नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राजनीतिमा अझै सामान्तवाद जरा गाडेर बसेको बताएका छन्।
एमालेमा अध्यक्ष केपी शर्मा ओली र पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच टकराब परिरहेका बेला बाँस्कोटाले गरेको उक्त टिप्पणी त्यसैतर्फ लक्षित भएको अनुमान गर्न सकिन्छ।
संगठित सदस्यतासमेत खारेज गरेर एमालेको ढोका बन्द गराइदिएका ओलीले भण्डारीलाई भीम रावलकै हालत बनाइदिने भनेको कुरा यतिबेला चर्चामा छ।
यसैबीच भण्डारीलाई एमाले राजनीति गर्न दिनुपर्छ भन्ने मत राखिरहेका बाँस्कोटाले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘सामन्त त टुकी बालेर खोज्दा पनि नभेटिएलान् अब। तर राजनीतिमा सामन्तवाद जब्बर जरा गाडेर बसेको छ। अझ समाज र व्यक्तिमा त सामन्तवादले निर्धक्क शासन चलाएकै छ। ग्रामीण राजनीतिमा नारदवाद र सहरी राजनीतिमा पेटीबुर्जुवा पुच्छरवाद बलशाली भएपछि पुँजीवादको प्रगतिशील विकास पनि अवरुद्ध हुने नै भयो।’
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर एमालेको आसन्न विधान महाधिवेशनका प्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीमा आफूलाई चुनौती दिने विद्या भण्डारी मात्र भएको उल्लेख गर्दै उनीविरुद्ध आक्रोश पोखेका थिए।
त्यस क्रममा ओलीले भण्डारीले जबर्जस्ती गरेर आगामी महाधिवेशनमा अध्यक्ष पदमा उठे ‘भीम रावलकै हालत’ हुने चेतावनीसमेत दिएका थिए। यसरी आफ्नो नाम निकालेपछि रावलले समेत आफूले दसौँ महाधिवेशनमा ओलीलाई अध्यक्षमा टक्कर दिएकै कारण आफू पार्टीबाट निकालिएको कुरा पुष्टि भएको टिप्पणी गरेका छन्।
Shares

प्रतिक्रिया