जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले किसानलाई करदाता र मतदाता मात्रै ठानेको बताएका छन्।
बिहीबार उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष त्रिपाठीले यस्तो बताएका हुन्।
उनले अहिलेसम्म किसान सरकारको प्राथमिकतामै नपरेको बताए। सबैले किसानलाई मत दिने र कर तिर्नेका रुपमा मात्रै बुझेको उनको दाबी छ।
उनले किसान विभाजित भएका कारण पनि मारमा पर्ने गरेको बताए। आफ्नो हक अधिकारका लागि एकजुट हुन पनि उनले किसानलाई आग्रह गरे।
उनले भने, ‘राज्यले किसानलाई अहिलेसम्म प्राथमिकतामा राखेन। किसानलाई के ठान्यो भने करदाता र मतदाता। यिनी कर दिन्छन् र मत दिन्छन्। यो भ्रमले किसानलाई अहिलेसम्म सबैले बुझे। अर्को एउटा किसानको समस्या के छ भने किसान हरेक आलीबाट नै विभाजित हुन्छन्। एकताको अभाव छ। जब हामी मार खान्छौँ अनि एक हुन्छौँ हामी एक भयौँ भने मार नै खाँदैनौँ। कुरो त्यहाँनिर छ। त्यसकारण यो विषयमा तपाईहरु अलिकति चिन्तन गर्नुहोला।’
उनले उखु किसानको माग पूरा गर्न सरकारले आलटाल गरिरहेको बताए। विशेष गरेर अर्थ मन्त्रालयबाट समस्या उत्पन्न भएको उनको भनाई छ।
उखु किसानले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध नगराएको भन्दै माइतीघरमा आन्दोलन गरिरहेका छन्। सरकारले उखु किसानलाई दिने अनुदानमा आधा कटौती गरेको छ।
Shares

प्रतिक्रिया