राजनीति


अध्यक्षमा उठेकै कारण मैले पार्टीबाट बाहिरिनुपरेको तथ्य स्वयं केपीले स्वीकार गरेछन्: भीम रावल

अध्यक्षमा उठेकै कारण मैले पार्टीबाट बाहिरिनुपरेको तथ्य स्वयं केपीले स्वीकार गरेछन्: भीम रावल

भीम रावल, केपी ओली र विद्या भण्डारी।


नेपालखबर
भदौ १२, २०८२ बिहिबार १९:२१, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष हुन खोजे आफ्नोजस्तै हालत बनाइदिने धम्की दिएपछि भीम रावलले टिप्पणी गरेका छन्। 

एमाले अध्यक्ष ओलीले आसन्न पार्टीको विधान महाधिवेशनका प्रतिनिधिलाई बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर लामो प्रशिक्षण दिएका थिए। यस क्रममा ओलीले एमालेमा पूर्वराष्ट्रपति भण्डारी मात्र आफ्नो चुनौती रहेको उल्लेख गर्दै उनीविरुद्ध आक्रोश पोखेका थिए। कसैगरी भण्डारीले आगामी महाधिवेशनमा अध्यक्ष पदमा आफूसँग प्रतिस्पर्धा गरे हार्ने  निश्चित रहेको दाबी गर्दै ओलीले त्यसपछि उनको हालत पनि भीम रावलको जस्तै बनाइदिने चेतावनी दिएका थिए। 

यसै विषयमा रावलले बिहीबार वक्तव्य जारी गरी ओलीलाई टक्कर दिएकै कारण आफूलाई एमाले पार्टीबाट निकालिएको पुष्टि भएको उल्लेख गरेका हुन्। 

‘(बुधबार साँझको प्रशिक्षण) भेलामा आफूलाई पार्टीको अपरिहार्य अध्यक्षको रूपमा प्रस्तुत गर्दै विद्या भण्डारीलाई 'अनुभवहीन' र 'लालगेडी'जस्ता होच्याउने विशेषण प्रयोग गरी आलोचना गरिएछ। महाधिवेशनमा प्रतिस्पर्धा गरे पराजित हुने घोषणा गरिनुका साथै पार्टीमा अध्यक्ष हुने प्रयास गरिएमा 'भीम रावलको जस्तो हालत हुने धम्की समेत दिइएछ’, रावलले लेखेका छन्, ‘यसबाट केपी ओलीको असीमित सत्ता लिप्सा, निरङ्कुश र तानाशाही चरित्र पुनः छर्लङ्ग हुँदैन र? मैले जनताको बहुदलीय जनवादको मान्यताअनुरूप दसौँ महाधिवेशनमा विधि र प्रणालीअनुसार काम र सबै प्रतिनिधिहरूलाई चाहेको पदमा प्रतिस्पर्धा गर्न दिनुपर्छ भन्ने मान्यतामा दृढतापूर्वक उभिएर अध्यक्ष पदमा उम्मेदवारी दिएको थिएँ। त्यसरी उम्मेदवारी दिएको तथा धारणा र विचार उक्त मान्यताअनुरूप राखेको कारणले नै मलाई कथित स्पष्टीकरण सोधिएको र मैले पार्टीबाट बाहिरिनु परेको तथ्य स्वयं केपीबाट नै बालुवाटारमा स्वीकार गरिएको छ। यसबाट मैले सिद्धान्त, विधि र प्रणालीको पक्षमा उभिएर पार्टी सुमार्गमा जानुपर्छ भन्दा त्यसलाई व्यक्तिगत स्वार्थ र झगडाको रूपमा लिनेहरूले केपी ओलीका उक्त भनाइबाट पार्टी र देशको दीर्घकालीन हितमा केन्द्रित मेरा धारणा, विचार र अडान केपीको असीमित सत्ता लिप्सा र अहमको कारण सह्य र स्वीकार्य नभएको सत्य, तथ्य अब त सबैलाई प्रस्ट भयो होला नि? सत्ता स्वार्थको लागि जस्तोसुकै मित्र र पक्षधर माथि पनि छुरी चलाउन केपी ओली उद्यत हुनसक्ने यथार्थ छर्लङ्ग भयो होला नि?’

२०७८ मंसिरमा भएको एमालेको दसौँ महाधिवेशनमा रावल अध्यक्ष पदमा उठेका थिए। तर उनी ओलीसँग हारेका थिए। विजयी ओलीले १८३७ मत ल्याउँदा रावलका पक्षमा २२३ मत मात्र परेका थिए। ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन जति मनाउने प्रयास गरिए पनि रावल नमानेर अध्यक्षमा उठेका थिए।

त्यसो त अध्यक्षमा हारे पनि रावल केन्द्रीय सदस्य पदमा विजयी भएका थिए। तर उनले उक्त पद अस्वीकार गर्दै शपथ खान मानेनन्। 

त्यसयता रावल ओलीको आँखाको तारो बनेका थिए। मूलत: अध्यक्ष ओलीकै ज्यादा आलोचना गरेका कारण रावल २०८१ पुस १० गते साधारण सदस्यसमेत नरहने गरी एमालेबाट निकालिएका थिए।

यसपछि उनले ‘मातृभूमि जागरण अभियाान’ घोषणा गरे। तर हाल यो सक्रिय देखिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad