालेको ठहर छ।
'अस्थिरता, अवसरवाद एवं विभाजनकारी सोच र भ्रष्ट व्यवहारले गर्दा आज माओवादी वैचारिक, साङ्गठनिक र चारित्रिक हिसाबले निरन्तर क्षयीकरण हुँदै गएको छ,' माओवादीबारे थप भनिएको छ, 'कसैको पनि बहुमत नभएको ‘हङ् पार्लियामेन्ट’का कारण सत्ताको लाभ लिइरहनु एउटा कुरा हो। तर मुलुकको वैचारिक राजनीतिक नेतृत्व गर्ने प्रतिस्पर्धाबाट माओवादी केन्द्र बाहिरिइसकेको छ।'
मधेस केन्द्रित दल र राप्रपाबारे एमाले
एमालेले मधेस केन्द्रित दललाई त राज्यको नेतृत्व गर्न सक्ने अवस्थामै नरहेकोले प्रश्नै नभएको भनेको छ। उनीहरूले बकेको सोच नै संकीर्ण रहेको एमालेको आरोप छ।
'संङ्कीर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका बारेमा त्रुटिपूर्ण सोच बोकिरहेका मधेस केन्द्रित दलहरूले राष्ट्रको नेतृत्व गर्न सक्ने प्रश्नै भएन' एमालेले भनेको छ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टी र राजावादी समूहहरूले धर्मलाई हतियार बनाउन चाहिरहेको एमालेको ठहर छ।
'राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य राजावादी समूहहरू राजतन्त्र फर्काउने सपना देख्छन्, कतिले धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन्। जन्मजात श्रेष्ठताको सामन्ती विचारले र त्यस्तो विचार बोक्ने त्यसका अनुयायीहरूले आजको लोकतान्त्रिक युगमा समाजको नेतृत्व गर्ने कुरा कल्पना बाहिरको कुरा हो,' एमालेले दस्तावेजमा उल्लेख गरेको छ, 'पछिल्लो समय राजावादीका नाममा संविधान नै नमान्ने, प्रचलित कानुन र प्रशासनका आदेशहरूको अवज्ञा गर्ने, शान्तिपूर्ण प्रदर्शनका नाममा हिंसा र अराजकता मच्चाउने प्रवृत्ति बढेको छ। यो स्वीकार्य हुन सक्दैन।'
रास्वपाबारे एमाले
संसद्को चौथो ठूलो शक्तिको रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई एमालेले प्रश्न भएको तर उत्तर नभएको पार्टीको रुपमा अर्थ्याएको छ। उसले रास्वपा निर्वाचनमा रास्वपा नाटकीय ढंगबाट उदाएको र उदाउनुको कारण पनि उल्लेख गरेको छ।
'समाजमा असन्तुष्टि, गुनासो र बेथिति सिर्जना गर्दै त्यसबाट उत्पन्न नकारात्मकतालाई प्रयोग गर्दै केही दल र व्यक्तिहरू गतः निर्वाचनबाट नाटकीय ढङ्गले राजनीतिक रङ्गमञ्चमा उदाए,' एमालेले भनेको छ, 'विशेष गरेर नेकपाको विभाजन, जनादेशबाट सरकार चलाइरहेको नेकपा (एमाले) लाई परमादेशबाट गरिएको विस्थापन, त्यसपछिका नीतिहीन गठबन्धन र त्यसले सिर्जना गरेको राजनीतिक विकृतिले गर्दा समाजको एउटा तप्काले विकल्पको खोजी गरिरहेको थियो।'
समाजको मनोविज्ञानलाई पपुलिस्टहरूले सदुपयोग गरेर उदाएको भन्दै एमालेले रास्वपाबारे थप भनेको छ, '‘पपुलिस्टहरू’ ले राम्रैसँग दुरुपयोग गरे। तर उनीहरूसँग प्रश्नहरू थिए, उत्तर थिएन। हातमा समस्याको चाङ थियो, तर समाधानको कुनै विकल्प थिएन। न कुनै वैचारिक–राजनीतिक स्पष्टता। न विगतको कुनै विरासत र योगदान। न कुनै सुस्पष्ट गन्तव्य। न त निश्चित वर्गआधार र लक्षित समूह। तलाउमा देखा पर्ने एउटा तरङ्ग जस्तै यस्तो पपुलिज्म उठ्नु र छिट्टै सेलाउनु अनिवार्य नै थियो।'
यतिमात्रै होइन एमालेले रास्वपा विकल्प नभएको र हुनै नसक्ने पनि भनेको छ। पपुलिज्म कुनै समाधान र विकल्प नभएको उसको ठहर छ। एमालेले आफू नै सामाजिक अभियानको सारथी भएको दाबी पनि गरेको छ।
'हामीले सुरुदेखि नै भन्दै आएका थियौँ– यो कुनै विकल्प होइन, हुन सक्दैन। दुई वर्ष बित्दानबित्दै समाजले पनि निष्कर्ष निकालिसकेको छ– पपुलिज्म कुनै समाधान या विकल्प होइन,' एमालेले भनेको छ, 'विचारका हिसाबले जनताको बहुदलीय जनवाद र शक्तिका हिसाबले नेकपा (एमाले) यस अभियानको सारथी हो भन्ने कुरामा कुनै द्विविधा छैन।'
एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको पूर्ण पाठ हेर्नुहोस्:
Shares

प्रतिक्रिया