राजनीति


ओलीदेखि अर्यालसम्म: यी हुन् आफ्नै वडा पनि जिताउन नसक्ने एमाले पदाधिकारी

ओलीदेखि अर्यालसम्म: यी हुन् आफ्नै वडा पनि जिताउन नसक्ने एमाले पदाधिकारी

सागर न्यौपाने
भदौ १७, २०८२ मंगलबार ९:२९, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सोमबार एक अर्थपूर्ण अभिव्यक्ति दिए- पार्टीमा यस्ता पदाधिकारी छन्, जसले वडा जिताउन सक्तैनन् तर, ठूलठूला कुरा गर्छन्। 

‘देशमा ६ हजार ७४३ वडा छन्, हाम्रो कम्तीमा पनि ८० प्रतिशतभन्दा बढी वडामा बलियो जनाधार छ। हाम्रो संगठन छ। वडा कमिटीहरू छन्, प्रत्येक नेताले आफ्नो वडा जिताइदिएको भए त दिग्विजय नै हासिल गर्थ्यौँ त हामीले,’ काठमाडौँमा भएको एक कार्यक्रममा ज्ञवालीले भने, ‘तर हामी कतिपय केन्द्रीय सदस्य हौँला, कतिपय पदाधिकारी हुँला, कति जिल्लाका नेता हौँला, जसले आफ्नो वडासमेत जिताउन सक्दैनन्, कुराचाहिँ ठूलठूला गर्छन्।’ 

तर, उनको यो अभिव्यक्तिबाट कहिलेको स्थानीय तहको चुनाव भन्ने खुल्दैन। नेपालको संविधान जारी भएपछि २०७४ र २०७९ मा दुईपटक स्थानीय तहको चुनाव भएका छन्। 

यस आधारमा ज्ञवालीले गएको २०७९ को स्थानीय तहको चुनावलाई संकेत गरेको अनुमान गर्न सकिन्छ। किनकि, यही निकट विगत हो। र, एमाले मिसन ०८४ अभियानमा छ।

एमालेमा १९ सदस्यीय केन्द्रीय सचिवालय छ, यस्तै ३४१ सदस्यीय केन्द्रीय कमिटी छ। यहीभित्र स्थायी र पोलिटब्युरो सदस्य पनि छन्। ज्ञवालीले पक्कै पनि यिनै नेतालाई भनेका हुन्। 

तर, चुनाव भएको तीन वर्ष बितिसकेको छ। सधैँ अग्रगमनको वकालत गर्ने ज्ञवाली किन विगततिर फर्किए? जबकि, उनी आफैँ पनि पदाधिकारी हुन्। एमालेबाट पटकपटक मन्त्री र विभिन्न अवसर पाएका उनी अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र पनि हुन्। सोही कारण उनी ओलीको साघुँरो घेराभित्र रहन सफल छन्। 

चुनावी रणनीति बनाउन संलग्न उनै ज्ञवालीले त्यस्तो अभिव्यक्ति दिएपछि एमाले वृत्तमा तरंग सिर्जना भएको छ।

ज्ञवालीको उक्त अभिव्यक्ति त्यसबेला दिएका हुन्, जतिबेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा फेरि सक्रिय हुने बाटो खोजिरहेकी छन्। 

उनको नवीकरण भइसकेको सदस्यता रोक्ने निर्णयप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले असहमति राखिसकेका छन्। सदस्यता रोक्न नहुने भन्दै पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उनको पक्षमा बोल्नेको संख्या बढ्दो छ।

बागमती, कोसी र मधेसका केन्द्रीय नेता भण्डारीलाई सदस्यता दिएर सक्रिय गराउनुपर्नेमा उभिएका छन्। ठीक यही समय भदौ २०–२२ मा एमालेको दोस्रो विधान महाधिवेशन हुँदै छ।

पार्टीले गरेको निर्णय पुनर्विचारको दबाब बढ्ने अनुमानका बीच उपमहासचिव ज्ञवालीले दिएको अभिव्यक्तिको राजनीतिक अर्थ रहेको एमाले नेताहरू बताउँछन्। 

ज्ञवालीको उक्त भनाइ सार्वजनिक भएपछि हामीले गएको स्थानीय तहको निर्वाचनमा एमालेका पदाधिकारी र उनीहरूले मत दिएको वडाको परिणाम केलाएका छौँ।

त्यसका लागि एमालेका सबै १९ जना पदाधिकारीले मतदिने स्थान, गृहनगर र वडा र सो वडाको चुनावी नतिजा पनि विश्लेषण गरेका छौँ। 

निर्वाचन आयोग, एमालेका केही पदाधिकारी र केन्द्रीय सदस्यको समेतको सहयोगमा हामीले अध्यक्ष केपी शर्मा ओलीदेखि सचिव पद्मा अर्यालसम्मका वडाको हिसाबकिताब निकाल्यौँ। 

यस क्रममा हामीले अध्यक्ष ओलीसहित १२ जना पदाधिकारीले आफूले मत दिने गरेको गृहवडामा वडाध्यक्ष जिताउन नसकेका पायौँ। 

त्यति मात्र होइन, केही पदाधिकारीको वडामा एमाले ‘क्लिनस्विप’ नै भएको पाइयो। 

फेरि बाँकी ७ जना पदाधिकारीले भने आफ्ना वडामा एमाले उम्मेदवारलाई शानदार मतले जिताएका छन्। 

हेर्नुहोस्, विस्तृत विवरण:

केपी शर्मा ओली 
एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुर जिल्लाका स्थायी बासिन्दा हुन्। सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोट निवासी ओली त्यहीँका स्थायी मतदाता पनि हुन्। 

तर, गएको स्थानीय तहको चुनावमा उनको उक्त वडामा एमालेले नमिठो हार भोगेको थियो।

ओलीले मतदान गरेको उक्त वडामा कांग्रेसका प्रदीप कार्की १ हजार ५ सय ११ मतसहित निर्वाचित हुँदा एमालेका विश्वराज विष्ट १ हजार ३ सय ५ मत ल्याएर पराजित भए। यतिसम्मकि ओलीको उक्त वडामा एमालेले कुनै सदस्य पनि जित्न सकेन र क्लिन स्विप नै भएको थियो। 

यद्यपि, प्रतिनिधि सभामा भने ओली झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दै आएका छन्। गएको चुनावमा उनी त्यहाँबाट भारी मतले विजयी भएका थिए। 

ईश्वर पोखरेल
एमालेको पदाधिकारी सूचीमा दोस्रो नम्बरमा पर्छन्- वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल।

उनी काठमाडौँका मतदाता हुन्। 

टोखा नगरपालिका–६, हात्ती चोक मतदान केन्द्रबाट मत दिँदै आएका उनले पनि गएको स्थानीय चुनावमा आफ्नो वडा जिताउन सकेनन्।

उक्त वडामा कांग्रेसका शान्त खनालले १०७५ मत ल्याएर विजयी हुँदा एमालेका भगवना केसीले ७६९ मत मात्र ल्याएर पराजित भए। प्रतिनिधि सभामा पोखरेलको निर्वाचन क्षेत्र नम्बर ५ हो। जहाँबाट उठेका उनी पराजित भएका थिए।  ‍

युवराज ज्ञवाली 
एमाले पदाधिकारी सूचीको तेस्रो नम्बरमा पर्छन्- उपाध्यक्ष युवराज ज्ञवाली। दाङका स्थायी बासिन्दा ज्ञवालीले गएको स्थानीय तहको चुनावमा आफूले मत दिने गरेको वडामा पार्टीका उम्मेदवार जिताउन सफल भएनन्।

तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७ बाट मत खसाल्ने गरेको ज्ञवाली बताउँछन्। 

गएको चुनावको मतपरिणामअनुसार सो वडामा कांग्रेसका थलराज पुरी १४५९ मत ल्याएर विजयी हुँदा एमालेका प्रदीप चौधरीले १४२३ मत ल्याए।

ज्ञवालीले प्रतिनिधि सभामा भने दाङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने गरेका थिए। तर, २०७४ र २०७९ को चुनावमा उनले चुनाव लड्न अस्वीकार गरे। 

अष्टलक्ष्मी शाक्य
एमालेमा लामो समय राजनीति गरेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि स्थानीय तहको चुनावमा आफ्नो वडा जिताउन सकिनन्।

उनले मत दिने गरेको काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर ५ मा एमाले तेस्रो स्थानमा सीमित भयो। 

उक्त वडामा राप्रपाका महेश रिमाल १४३९ मत ल्याएर विजयी हुँदा एमालेका शुक्रबहादुर लामाले २८८ मत मात्र पाए।

नेपालकै पहिलो महिला मुख्यमन्त्रीसमेत रहेकी शाक्यले यसपटक काठमाडौँ क्षेत्र नम्बर ८ बाट टिकट पाए पनि चुनाव लड्न अस्वीकार गरेकी थिइन्। जसले गर्दा प्रतिनिधिसभा निर्वाचनमा भने उनको परीक्षण हुन पाएन।  

विष्णु पौडेल
एमाले राजनीतिका सबैभन्दा चलाख नेता मानिएका उपाध्यक्ष विष्णु पौडेल पनि वडा जिताउन नसक्ने पदाधिकारीमा पर्छन्। 

रुपन्देही बुटवलका स्थायी बासिन्दा उनले बुटवल उपमहानगरपालिका–८ मतदान दिने गरेका छन्।  

गएको स्थानीय तहको चुनावमा उक्त वडामा कांग्रेसका यज्ञप्रसाद पंगेनीले १५३९ मत ल्याएर विजयी भए। जबकि, पौडेलको प्रभाव रहेको सो वडामा एमालेका ज्ञानप्रसाद अर्यालले १५०८ मत मात्र ल्याउन सके। सो वडामा एमालेले कुनै पद पनि जित्न सकेन।

तर, प्रतिनिधि सभामा रुपन्देही–२ बाट भने पौडेल निरन्तर निर्वाचित हुँदै आएका छन्। 

रामबहादुर थापा
माओवादी छाडेर एमालेमा रही उपाध्यक्ष बन्न सफल रामबहादुर थापा चितवनका स्थायी बासिन्दा हुन्। उनी भरतपुर महानगरपालिका वडा नम्बर १० का स्थायी मतदाता पनि हुन्। आफ्नै गृहवडामा पनि थापाले गएको स्थानीय तहको चुनावमा एमाले उम्मेदवारलाई जिताउन सकेनन्। 

भरतपुर १० को वडाध्यक्षमा कांग्रेसका परमेश्वर खनाल २४२८ मतका साथ विजय हुँदा एमालेका भक्तिप्रसाद गौतमले २१०१ मत पाए। सो वडामा दुईवटा सदस्य भने एमालेले जितेको छ।

गुरु बराल
सुवास नेम्वाङको निधन भएपछि २०८१ साउन १७ गते उनको स्थानमा एमाले उपाध्यक्ष बनेका गुरु बराल कोसी प्रदेशअन्तर्गत विराटनगरका स्थायी बासिन्दा हुन्। अध्यक्ष ओलीसँग निकट रहेका बरालले विराटनगर-१२ बाट मत खसाल्ने गरेका छन्। 

गएको स्थानीय तहको चुनावमा उनले मत दिएको वडामा एमाले पराजित भयो। 

उक्त वडामा जनता समाजवादी पार्टी (जसपा)का हीरालाल कामद १३७४ मत ल्याएर विजयी हुँदा एमालेका भोला बराल १२७१ मत ल्याएर पराजित भए। 

विष्णु रिमाल 
अध्यक्ष ओलीका सबैभन्दा विश्वासिला नेतामध्येमा पर्छन्- उपमहासचिव विष्णु रिमाल। नुवाकोटका स्थायी बासिन्दा रिमालले विदुर नगरपालिका वडा नम्बर १२ चारघरे मतदान केन्द्रबाट मत दिँदै आएका छन्।

उनी पनि गएको स्थानीय तहको चुनावमा आफ्नै वडा जिताउन नसक्ने पदाधिकारीमै पर्छन्। 

रिमालले मत दिने गरेको वडामा माओवादीका उपिन्द्र खड्का १४२२ मत ल्याएर विजयी हुँदा एमालेका सीताराम अर्यालले ८३८ मत मात्र ल्याए। 

जबकि उनी चुनावी रणनीति बनाउनेदेखि टिकट वितरणसम्म सहभागी हुन्छन्। प्रतिनिधि सभामा भने अहिलेसम्म चुनाव लडेका छैनन्। 

योगेश भट्टराई 
सचिव योगेश भट्टराई ताप्लेजुङका हुन्। लामो समय काठमाडौँ बसेर राजनीति गरे पनि फेरि जिल्ला फर्किएका उनी ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ साँघुका स्थायी मतदाता हुन्। त्यहीँ रहेको नारायणी मावि साँघु ‘क’ केन्द्रबाट उनले मत खसाल्ने गरेका छन्।

तर, स्थानीय तहको चुनावमा उनले मत खसालेको वडामा एमाले पराजित भयो।

कांग्रेसका खगेन्द्र थक्लुङ लिम्बु ४७० मत ल्याई वडाध्यक्ष निर्वाचित हुँदा एमालेका खेमराज भट्टराईले ४०० मत मात्र पाए। उक्त पालिकामा अध्यक्ष पद पनि माओवादीले जितेको छ।

प्रतिनिधि सभा चुनावमा भने भट्टराई माओवादीकै उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री हराएर सिंहदरबार प्रवेश गर्न सफल भए। 

रघुवीर महासेठ
सचिव महासेठ पनि एमालेका पुरानै नेतामा पर्छन्। पटकपटक मन्त्री भएका, पार्टीबाट विभिन्न लाभका जिम्मेवारी लिन सफल महासेठको पनि स्थानीय तहमा पकड बलियो छैन भन्ने गत स्थानीय चुनावले देखाएको छ।

उनले मत खसाल्ने धनुषाको जनकपुरधाम उपमहानगर पालिका वडा नम्बर ९ हो। जहाँ कांग्रेसका परमेश्वर साह ३३६ मत पाई विजयी हुँदा एमालेका उम्मेदवार नारायणप्रसाद साह भने १८२ मतमा सीमित भए। 

लेखराज भट्ट
माओवादीमा भूमिगत भएर लामो समय राजनीति गरेका भट्ट २०७७ पछि मात्र एमाले भएका हुन्। 

हाल एमालेको सचिव र सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका उनी कैलालीको गोदावरीका स्थायी मतदाता छन्।

गृहवडा कैलालीको गोदावरी नगरपालिका-१ बाट मत खसाल्दै आएका भट्ट पनि आफ्नो वडामा एमाले उम्मेदवार जिताउन नसक्ने पदाधिकारीमा पर्छन्।

गत स्थानीय तह चुनावमा उक्त वडामा एमालेका शर्मानन्द भट्ट कांग्रेसका गोपालदत्त भट्टसँग पराजित भए। गोपालले १४७८ मत ल्याउँदा शर्मानन्दले १३९१ मत मात्र पाए। 

वडामा मात्र नभएर प्रतिनिधि सभा निर्वाचनमा समेत कैलाली क्षेत्र नम्बर ४ मा लेखराज भट्ट कांग्रेसका वीरबहादुर बलायरसँग पराजित भए।

पद्मा अर्याल
सचिव पद्मा अर्याल स्याङ्जाकी हुन्। 

वालिङ नगरपालिकाको वडा नम्बर १ की स्थायी मतदाता उनी मन्त्री भइसकेकी तथा जिल्लामा राम्रै प्रभाव भएको नेता हुन्। 

तर गृहवडामै भने गत चुनावमा उनी निकै कमजोर देखिइन्। उनले मत दिने वडामा कांग्रेसका पद्मराज गुरुङ ८५० मत ल्याई विजयी हुँदा एमालेका गिरमान गुरुङले ८२९ मत मात्र ल्याउन सके।

अझ रोचक कुरा त सो वडामा अर्यालका जीवनसाथी लक्ष्मीपति पौडेल खुलातर्फको वडा सदस्य पदका उम्मेदवार बनेका थिए तर, उनी पनि कांग्रेसका सम्भव अर्यालसँग पराजित भए। सो वडामा कांग्रेसले क्लिनस्विप नै गरेको थियो। 

प्रतिनिधि सभा चुनावमा पनि स्याङ्जा क्षेत्र नम्बर २ बाट चुनाव लडेकी अर्याल कांग्रेसका धनराज गुरुङसँग पराजित भइन्।

यी पदाधिकारीले भने वडामा जिताए

सुरेन्द्र पाण्डे 
उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवनका स्थायी बासिन्दा हुन्। उनको गृहनगर राप्ती नगरपालिका हो। उनले सो नगरपालिकाको वडा नम्बर ५ बाट मतदान गर्दे आएका छन्। 

गएको स्थानीय तहको चुनावमा उनले मत दिएको उक्त वडामा एमालेका सीताराम तामाङ १०७४ मत ल्याएर विजयी भए। यद्यपि, चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा चुनाव लडेका पाण्डे भने रास्वपाका हरि ढकालसँग पराजित हुन पुगे। 

शंकर पोखरेल
एमालेका महासचिव शंकर पोखरेलले दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा मतदान गर्दै आएका छन्। स्थानीय चुनावमा उनी पनि सो वडामा एमाले उम्मेदवार जिताउन सफल भए। 

उक्त वडामा एमालेका प्रेमनाथ योगीले १५०६ मत ल्याउँदै विजयी भए। तर महासचिव पोखरेल स्वयं प्रतिनिधि सभा चुनावमा दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भए। 

प्रदीप ज्ञवाली 
उपमहासचिव प्रदीप ज्ञवाली गुल्मीको रुरुक्षेत्र वडा नम्बर ४ का स्थायी मतदाता हुन्। चुनावका बेला उनले पालिकामै पुगेर मत खसाल्ने गरेका छन्। 

गत स्थानीय चुनावमा उनको वडामा आफ्नो पार्टीकै उम्मेदवार मोतीप्रसाद श्रेष्ठलाई १२०८ मतसहित विजयी भए। सो वडामा माओवादीका कमलप्रसाद श्रेष्ठ जम्मा १९ मत अन्तरले पराजित भए।

वडा जिताए पनि पालिका अध्यक्षमा भने माओवादी विजयी भयो। 

प्रतिनिधि सभातर्फ गुल्मी क्षेत्र नम्बर २ बाट चुनाव लडेका ज्ञवाली भने कांग्रेसका चन्द्र भण्डारीसँग पराजित हुन पुगे।

पृथ्वीसुब्बा गुरुङ
लमजुङको क्व्होलासोथर गाउँपालिका ९ गिलुङ गृहनगर भएका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सोही ठाउँबाट मत दिने गरेका छन्।

स्थानीय तहको चुनावमा उनले मत खसाल्ने गरेको वडामा एमालेका उम्मेदवार विजयी भए। 

हुमराज गुरुङले ५९८ मत ल्याएर वडाध्यक्ष जित्दा कांग्रेसका रुद्रबहादुर गुरुङले २९१ मात्र पाए। त्यति मात्र होइन, सो वडामा वडासदस्यदेखि महिला र दलित सदस्यसम्म एमालेले नै जितेको छ। 

गोकर्ण विष्ट
सचिव गोकर्ण विष्ट पनि आफूले मतदान गर्ने गरेको वडा जिताउन सफल पदाधिकारीमा पर्छन्। 

विष्ट मतदाता रहेको गुल्मीको इस्मा गाउँपालिका अध्यक्ष कांग्रेसले जिते पनि उनको वडा नम्बर ४ मा एमालेका राजु बस्नेत १०९६ मत ल्याएर वडाध्यक्षमा विजयी भए। 

टोपबहादुर रायमाझी 
एमालेका अर्का सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका हुन्। उनी सो नगरपालिकाको वडा ९ का स्थायी मतदाता हुन्। स्थानीय चुनावमा उक्त वडामा माओवादी उम्मेदवरालाई पराजित गर्दै एमालेका पदमबहादुर भुसाललाई जिताउन उनी सफल भए।

उनले मत दिएको वडामा एमालेका भुसालले ७८६ मत पाउँदा माओवादीका देवीबहादुर रायमाझीले ६६० मत मात्र पाए। 

लामो समय माओवादी पार्टीमा रहेका रायमाझी २०७७ सालमा नेकपा विभाजन गर्ने अदालतको आदेशपछि एमालेमै रहेका नेता हुन्।

उनी हाल भने भुटानी शरणार्थी काण्डमा कारागारमा छन् र एमालेबाट निलम्बित छन्।

छविलाल विश्वकर्मा 
एमाले सचिव छविलाल विश्वकर्मा पनि आफ्नो वडा जिताउने पदाधिकारीमा पर्छन्। 

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का स्थायी मतदाता हुन्- उनी। सो वडामा वडामा एमालेका रामचन्द्र क्षेत्री ४३३२ मत ल्याई विजयी भए। 

विश्वकर्मा पनि रुपन्देही क्षेत्र नम्बर १ बाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad