जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले मधेसको उदाउँदो राजनीतिक शक्तिलाई कमजोर बनाउन योजनाबद्ध ढंगले मधेसी दललाई विभाजन गराइएको आरोप लगाएका छन्।
सङ्घीय लोकतान्त्रिक मोर्चाले सोमबार विराटनगरमा आयोजना गरेको जनजागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसी दलहरूलाई कमजोर पार्ने रणनीति अन्ततः सफल भए पनि त्यसको दीर्घकालीन लाभ विभाजन गराउनेहरूले समेत नउठाएको टिप्पणी गरे।
अध्यक्ष यादवले सबै मधेसी दलबीच एकता आवश्यक रहेको भन्दै जनता तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए।
‘जुन दिन सबै मधेसी दल एक भएर अगाडि बढ्छौं, त्यो दिन सत्ताधारी वर्ग भाग्छ। त्यसबेला देशमा नक्कली नभई वास्तविक सङ्घीयता कायम हुनेछ’ उनले भने।
यादवले हालको सङ्घीयतालाई ‘नक्कली सङ्घीयता’को संज्ञा दिँदै मधेसी जनताको पहिचान र अधिकार सुनिश्चित गर्न आगामी दिनमा निरन्तर आन्दोलन जारी रहने बताए।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका संयोजक राजेन्द्र महत्तो, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृखेशचन्द्र लाललगायत नेताहरूले सम्बोधन गरेका थिए। उनीहरूले मधेसमा वास्तविक पहिचानसहितको सङ्घीयता स्थापनाका लागि संयुक्त आन्दोलन अपरिहार्य रहेको धारणा राखे।
93
Shares

प्रतिक्रिया